
|
|
बागलुङ—विद्यामन्दिर पुस्तकालयमा विद्युतीय पुस्तकालय सञ्चालनको लागि बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले आर्थिक सहयोग प्रदान गर्नुभएको छ । बिहीवार पुस्तकालयमा आयोजित एक कार्यक्रममा सुवेदीले नगद रु. ५ हजार १ सय २० रुपैयाँ पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीलाई प्रदान गर्नुभयो ।
पुस्तकालयको आधुनिकीकरणको लागि विद्युतीय पुस्तकालय सञ्चालन गर्ने अभियानमा सुवेदी पहिलो सहयोगदाता बन्नुभएको छ । सहयोग रकम हस्तान्तरण गर्दै सहायक प्रजिअ सुवेदीले पुस्तकालयको विकासको लागि आफूले सहयोग गरेको बताउनुभयो ।
उहाँले विकसित समयको आवश्यकता र पाठकको रुची अनुरुप पुस्तकालयलाई स्तरोन्नति गर्न आवश्यक रहेको धारणा राख्नुभयो । विद्युतीय पुस्तकालय सञ्चालनको लागि सबै क्षेत्रले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
पुस्तकालयले विद्युतीय पुस्तकालय सञ्चालन र कोष अभिवृद्धिको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको पुस्तकालयका अध्यक्ष राजभण्डारीले बताउनुभयो । स्थानीय निकाय, संघसंस्थाहरुसँग सहकार्य र समन्वय गरेर विद्युतीय पुस्तकालय सञ्चालनको कार्यलाई अघि बढाइने उहाँको भनाइ छ ।
सहयोग हस्तान्तरण कार्यक्रम अध्यक्ष राजभण्डारीको अध्यक्षता र सचिव राम थापा ‘अविरल’ को सञ्चालनमा सम्पन्न भएको थियो । २००३ सालमा स्थापित नेपालकै पुरानो सामुदायिक पुस्तकालयले आधुनिकतासँगै पाठकको माग बमोजिम विद्युतीय पुस्तकालय सञ्चालन गर्ने उद्देश्य लिएको छ ।
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

