
|
|
'डोभलले तीन घन्टामा नाकाबन्दी खुल्छ भनेका थिए'
काठमाडौं: एक सातादेखि नेपालमा लगाइएको अघोषित नाकाबन्दी खोल्न उत्तरी छिमेकी चीनले भारतलाई दबाब दिएको छ।
चीनले संयुक्त राष्ट्रसंघको महासभामा भारतले नेपालमाथि लगाएको नाकाबन्दीप्रति असन्तुष्टि व्यक्त गरेको हो भने चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साइडलाइन भेटवार्तामा पनि नाकाबन्दीबारे छलफल गर्ने जानकारी चिनियाँ राजदूत ऊ चुन्ताईले दिए। चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदी दुवै राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा छन्।
दाहाल निवास लाजिम्पाटमा सोमबार बिहान निम्त्याइएका चिनियाँ राजदूत ऊले भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका विषयमा चीनले संयुक्त राष्ट्रसंघमा कुरा उठाएको र आफ्ना राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीसँगको साइडलाइन बैठकमा यसबारे छलफल गर्ने जानकारी प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गराएका हुन्।
'नेपालमाथि भारतले लगाएको आर्थिक नाकाबन्दीबारे हाम्रातर्फबाट संयुक्त राष्ट्रसंघमा विषय उठाइएको छ । राष्ट्रपति सीले पनि भारतीय प्रधानमन्त्रीसँग साइडलाइन वार्तामा त्यसबारे छलफल गर्नुहुन्छ', राजदूत ऊले आफूसँग व्यक्त गरेको भनाइ उद्धृत गर्दै दाहालले आफ्ना सहयोगी नेतासँग पार्टी केन्द्रीय कार्यालयमा भने।
तीन महिनाअघि भएको बेइजिङ भ्रमणका क्रममा पनि चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीको नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक समझदारी विकास गरेर अगाडि बढ्नेबारे छलफल भएको थियो। दाहालका एक सहयोगी नेताका अनुसार भारतले लगाएको आर्थिक नाकाबन्दी खोल्न उनले कूटनीतिक पहललाई तीव्रता दिएका छन्।
चीन, भारत र संयुक्त राष्ट्रसंघमा पनि नेपालमाथि भारतले लगाएको नाकाबन्दी अन्त्य गराउन अध्यक्ष दाहालले कूटनीतिक पहल गरिरहेको उनका स्वकीय सचिव चूडामणि खड्काले बताए। 'संविधान निर्माणपछि आएको जटिलता र भारतले लगाएको अघोषित नाकाबन्दीले दैनिक जीवनमा पारेको प्रभावबारे अध्यक्षले चिनियाँ राजदूतसँग छलफल गर्नुभएको हो', खड्काले अन्नपूर्णसँग भने। दाहालले तातोपानी र रसुवागढी नाकालाई छिटो सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि राजदूत ऊसँग छलफल गरेका छन्।
स्रोतका अनुसार चीनले छिटोभन्दा छिटो तातोपानी र रसुवागढी नाका सञ्चालन गर्ने र भारतीय आर्थिक नाकाबन्दीले पारेको प्रभाव कम गर्न आफ्नातर्फबाट आपूर्ति बढाउने आश्वासन नेताहरूलाई दिएको छ। संविधानसभाबाट ९० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी पारित भएको संविधानलाई चीनले स्वागत गरेकोमा दाहालले राजदूत ऊमार्फत चीन सरकारलाई धन्यवाद दिएको खड्काले बताए।
भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले तीन घन्टाभित्र आर्थिक नाकाबन्दी खुल्ने जानकारी दिए पनि अहिलेसम्म नखुलेकोमा दाहालले चिन्ता व्यक्त गरेका छन् । ‘भारतीय प्रधानमन्त्रीका राइट ह्यान्डसँग पनि कुराकानी भएको छ। मैले कुरा गर्दा सायद मोदी पनि त्यहीं हुनुहुन्थ्यो। उहाँले मलाई तीन घन्टाभित्र नाकाबन्दी खुल्छ भन्नुभएको थियो तर धेरै घन्टा भइसक्यो अझै खुलेको छैन', दाहालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा भनेका थिए।
स्रोतका अनुसार दाहालले डोभलसँग आइतबार बिहान कुराकानी गरेका हुन्। बैठकमा दाहालले नाकाबन्दी खुलाउन भारतसँग कूटनीतिक पहल भइरहेको उल्लेख गर्दै उत्ताउलो व्यवहार नदेखाउन नेतालाई सचेत गराएको एक मधेसी नेताले बताए।
'आर्थिक नाकाबन्दीसम्म आउँदा यो भारतीय हस्तक्षेप नै हो। हाम्राबारे कतिपय भ्रमपूर्ण कुरा पनि भारत सरकारसमक्ष पुर्याइएका छन्। त्यसलाई हामीले चिर्न सक्नुपर्छ', ती नेताले दाहालको भनाइ उद्धृत गर्दै भने, 'घरको झगडालाई घरभित्रै मिलाउन संविधान संशोधनको प्रक्रिया अगाडि बढाइँदैछ।'
मधेसकेन्द्रित दलका नेतासँग वार्ता गर्न तीन दलका तर्फबाट तीन सदस्यीय टोली बनाइएको जानकारी पनि दाहालले बैठकमा गराएका थिए। एमाओवादीले आफ्ना जनवर्गीय संगठनमार्फत भारतले लगाएको आर्थिक नाकाबन्दीको विरोधमा सडकमा प्रदर्शन गर्ने कार्यक्रम बनाएको छ भने पार्टीका तर्फबाट संविधानसभाबाट संविधान घोषणापछि उत्पन्न परिस्थितिबारे असोज १७ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने कार्यक्रम बनाएको छ।
नेकपा—माओवादीले पनि बुधबार काठमाडौंमा भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीको विरोधमा प्रदर्शन गर्ने योजना बनाएको छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

