
|
|
उनको नाम अकेमी होण्डा । उनी होण्डाको पछाडि पोख्रेल थप्न रुचाउँछिन् । जन्मेको जापानको टोकियो ओशाकामा । तर ‘तपाईको घर कहाँ हो ?’ भनेर सोध्दा गोरखा खरिबोट भन्ने जवाफ आउँछ । जन्म कहिले भयो भन्दा उनी भन्छिन् ‘बि.सं २०२२ साल फागुन ७ गते’ ।
उनी जन्मिएको जापानमा सन् प्रचलनमा छ तर उनी आफ्नो जन्म भएको मिति बिक्रम संबतमै बताउँछिन् । होण्डा नेपाल बसेको पनि १३ वर्ष बितिसकेछ । त्यसैले अव उनलाई जापानभन्दा नेपाल नै प्यारो लाग्न थालेको छ । यहाँकै थुलो, धुँवा, जाम, लोडसेडिङ, पानीको अभाव यस्तै यस्तै समस्यासँग अभ्यस्त भइसकेकी छन् उनी ।
जिन्दगीमा विश्वका हरेक देशमा एक एक जना साथी बनाउनु उनको जिन्दगीको सबैभन्दा ठूलो सपना । त्यही सपनाको पात्र बन्न पुगे गोरखा खरिवोटका पर्शुराम पोख्रेल । होण्डाको जापानी साथी मार्फत पर्शुरामसँग चिनजान भयो । अहिले जस्तो इमेल इन्टरनेटको सुविधा नभएकाले पत्रकै भरमा सम्बन्ध गहिरिँदै गयो । मान्छे नै नदेखि फोटोकै भरमा शूरु भएको प्रेम सम्बन्ध विवाहमा परिणत भयो ।
‘पहिले जापानीहरु अमेरिकी, युरोपीयनसँग विवाह गर्नुलाई आफ्नो इज्जत ठान्थे तर नेपालीसँग त ………(हा हा हा हा) तर मलाई नेपाली मन परयो ।’
‘नेपाल किन आएको ?’ ‘मेरा घर नेपाल हो, उनी प्रष्ट्याउदै भन्छिन् मेरो माइती मात्रै हो जापान । त्यसैले श्रीमानसँगै नेपाल आए ।’ यहाँ आएर म एकदम खुशी छु, मन परेको छ मलाई मेरो देश ।’ उनी भन्छिन्, ‘मैले नेपालीसँग विवाह गरेकाले मेरो लागि नेपालको गेट खुल्यो ।’ घरमा उनको सासु ससुरा छैनन्, जेठाजु दाई र आमाजु दिदी छन् ।
उनको धर्म बुद्ध हो । तर हिन्दु धर्मलाई पूरै अंगाली सकेकी छन् । ‘सधै घर जान पाउँदैन, दशैको दिन टिका थाप्न घर पुग्छु । बुद्ध धर्म प्रति मनमा आस्था त कायमै छ । त्यसैले उनी पशुपतिनाथसँगै स्वयंभु पनि जान्छिन् । त्यसैले होला उनी भन्छिन्, ‘पशुपतिभन्दा स्वयम्भु जाँदा अलिबढी आनन्द आउँछ ।’
त्यसो त अन्य धर्म प्रति उनको हेयको दृष्टि छैन । ‘कसैले हिन्दु, बुद्धिष्ट, कसैले मुस्लिम वा क्रिष्चियन जे माने पनि भगवान त एउटै हुन् । उनको नजरमा हामी समान छौं ।’
उनका दोहिने हातमा ३ वटा रक्षा बन्धन बाधिएका छन् । यो किन बाध्नुभयो भन्दा उनी भन्छिन् ‘अस्ती जनैपुर्णीमामा बाँधेको’ तीन वटा कस्ले बाधिदियो त ? उनको जवाफ आयो ‘एउटा छोराको जनै फेर्न जाँदा पण्डितले, अरु दुइवटा भान्जाले लागाइदिनुभयो’ होन्डा भन्छिन् ।
नेपालमा त्यो पनि हिन्दु परिवारमा जन्मिएका कयौं परिवारले छाडिसके जनै लगाउन र रक्षा बन्धन बाध्न तर, उनी आफुले थाहापाए र बुझेसम्म अंगाल्छिन् हिन्दु सस्कारलाई । दुई छोरा र एक छोरीकी आमा होण्डा पोख्रेललाई बेलाबेलामा छोराछोरीले सोधेर सताउने गर्छन्, तपाई त हिन्दु होइन, बुद्धिष्ट हो, नेपाली पनि होइन । तर किन धेरै संस्कृतिको कुरा सुन्नु पर्छ हामीले ।’ उनी जवाफ दिन्छिन, ‘संस्कृतिसँग भिज्नुपर्छ ।’
तर यी धेरै कुरा उनले आफ्ना श्रीमानसँग सिक्न पाइनन् । किनकी ८ वर्ष अघि जापानमा सडक दुर्घटनामा परेर उनका श्रीमान (परसशुराम पोख्रेल) को निधन भयो । श्रीमान गुमाउँदा कहिले काँही जापान नै फर्कऔं जस्तो नलाग्ने पनि होइन । तर नेपालको माटोमा उनी भिजिसकेकी छन्, छोरा छोरी पनि उहाँकै रहनसहनसँग अभ्यस्त भइसकेका छन् । त्यसैले उनी भन्छिन, ‘म यतै नै बस्छु । श्रीमानको देशलाई आफ्नै देश ठानेर बसेकी छु ।’
त्यसो त उनको अहिले दोहोरो जिम्मेवारी छ । तीन छोरीमध्येकी जेठी होण्डाको माइत जापानमा बुवा आमा मात्र छन्, त्यसैले त्यो प्रतिको दायित्व पनि उनले पूरा गर्नुपर्छ । त्यसमाथि उनका श्रीमानले चालएको जापानी भाषा सिकाउने इन्स्टिच्यूटलाई पनि निरन्तरता दिनुपर्छ ।
कालिमाटिमा रहेको होराई फाउण्डेशनबाट ५ सयभन्दा बढी विद्यार्थीलाई उनले जापान पठाई सकेकी छिन् । जापानीजले नै चलाएकाले विद्यार्थीले उनको संस्थालाई बढी विश्वास गर्ने गरेका उनले सुनाइन ।
नेपाल कस्तो लाग्दैछ ? ‘नेपाल मान्छेको देश जस्तै लाग्छ ।’ उनको सिधा जवाफ । उनका अनुसार जापानीहरुभन्दा नेपाली बढी सहयोगी छन् । ‘बसको सिटमा बसेको बेला बुढाबुढी उभिएको देखे बसेकाले उठेर सिट छोडिदिन्छन् । तर जापानमा त्यस्तो छैन । त्यस्ता कुरा सिकाउनु पर्छ जापानमा ।’ उनले उदाहरण दिँदै भनिन् ।
‘यहाँका ठूला ठूला भवन अनि कंक्रिट देख्दा टाउको दुख्छ । तर, नेपालको प्राकृतिक सुन्दरता बढी छ । नेपालका गाउँहरु घुम्यो भने माइत गए जस्तै आनन्द आउँछ ।’ उनको अनुभव थियो ।
छोराछोरी जापानभन्दा बढी नेपाल रुचाउँछन् तर विजुली, पानी, फोहोरको समस्याले गर्दा जापानसँग तुलना गर्ने गर्छन कहिलेकाँही ।
जीवनमा केही गर्नुछ भनेर बसेकाहरु विद्यार्थीलाई सानो ढोका खोलेको मात्र उनको भनाई थियो । ‘विदेश गएपछि आफ्नो देशका लागि केही गर्नुछ भनेर सोचमा परिवर्तन आओस् मेरो यति मात्र चाहना हो ।’
‘मैले जापान जाने विद्यार्थीलाई भाषा सिकाउने मात्र हो । तर विदेश गएर मात्र काम छैन । नेपाल कृषि प्रधान देश हो । तर धेरै विदेशीएका कारण गाउँघरमा खेती गर्ने मान्छे पनि छैन । काम ठूलो सानो हुँदैन । विदेश मात्र नभनी नयाँ आएडिया निकालेर यही काम गरयो भने राम्रो हुन्छ ।’ उनको सुझाव छ, नेपाली युवाहरु एक चोटि विदेश जाउन् । बाहिर नगएसम्म आफ्नो देशको राम्रोे र सुन्दर पक्षलाई पनि देख्न सकिन्न । त्यसैले फर्केर आएर पसिना आफ्नै देशमा बगाउनुस् । आफ्नै देशमा केही गर्नुस ।’
बोमलाल गिरीसँगको कुराकानीमा आधारित

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

