
|
|
काठमाडौं, पुष ६ । मधेसी मोर्चाले उठाएका मागहरुमा नेपाल सरकारले भूमिका निर्वाह नगरेको भन्दै नाकाबन्दीमा उत्रिएको भारतले पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको निर्णयको स्वागत गरेको छ ।
मधेस समस्या समाधान गर्न संविधान संशोधन तथा सीमांकन संयन्त्र गठन गर्ने मन्त्रीपरिषदको निर्णयको भारतले स्वागत गरेको हो । भारतले नेपाल सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँदै समाधानका लागि यसले बलियो आधार तयार गरेको विश्वास व्यक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै मधेस आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले ओली नेतृत्वको सरकारको प्रस्तावको स्वागत गरेको हो।
विज्ञप्तीमा मन्त्रीपरिषदको निर्णय मधेस आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्न महत्वपूर्ण र सकारात्मक रहेको उल्लेख छ । साथै सबै राजनीतिक शक्तिहरुले आवश्यक परिपक्कता र लचकता प्रदर्शन गरेर वार्ताबाट जतिसक्दो चाँडो समाधान खोज्न समेत भारतको सुझाव छ ।
आइतबार राति बसेको मन्त्रिपरिषद्ले बैठकले राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने, संविधान जारी हुँदा कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नका लागि संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउने निर्णय गरेको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

