
|
|
उर्जासँगै खाना पकाउने एलपी ग्यास अभावले सर्वसाधारणले सास्ती ब्यहोरेका बेला धरानमा यसको विकल्पका रुपमा बायोग्यासको उत्पादन सुरु गरिएको छ।
पहिलो चरणमा उनीहरुले २ सय घनमिटर ग्यास उत्पादन क्षमताको बायोग्यास निर्माण गरिसकेका छन्। यसबाट ६२ दशमलव ५ केभी उर्जासमेत निस्किन्छ। धरान–२६ विष्णुपादुकामा केके लाइभस्टक एण्ड एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले बायोग्यास उत्पादन गरेको हो। उत्पादित बायोग्यास सिलिण्डरमा भर्ने काम समेत भइसकेको छ। ‘अहिले तत्काल १० वटा सिलिण्डर भर्न सकिन्छ। निकट भविष्यमै १ सय वटासम्म ग्यास सिलिण्डर बजारमा पुर्याउने लक्ष्य छ’ कम्पनीका सञ्चालक लोक खापुङहाङले बताए।
बायोग्यासबाट यति धेरै क्षमताको उत्पादन गरिएको नेपालमै पहिलो भएको कम्पनीले दाबी गरेको छ। ग्यास सिलिण्डर भर्ने प्रणालीको बायोग्यास भने यो नै पहिलो मानिन्छ। बजारमा यो बेला ग्यासको हाहाकार भइरहेकाले पनि यसलाई उत्तम विकल्पको रुपमा स्थानीयले बुझ्न थालेका छन्।
यसको कुल लगानी ६० लाख रुपैयाँ रहेको छ । घरमा प्रयोजन गरिने र खेर जाने बस्तु तथा गाइ, बंगुर, बाख्राका गोबर संकलन गरी यो उर्जा निकालिएको छ। घरमा खेर जाने वस्तुहरुबाट नै ग्यासमा ‘डाइभर्सन’ गरिएको इन्जिनियर अरविन्द सिंहले बताए।
कम्पनीले तीनवर्ष अघिबाट गाई बाख्रा, बंगुरपालन समेत थालेको छ । ९८ गाई, एकसय ६ बाख्रा र ८० वटा बंगुरहरु छन् । त्योसँगै खानेकुरा लगायतका फोहोरहरुलाई समेत ट्ंयाकीमा सिंचित गरिएको छ । जसको आयू ५० वर्षसम्म हुने इन्जियिनर सिंहको भनाइ छ । ट्ंयाकीको क्षमता ३५ क्युविक फुट रहेको छ । जहाँ गाई, बंगुर र बाख्राका मलहरु लगेर जम्मा गरिन्छ । ‘नेपालमा अहिले भइरहेको अभावलाई केही हदसम्म यसले पूरा गर्छ,’ इन्जिनियर सिंहले भने ।
प्रालिले ग्यासका लागि छुट्टै कम्पनी दर्ता गरेर केएनके ग्यास नामबाट ग्याससमेत विक्री गर्ने लक्ष्य राखेको छ । तर, सामान्यतः बजारमा पाइने एलपिजी ग्यास ३ महिना प्रयोग हुन्छ भने बायो ग्यासमार्फत् भरिएको सिलिण्डर केही कम दिनसम्म मात्रै चल्ने पनि बताइएको छ। यसबाट निस्किएको उर्जाले हरेकदिन १० घण्टासम्म विद्युतको काम गर्न सक्ने बताइन्छ । ‘उद्योग तथा सवारी साधनहरुमासमेत उर्जाको रुपमा यसले काम गर्छ,’ उनले भने । बायोग्यास उत्पादनपश्चात् बाहिर आएको मलहरुलाई खेतीको लागि उत्कृष्ट मानिने बताइएको छ । ‘जैविक मल उत्पादन हुन्छ भनेर निर्माण कम्पनीले हामीलाई जानकारी दिएको छ,’ खापुङहाङले भने ।
युवा व्यवसायी खगेन्द्र कार्की र खापुङहाङले यसलाई रिसर्च सेन्टरको रुपमा प्रयोजनमा ल्याउन लागेका हुन् । करिव २२ विगाहा क्षेत्रफलमा रिसर्च सेन्टर रहेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

