Home » » कहाँ छन् राजु परियार ? दिनको डेढ लाख कमाउने गायक किन भए बेपत्ता ?

कहाँ छन् राजु परियार ? दिनको डेढ लाख कमाउने गायक किन भए बेपत्ता ?

भाद्र २४, २०७२- एक समय थियो, लोक दोहोरी भन्नासाथ राजु परियारको नाम आउँथ्यो । लोक दोहोरी रेष्टुरेन्ट हुन्, राजमार्गमा कुद्ने गाडी हुन् वा एफएम रेडियो, राजु परियारको स्वरको जादु चलेको थियो ।

‘गर्नु गर्‍यौ बलराम’ जस्ता केही गीतले उनलाई सफलताको शिखरमा पुर्‍याएका थिए । एकै दिनमा १३ वटा गीतसम्म उनले रेकर्ड गरे । ‘एकै दिनमा गीत गाएर डेढ लाखसम्म कमाएको छु,’ उनी सम्झिन्छन् । तर, अहिले खोई राजु परियार ?

हालैको एक दिन लमजुङ सदरमुकाममा आयोजित कार्यक्रममा राजु परियारलाई देखिए । उनका प्रशंसकले समेत उनलाई हो कि होइन ठम्याउन सकेनन् । ५ वर्ष भयो राजुको नयाँ गीत र समाचार नसुनिएको । निकै दुब्लो भएका राजुको अनुहार पनि कालो पोतोले ढाकेकाले धेरैले चिनेनन् ।

लमजुङ जिविसले गरेको सम्मान कार्यक्रममा उनको नाम लिएर बोलाइएपछि बल्ल मानिसहरुले ठम्याए । जिविसको सम्मान थापेपछि उनले कान्तिपुरसँग आफ्नो जीवनबारे कुराकानी गरे । कुराकानीमा केही व्यक्तिगत र पारिवारिक समस्याले गर्दा आफू पछि परेको बताए पनि उनी त्यसमा खुलेर बोल्न भने चाहेनन् । उनले आफ्नो अवस्था यसरी सुनाए :

‘मैले गाई त पालें तर दुख खान जानिनँ । म सफलताको शिखरमा पुगेको थिएँ । दिनमा १०–१२ वटा गीत रेकर्ड गराउँथे । दोहोरी गीत भन्नासाथ मेरो नाम आउँथ्यो । एकै दिनमा डेढ लाख रुपैयाँसम्म मैले कमाएँ । तर, जोगाउन सकिनँ । अहिले सुकुम्बासी जस्तो भएको छु । मेरो कुनै ब्यांक ब्यालेन्स छैन, एक पैसाको जग्गा पनि छैन ।

मैले आफूलाई ‘मेन्टेन’ गर्न सकिनँ । पारिवारिक समस्यामा फँसें । पिटाई खाने, पुलिस कस्टडीमा पर्नेसम्म स्थिति आयो । अनि म विदेश गएँ । यता बस्न सक्ने अवस्था थिएन ।

अहिले फर्केर आएको छु । अब मैले चेतेको छु । आफ्नो सफलतालाई पनि चिनेको छु । अब म पहिले जस्तो गर्दिनँ । पहिला कतिजनालाई दिनभरी स्टुडियोमा कुराएर आफू अन्तै पुग्थें । कतिका गीत भनेको समयमा गाइदिइनँ । मान्छेहरुलाई मलाई गीत गवाउन कति समय कुर्थे । मैले मोबाइल नम्बर र डेरा पनि निकै फेरें, त्यसले गर्दा पनि कतिले दुख पाए ।

अहिले म ती दिन सम्झिइरहेको छु । यो ५ वर्षको ग्यापले गर्दा मेरो सम्पर्क टुटेको छ । मेरो ठाउँमा अरु नै गायकहरु आएका छन् । मेरो पहिलेको व्यवहारले गर्दा पनि कतिजनालाई मसँग काम गर्न असजिलो होला । तर, म सुध्रिएको छु । म पहिलेजस्तो छैन ।

कमाएको कुरा जोगाउन र लगानी गर्न सकिएन भने सिद्धिन समय लाग्दैन रैछ । मैले जोगाउन जानिनँ ।
यो ५ बर्ष मैले पारिवारिक ‘टेन्सन’ का कारण गुमनाम बस्नुपर्‍यो । अहिले त्यो समाप्त भएको छ । अब म नयाँ जीवन लिएर आएको छु । हिजोको राजु परियारलाई दिएको ताली मलाई फेरि दिनुहोला । म बाँचुञ्जेल गीत गाइरहने छु ।

यसपालि पनि मैले तीजका केही गीत गाएको छु । दसैंपछि मेरो नयाँ एल्बम आउने छ ।
लमजुङको गाउँसहर चिसापानीको स्कुल पढ्दैदेखि म गीत गाउँथें । २०५६ देखि गीत रेकर्ड हुन थाले । अहिलेसम्म ११ हजारजति गीत गाए हुँला ।

नेपालमा सबैभन्दा बढी गीत गाउने गायक मै हुँ । अहिले हेर्दा लाग्छ, पहिले धेरै गीत गाएछु । अब राम्रा गीत बढी गाउनेछु । कलाकारको सबैचिज भनेकै हो । अब म स्रोता गुमाउन चाहन्नँ ।
Source: Ekantipur

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}