
|
|
तपाईँ दारु खाने थारु कि, थारु खाने थारु? एकजना गैह्रथारु साथीले मलाई व्यंग्य गर्दै सोधे। लगत्तै ती मित्रले थरुहट आन्दोलन जायज रहेको र थरुहट आन्दोलनमा आफ्नो समर्थन रहेको कुरा बताउनुभयो। थरुहट आन्दोलनको अगुवाई गरेकोमा मलाई धन्यवाद पनि दिनुभयो। थारुहरु अन्तैबाट नआएको र बसाँई सरेर अन्तै पनि नभागेको बरु अन्य समुदाय तराईमा बसाँई सरेर थारुहरुलाई अल्पमतमा पारेर थारुहरु माथि शासन गरेकाले अहिलेको समस्या आएको बताउदै थरुहट भूभागलाई मिलाएर प्रदेश बनाईनु पर्नेमा समर्थन जनाउनुभयो।
थारुको आन्दोलनलाई भारतीय कदमले कमजोर बनाएको आफ्नो विश्लेषण सुनाउदै ती मित्रले भन्नुभयो। सामन्ती शासकहरुले थारुको मुद्दा ओझेलमा पार्न राष्ट्रियताको नारा दिई आ–आफ्नो पार्टीको कार्यकर्तालाई भारतीय नाकाबन्दी बिरुद्ध उतारेर आन्दोलनको ध्यान अन्तै मोड्ने प्रयास गरेको छन् त्यसप्रति सजग रहनुहोला। आफ्नो व्यंग्यपूर्ण प्रश्नलाई पुनः जोड्दै ती मित्रले भन्नु भयो। थारुहरु अघि बढ्ने हो भने पहिला आफै सुधि्रनुको विकल्प छैन।
थारु दुई कारणले पछि परेका हुन्। दारु खाने थारु र थारु खाने थारुले नै थारु बिगारेका हुन्। त्यसलाई पुष्टी गर्न उहाँले केहि स्थानीय थारु अगुवाहरुको उदाहरण दिदै भन्नुभयो। दारु खाने र थारु खाने कमजोरी माथि टेक्दै अरुले थारु माथि शासन गरेका मात्र हुन। थारु समाजलाई अगाडि बढाउन सबभन्दा पहिला दारु खाने थारु र थारु खाने थारुलाई सुधार्न सुझाब दिनुभयो। ती मित्रको कुराले गम्भीर हुँदै आज यो आलेख तयार पार्दैछु।
थारुहरुलाई जन्मे देखि मृत्युुुसम्मका हरेक सामाजिक सँस्कारमा मोद अर्थात दारु चाहिन्छ। मोद थारु सँस्कृतिको एउटा महत्वपूर्ण साधन हो। त्यसैले थारुले दारु खाने कुरालाई नौलो मानिदैन। साँस्कृतिक रीतिरिवाजलाई जोगाइ राख्न दारु प्रयोग गर्ने कुरालाई अन्यथा लिन सकिदैन। तर जब दारुले विकृतिको रुप लिन खोज्छ, दारुलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता पर्न जान्छ। जहाँ थारु त्यहा दारु हुँदासम्म ठिकै हो तर जहाँ दारु त्यहाँ थारु हुन खोज्यो भने त्यसले बर्बादीलाई निम्त्याउछ। दिनहुँ रक्सी खानै पर्ने, अधिक खानु पर्ने, घरको अन्नपात बेचेर रक्सी खानु पर्ने आदतले धेरै थारुको बिजोग भएको हामी आफैंले देखेका छौ। जग्गा जमिन बेचेर बिहेभोजमा रक्सीको खोलो बगाएको पनि हामीले देख्दै आएका छौ। हिजोको जमिनदार आज सुकुम्बासी बनेको हाम्रै पुस्ताले देखेका छौ।
दारु खाने थारुको खराब बानी माथि टेक्दै डोको बोकेर तराई झरेकाहरुले थारुको जग्गा दारुमा साट्दै तिनै थारुलाई हली, कमैया बनाएको कुरा किम्बदन्ती नभई २–३ पुस्ता अगाडिको वास्तविकता हो। त्यसक्रममा कैयौ थारुका बिगाहा बोतलसँग साटिए, कैयौ थारुका मिटर (जग्गा) लिटर (रक्सी) सँग साटिए। लिटरसँग मिटर साटेकैले आज हामी आफ्नै भुगोलमा अल्पमतमा परेकाछौ। अन्य समुदाय प्रति औला ठड्याउदा हामीले ३ वटा औला आफै तिर फर्किन्छ भन्ने हेक्का राख्ने कि नराख्ने? पहिला यो क्रम केहि बढी अहिले केहि कम भएको होला।
पहिला अर्कै तरिकाले लिटर र मिटर साँटिएका थिए होला अहिले फरक तरीकाले साटिन्छन होला। अन्ततः पहिले पनि अहिले पनि हामी हाम्रो भूभाग गुमाउदै छौ, हामी आफ्नै भूगोलमा झनझन अल्पमतमा पर्दैछौ। अहिले पनि हामी जग्गा प्लटि∙, राम्रो मुल्य पाएको बाहनामा जग्गा बेच्दै आफ्नो खुट्टामा आफैले बञ्चरो हान्न उद्यत छौ। हिजो हाम्रो पूर्खाले गल्ती गरे सजाय हामी भोग्दै छौ। तर अहिले हामी आफ्नो गल्तीले आफै सजाय भोग्दा पनि किन चेतिरहेका छैनौ? प्रश्न गम्भीर छ।
अब कुरा गरौ थारु खाने थारुको बारेमा। हाम्रो समाजमा थारु खाने थारु धेरै छन्। तिनीहरुले फरक किसिमले थारु खाई रहेका हुन्छन्। थारु खाने थारु हिजो पनि थियो आज पनि छन्। हिजो कतिपय टाठाबाठा थारुहरुले थारुकै जग्गा हड्पेर थारुलाई नै सुकुम्बासी बनाएका थिए र ती सुकुम्बासीहरुलाई नोकर बनाएर आफ्नो घर, खेतमा कजाएका थिए। ती टाठाबाठा थारुहरुलाई हिजो राणा, राजा र पञ्चहरुले थारुकै बिरुद्ध प्रयोग गरे। थारुको जग्गा विर्ता र बक्सिस दिन सघाउने तिनै टाँठाबाँठा थारु अर्थात थारु खाने थारुहरु थिए। आज पनि थारु खाने थारुहरु गैह्रथारुको गुलाम बनेर थारु खाँदैछन्।
कोहि पार्टीको नेता बनेर कोहि कार्यकर्ता बनेर कोहि पदको लोभी बनेर। थारु खाने थारुहरु विभिन्न राजनीतिक दलमा आबद्ध भई थारुको हक, हित र अधिकार विपरीत आफ्नो व्यक्तिगत लाभको लागि सामन्ती नेताहरुको गुलाम बन्दैछन्। कुनै आन्दोलन उठन नसकेको बेला दासताको बिरुद्ध र समानताको लागि स्वतःस्फूर्त उठेको थरुहट आन्दोलनको बिरोध गर्दै आफ्नो मालिक (नेता) को ईशारामा बिषवमन गर्न उद्यत रहदै आएकाछन्। विभिन्न तर्क र बहानामा ती थारु खाने थारुहरुले थरुहट आन्दोलनको विपक्षमा मिडियाबाजी गर्दै आईरहेकाछन्। बैजनाथ चौधरी र शान्ता चौधरी मार्कालाई यस क्याटगोरीमा राख्न सकिन्छ।
मैले यसो भन्दै गर्दा थारुहरु कुनै राजनीतिक दलमा आबद्ध हुनुहुदैन भन्ने पनि होइन। बरु धेरै थारुहरु राजनीतिमा आबद्ध भई शासन–सत्तामा पहुँच राख्नु पर्दछ। त्यसको लागि राजनीतिक दलहरुमा आबद्ध भई आफ्नो समुदायको हितको निमित्त, समानता र सामाजिक न्यायप्रति कटिबद्ध रहनुपर्दछ। तर बिडम्बना सोझै वा घुमाईफिराई बैजनाथ, शान्ता मार्काहरुले थरुहट आन्दोलन कमजोर बनाउने योजनाका सारथी बन्दै आईरहेका छन्। औलामा गन्न सकिने ती केहि थारुहरुको भनाईलाई उधृत गरी सामान्ती पृष्ठपोषण मिडियाहरुले सम्पूर्ण थारुहरुको भनाई जस्तै प्रस्तुत गर्नेगरेको तथ्य प्रति हामी चनाखो हुनै पर्छ। अर्का किसिमका थारु खाने थारुहरु छन, जो आन्दोलनमा सम्पूर्ण थारु जनतासँगै छन्। तर भित्रभित्रै आन्दोलन कमजोर बनाउने काममा सक्रिय छन्। ती थारु खाने थारुहरु थरुहट आन्दोलनलाई आफू निकटका पार्टीको स्वार्थसँग मिसाउने प्रयत्न गर्दै आईरहेका छन्।
आन्दोलन परिचालन समितिको बैठकमा आउँदा ती मार्काले आफ्नो पार्टीको शीर्ष नेताको धारणा अनुसार प्रस्तुत हुने गरेको प्रष्ट थाहा पाईन्छ। केहि थारु खाने आन्दोलनकारी थारुहरु यस्ता छन, जो भविष्यमा संसद वा अन्य पदको लागि संघर्ष समिति भित्र हुने छलफललाई प्रमुख दलका शीर्ष नेताहरुलाई ब्रिफ गर्ने गर्छन्। अर्का थरी थारु खाने थारु यस्ता छन, जो आफ्ना व्यक्तिगत लाभको लागि समयमा बैठक नबोलाई हप्तौ सम्म बैठक नबसाई योजनाबद्ध रुपमा थरुहट आन्दोलन तुहाउन लागि परेका छन्। यस्ता थारु खाने धमिरा प्रवृतिका थारुहरुलाई पहिचान गरी थारु युवा–विद्यार्थीहरुले शुद्धिकरण अभियान नचालाए सम्म थरुहट आन्दोलनको माध्यमबाट उपलब्धी हासिल गर्ने कुरा दिनानुदिन कठिन बन्दै गईरहेको छ।
(लेखक थारु विधार्थी समाजका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा थरुहट/थारुवान संयुक्त आन्दोलन परिचालन समितिका सदस्य हुन।)
थारुवानडटकमबाट

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

