
|
|
२६ भदौ,काठमाडौ । एमाओवादी नेता बाबुराम भट्टराईले पुर्खाले आर्जन गरेको मातृ भुमि नेपालको अखण्डता जोगिन कि नजोगिने भन्ने कुराको फैसला २४ घण्टा भित्र हुने भन्दै सनसनीपुर्ण विचार सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसकुकमा भट्टराई लेख्छन्- ‘सुगौली-सन्धीको यो २०० औं बर्ष हो! आजको २४ घण्टाले पुर्खाले आर्जित गरेको र हामीले २०० बर्षसम्म भोग्दै आएको मातृभूमि नेपालको अखण्डता युगयुगसम्म जोगाउन सक्छौं कि सक्दैनौं भन्ने कुराको शायद फैसला गर्नेछ!’
तराईमा जारी मधेशी र थारुहरुको आन्दोलन चर्किदै गर्दा उनको यस्तो प्रतिक्रिया आएको हो । सरकारले वार्ताका लागि भन्दै जारी संविधानसभाको प्रक्रिया दुइ दिनलाई रोकेर वार्ताको प्रयास गरेका बेला स्यवम बाबुराम भट्टराईलेे पनि सहमतिका लागि प्रयास तीब्र पारेका छन्।
भट्टराई अगाडी लेख्छन् – ‘नेपाल’ भनेको हिमाल, पहाड, तराईमा वसोवास गर्ने विविध वर्ग/जाति/लिंग/भाषा/धर्म/संस्कृति/पेशाका जनताको अनेकता वीचको एकताको सामुहिक अभिव्यक्ति/पहिचान हो।एउटा जाति/क्षेत्र/समुदायले मात्र आफुलाई ‘नेपाली’ र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम राख्न सक्दैन!
नेपाल मात्र अखण्ड हो र त्यसभित्रका अरु सबै इलाका संघीय ढाँचामा पुनर्संरचना हुनसक्छन् भन्ने विर्सेर वा वुझ पचाएर पुरानो राज्यले बनाएको आफ्नो चुनावी क्षेत्र/ जिल्ला/अंचल/विकास क्षेत्रलाई ‘अखण्ड’ राख्ने हठले पुर्खाले छोडेर गएको नेपालको अखण्डता धरापमा पर्दैछ!
सार्वभौम संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान छिटो जारी गर्नुपर्छ र कुनै पनि वहानामा यो संसलाई असफल पार्ने दुष्प्रयत्नलाई परास्त गर्नैपर्छ ! यसमा कुनै विवाद छैन र हुनुहुँदैन!
तर देशको अखण्डतामाथि आउन सक्ने अनिष्ठ रोक्न र धेरै भन्दा धेरै राजनीतिक शक्ति र समुदायको स्वामित्व/अपनत्व रहेको संविधान निर्माण गर्न २/४ दिन अघिपछि हुन्छ भने त्यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाइनुहुन्न!
खाशगरी पूर्वदेखि पश्चिमसम्मको तराई/ मधेसमा झण्डै एक महिनादेखि असन्तुष्टि र विग्रहको ज्वालामुखी पुत्पुताइरहेको र दिनहुँ मान्छेको ज्यान गुमेर स्थिति विष्फोटक बन्दै गएको अवस्थामा त्यसलाई संवोधन नगरी अघि बढ्ने हठ कसैले गर्नुहुँदैन!राजनीतिक समस्यालाई फौजी दमनले हल गरेको इतिहास कतै छैन!
त्यसैले आजै वार्तामा बस्ने वातावरण बनाऊँ! संवाद बाटै समाधान खोजौं! देशको अखण्डतालाई धरापमा नपारौं! २/४ दिन ढिलोछिटोले कुनै आकाश खस्दैन!!’
संविधान र संघियताका विषयमा मुख्य दलहरुको सहमतिमा विरोध जनाउँदै केही समय यता मधेशमा हिंसात्मक आन्दोलन चलेको छ। आज सम्म ठुलो संख्यामा सुरक्षाकर्मी र आन्दोलनकारीको ज्यान गइसकेको छ। यसबीच सरकारले आन्दोलनमा रहेका पक्षलाइ कयौंपटक वार्ताका लागि आह्वान गरिसकेको छ भने शुक्रबार मात्रै २ दिनको लागि भन्दै संविधान निर्माणको प्रक्रिया रोकेको छ। तर आन्दोलनरत पक्षबाट भने वार्ताका लागि सकारात्मक जवाफ आइसकेको छैन्।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

