
|
|
योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । नेपालमा संविधान जारी हुँदै गर्दा प्रवासमा भने यसप्रति असन्तुष्टी जनाउदै च्यात्ने र जलाउने कार्यक्रम सम्पन्न भएका छन् । पोर्तुगलमा नेपाल आदिवासी जनजाति महासंघ र नेपाली संघीय समाजवादी फोरमले यथास्थितिवादी भएको टिप्पणी गर्दै संविधान च्यातेका हुन् ।
अाइतबार राजधानी लिस्बनको केन्द्र रोस्सियोमा आयोजना गरिएको यथास्थितिवादी संविधान च्यात्ने कार्यक्रममा सहभागीहरुले आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित र पिछडिएका वर्गको अर्थपूर्ण सहभागिता, छलफल र परामर्शबिना तीन दलका नेताको खल्तीबाट तयार पारिएको प्रस्ताव जबरजस्त संविधानको रुपमा लागू गरिएकोमा असन्तुष्टी प्रकट गरे ।
आदिवासी जनजाति, मधेसी र दलितहरुसँग पटक पटक गरिएका सहमति र सम्झौता, अन्तरराष्ट्रिय संविधान निर्माणको सिद्धान्त र पहिलो संविधानसभाद्वारा निर्णय भैसकेका जनपक्षीय विधेयकहरुलाईसमेत बेवास्ता गर्दै ल्याइएकोले यो संविधान यथास्थितिवादी रहेको उनीहरुको दाबी छ ।
‘समानुपातिक निर्वाचन प्रणाली हटाइएको छ, अपूरो संघीयता घोषणा गरी विवाद सिर्जना गरिएको छ ।’ महासंघका अध्यक्ष कान्छा शेर्पाले यस्तो कार्यक्रमको पुष्टी गर्दै भने, ‘तराइ र थरुहटमा आगो दन्किएको छ तर यी सत्ताका लागि गधालाई गाई भन्नेहरुले मान्छे मार्दै र जननिर्वाचित सभासदहरुलाई भेडा बनाएर ल्याएको संविधान कत्तिञ्जेल टिक्छ ?’
महासंघका संरक्षक एवम् किराँत समाज पोर्तुगलका अध्यक्ष गणेश याक्खाले वार्ताको नाटक गरेर हामी सबैको अपमान गरेको बताए । याक्खाले थपे, ‘यी टाउकेहरुले देशलाई बन्दी बनाएर आफ्नो सत्ता लम्ब्याउन चाहन्छन् । उनीहरु यति संकुचित छन् कि शोषित पीडित तथा उत्पीडित वर्ग समुदायलाई अधिकार दिंदा उनीहरुको सता गुम्ने डर छ । तर आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित, शोषित पीडित र पिछडिएका वर्गको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, भाषिक र क्षेत्रीय अधिकारबिना देश सधै गरिब र कङ्गाल रहने निश्चित छ। ‘
२० सेप्टेम्बरको दिन नेपाली ईतिहासमै कालो दिन हो । पचासौ नागरिकलाई मारेर ल्याइएको तथाकथित संविधान कुनै हालतमा स्वीकार्य छैन । उनीहरुले अङ्ग्रेजीमा लेखिएको जानकारीमूलक दर्जनौ कालो प्ले कार्ड समाएका थिए । महासंघका महासचिव योगेन्द्रमिलन छन्त्यालले कार्यक्रमको औचित्यताबारे प्रष्ट्याएका थिए साथै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

