
|
|
सन्तोष गौतम, म्याग्दी असोज ५ । म्याग्दीको हिस्तान, राम्चे र भगवती गाविसका बासिन्दाले कालीगण्डकी नदीमा बाँसको फड्के निर्माण गरेर नदी वारपार गर्न थालेका छन् ।
भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरी स्थित झोलुङ्गे पुल गत जेठ १० गते पहिरोले पुरेपछि आवत जावतका लागि पुलको विकल्पमा स्थानीयबासीले श्रमदान गरेर फड्के बनाएका हुन् ।
हिस्तानको औला, रिम, राम्चेको काफलडाँडा, भगवतीको बैसरी र रिसीन चौतारीका दुई सय घरधुरीले पाँच दिनका दरले श्रमदान गरेर फड्ने निर्माण गरेपछि ६ घण्टाको बाटो ४५ मिनेटमा छोटीएको आदर्श मावि रिमका स्रोत व्यक्ति भरत पुनले जानकारी दिए ।
बैसरीको पुल पहिरोले पुरीएपछि औला, रिम, काफलडाँडा र राम्चेका बासिन्दाहरुलाई सदरमुकाम बेनी आउन जानका लागि पाँच घण्टा घुमाउरो बाटो प्रयोग गर्नुपर्दा सास्ती भएको थियो । झोलुङ्गे पुल निर्माणमा ढिलाई भएपछि स्थानीयबासीले तत्कालका लागि आवत जावत र ढुवानीलाई सहज गराउन फड्के बनाएका हुन् ।
फड्के निर्माण गर्न ६ थान ग्याबिन जाली सहयोग गरेको जिविसले आर्थिक सहयोग पनि गर्ने आश्वासन दिएको स्रोत व्यक्ति पुनले बनाए । चार महिनासम्म महभिर हुदै घुमाउरो बाटोको यात्रा गरेका स्थानीयबासीलाई जोखिमपूर्ण भएपनि फड्के मार्फत आवत जावत गर्न राहत मिलेको हिस्तान औलाका डिलबहादुर फगामीले बताए ।
उनका अनुसार पुल नहुँदा बिरामीलाई उपचार गर्न लैजान, दैनिक उपभोग्य सामाग्रीको ढुवानी, सरकारी सेवा सुबिधा लिन सदरमुकाम आउ जाउ गर्न तिन सय घरधुरीलाई सास्ती भएको थियो ।
राम्चे ९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैसरीमा दुई वटा झोलुङ्गे पुल पुरेको थियो । हिस्तान जानका लागि तत्कालै सर्वेक्षण गरेर नयाँ झोलुङ्गे पुल निर्माण गर्न पहल गरेपनि आर्थिक स्रोत नहुँदा ढिलाई भएको जिविसका सब ईञ्जिनियर बालकृष्ण पौडेलले बताए ।
तस्वीर- भरत पुन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

