
|
|
प्रधानमन्त्री ओली–नेमकिपा नेता बिजुक्छे भेटवार्ता
भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बुधबार दिउँसो भेटवार्ता भएको छ ।
बालकोटस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा भारतले गरेको नाकाबन्दी हटाउन कूटनीतिक पहल थाल्नुपर्ने र भारतबाहेक पनि अन्य विकल्प खोज्नु पर्ने बारेमा छलफल भएको छ ।
भेटवार्तामा सहभागी नेमकिपाका सचिव सुनिल प्रजापतिले भारतको नाकाबन्दी खोल्न पहल गर्नुपर्ने, पेट्रोलियम पदार्थको आयातमा भारतसँग मात्रै निर्भर नभई चीनलगायत अन्य देशसँग पनि विकल्प खोज्नु पर्नेबारेमा छलफल भएको जानकारी दिए ।
'सरकार चीनसँगको नाका खोल्न र विकल्प खोज्न अगाडि बढ्नुपर्ने बारेमा छलफल भयो', प्रजापतिले भने, 'त्यसमा प्रधानमन्त्री ओली सकारात्मक हुनुभयो ।'
भेटका अवसरमा उनीहरुबीच दलहरुबीच राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ । सोही संयन्त्रको निर्णयानुसार अगाडि बढेमा सरकार स्थिर भइ जनताको भावनाअनुसार काम गर्न सकिनेबारे पनि छलफल भएको थियो ।
करिब ४५ मिनेट भएको भेटवार्तामा देशको शिक्षालाई परम्परागत शैलीभन्दा पनि अहिलेको आवश्यकताअनुसार परिमार्जन गरेर लैजाने र स्वास्थ्य तथा शिक्षामा जनताको पहुँच हुनुपर्नेमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री ओली तथा नेमकिपाका तर्फबाट अध्यक्ष बिजुक्छे, सचिव प्रजापति र विदेश विभाग प्रमुख एवम् सांसद प्रेम सुवाल सहभागी थिए । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

