Home » » श्रीमान्लाई निकै आनन्द हुन्छ

श्रीमान्लाई निकै आनन्द हुन्छ

- डा. राजेन्द्र भद्रा
म २२ वर्षीया विवाहित युवती हुँ । मेरो विवाह भएको १ महिना भयो । यौनसम्पर्क गर्न त मन लाग्छ तर आनन्द आउँदैन । मेरो श्रीमान्लाई चाहिँ निकै आनन्द महसुस हुन्छ । विवाहपूर्व म हस्तमैथुन गर्थें जसबाट मलाई केही सेकेन्ड आनन्द अनुभव हुन्थ्यो तर मलाई यौनसम्पर्क गर्दा आनन्द महसुस हुँदैन । यौनसम्पर्क गरेपछि भोलिपल्ट योनि पोल्छ । के कारणले यस्तो भएको हो ?

यौन आनन्द वा चरमसुख कसरी प्राप्त हुन्छ ?
प्रश्नको जवाफ दिइ हाल्नुभन्दा पहिले मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गरौं । मास्टर्स तथा जोनसनले मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा विभाजित गरेका छन् । पहिलो चरणलाई उत्तेजनाको चरण एक्साइटमेन्ट फेज भनिन्छ भने त्यसपछिको चरणलाई प्लाटो फेज भनिन्छ । तेस्रो चरण चरमसुख अर्गाज्म फेज हो भने अन्तिम चरण रिजोलुसन फेज हो । प्लाटो फेजमा भएको यौन Stimulation लाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवत: सर्वोत्कृष्ट सुखको अनुभव गर्छ । यसैलाई यौन चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्द जस्ता कयौं शब्द यसका लागि प्रयोग हुन्छन् ।
यो चरणमा मांशपेशीहरूमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप पनि निकै बढ्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांशपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख प्राप्त हुँदा मांशपेशी खुम्चनेफुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभूति हुन्छ त्यसैलाई हामी चरमसुख वा चरम (स्वर्गीय) आनन्द भन्छौं ।
आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै नै हुन्छ तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ । यदि चरमसुखको चरण पछि पनि यौन Stimulation (स्टिमुलेसन) निरन्तर रूपमा कायम रहयो भने कतिपय महिलाले एक पल्टभन्दा बढी चरमसुख (Multiple Orgasm) प्राप्त गर्न सक्छन् तर पुरुषहरूमा भने यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक Refractory Period हो । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किए पछि केही समयका लागि यौनिक रूपमा उत्तेजित हुन सक्दैनन् । महिलाहरूले भने यौन चरमसुख पछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् ।
महिलाले कसरी यौन सुख कसरी प्राप्त गर्छन् ?
हस्तमैथुन गर्ने कुरा गर्नुभएको हुनाले तपाईंलाई आफ्ना यौन संवेदनशील अङ्गका बारेमा पक्कै पनि जानकारी होला । महिलाको सबैभन्दा यौन सम्वेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिर तिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् ।
यौन क्रियाकलापमा संलग्न हुँदा पाकक्रिडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत पनि गर्छ । साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र त्यसै हुनै पर्छ भन्ने पनि छैन । साथसाथै चरमसुख पाइएन भने पनि पीर गर्नुपर्ने आवश्यता छैन, पालोपालो गरेर यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । साथसाथै पाउँदा वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात सम + भोग जसको अर्थ दुवैजना यौन साथी (श्रीमान्–श्रीमती)ले समान रूपमा यो सुख भोग गर्न पाउने कुरा हो ।
यौन सम्पर्क गर्दा किन आनन्द नआएको ?
सामान्यतया: लिङ्ग प्रवेश गराएर सुरु गरिने यौन सम्पर्कमा महिलाले पर्याप्त रूपमा यौन चरमसुखसम्म पुग्ने समय पाउँदैनन् त्यसैले महिलाले पर्याप्त रूपमा पाकक्रिडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौन सम्पर्क गर्दा पुरुषमाथि र महिला तल रहने आसनमा महिलाको योनिमा घर्षण हुने भए पनि भगाङ्कुरमा घर्षण हुँदैन । त्यसैले कतिपय महिलाले हस्तमैथुनबाट यौन आनन्द पाए पनि यौन सम्पर्कको बेलामा भने आनन्द प्राप्त गर्न सक्दैनन् ।
तपाईले भगाङ्कुरको घर्षणबाट यौन चरमसुख प्राप्त गर्नुभएको छ भने यसरी यौनसम्पर्क गर्दा चरमसुख प्राप्त गर्न सहज हुँदैन । त्यसैले फरक आसन जस्तै– तपाईं माथि रहेर वा अन्य आसन, जसमा तपाईंले भगाङ्कुरको घर्षण अनि यौनसम्पर्क गर्दा कटि प्रदेशको चाल र त्यसको गतिलाई आफैंले नियन्त्रण गर्न सक्नुहोस्, ले तपाईंलाई चरमसुख प्राप्त गर्न सहयोग गर्छ ।
हस्तमैथुन गरेका कारणले नै तपाईले यौन सम्पर्क गर्दा यौन आनन्द नपाउने होइन । बरु हस्तमैथुन गर्दा तपाईंको कुन अङ्ग सबैभन्दा बढी संवेदनशील छ अनि कसो गर्दा त्यसलाई उत्तेजित तुल्याएर आनन्द लिन सकिन्छ भन्ने कुरा पनि थाहा हुनुपर्छ । श्रीमान्सँगको यौन क्रियाकलापमा उहाँलाई पनि संलग्न गरेर तपाईंलाई यौन उत्तेजित गर्ने कार्यमा सहयोग लिन सकियो भने यौन आनन्द अर्थात चरमसुख प्राप्त गर्न सहयोग पुग्छ ।
योनि पोल्ने सन्दर्भमा योनिको संक्रमण, सुख्खापन वा अत्यधिक घर्षण वा यहाँसम्म कि वीर्यको एलर्जीसम्म कारण हुन सक्छ । अहिले तपार्इंले दिएको सीमित जानकारीका आधारमा यसै भन्न सकिएन । थप जानकारीका साथ पत्र लेख्नु भए केही भन्न सकिन्थ्यो । यद्यपि यसका लागि स्त्री रोग वा यौन रोग विशेषज्ञसँग सम्पर्क राख्न सल्लाह दिन्छु ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}