
|
|
म्यानपावर व्यवसायी भन्छन्- मलेसियामा आर्थिक मन्दी छ
रवीन्द्र घिमिरे
पुस, काठमाडौं । नेपालको ३५ प्रतिशत रेमिट्यान्सको स्रोत मुलुक मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य बन्ने दौडबाट तेस्रोमा झरेको छ । मलेसियामा आर्थिक मन्दी देखिएसँगै कतार र साउदीमा बढी नेपालीहरु जान थालेको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको सुरुवाती ५ महिनामा मलेसिया जाने नेपाली कामदारको संख्या झण्डै ३ गुणाले घटेको छ । केही वर्षदेखि नेपालीको मुख्य रोजगार गन्तव्यका रुपमा स्थापित भएको मलेसिया यो वर्ष तेस्रो गन्तव्यस्थल बनेको छ ।
साउनदेखि मंसिरसम्म ५४ हजार १ सय कामदार लगेको कतार पहिलो श्रम गन्तव्यका रुपमा देखिएको छ भने ५३ हजार ७ सय कामदार लगेको साउदी अरेबिया दोस्रो मुख्य श्रम गन्तव्य बनेको छ ।
महिनामा औषत २० हजार कामदार जाने मलेसियामा अहिले ६ हजारमा झरेको छ । गत वर्ष साउनदेखि मंसिरसम्म एक लाख ६ सय कामदार मलेसिया गएकोमा यो वर्ष यही अवधिमा ३१ हजार दुई सय जनामा सीमित भएको छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षभन्दा यो वर्ष मलेसिया जाने कामदारको संख्या ६९ हजार ४ सय जना कम छ ।
साउनदेखि नै मलेसिया जाने कामदारको संख्यामा निरन्तर गिरावट जारी छ । मंसिरमा ९ हजार ५ सय कामदार मलेसिया गएकोमा भदौमा घटेर ६ हजार ७ सयमा आएको थियो ।
असोज र कात्तिकमा पनि मलेसिया जानेको संख्या घट्ने क्रम जारी रह्यो । असोज महिनामा ५ हजार ९ सय कामदार मलेसिया जाँदा कात्तिकमा ३ हजार १ सयमा सीमित बन्न पुग्यो ।
मंसिर महिनामा भने मलेसिया जान श्रम स्वीकृति लिनेको संख्या सामान्य बढेर ५ हजार ५ सय पुग्यो । तर, अघिल्लो वर्षको मंसिरकै तुलनामा यो संख्या झण्डै १६ हजारले कम हो । गत मंसिरमा २२ हजार कामदार मलेसिया गएका थिए ।
किन घट्यो मलेसिया जाने संख्या ?
सरकारले मलेसिया जान अनिवार्य रुपमा फ्री भिसा र फ्री टिकेटको हुनुपर्ने कारण मलेसिया जानेको संख्या घटेको म्यानपावर व्यवसायी बताउँछन् ।
मलेसियाले आफ्ना कम्पनीलाई तोकिएका जुनसुकै मुलुकबाट आफूलाई सहज हुने गरी कामदार ल्याउन सक्ने व्यवस्था गरेकाले पछिल्ला समयमा नेपाली कामदारको माग निकै घटेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले बताए ।
फ्री भिसा र फ्री टिकट दिनुपर्ने भएपछि कम्पनीहरुले अन्य देशबाट बढी कामदार लिन थालेका छन्’ तामाङले भने- ‘कम्पनी र तिनका एजेन्टहरु जता फाइदा हुन्छ, त्यतैबाट कामदार ल्याउँछन् । उनीहरुलाई भिसा र टिकट दिएर नेपाली कामदार नै लैजानुपर्ने कुनै कारण नै छैन ।’
मलेसिया जाने कामदार घट्नुमा त्यतिमात्रै कारण छैन् । पछिल्लो समयमा मलेसियामा भौतिक तथा आर्थिक असुरक्षा बढेको छ । मलेसियामा थुप्रै नेपालीहरु लुटेरा समूहको आक्रमणमा परेका छन् ।
यस्तै मलेसियामा काम गर्ने नेपालीहरु धेरै कम्पनीबाटै ठगिएका धेरै घटनाहरु सार्वजनिक भएका छन् । त्यसैका कारण पनि बुझेका युवा सकेसम्म मलेसिया नजाने मनस्थितिमा देखिने गरेको व्यवसायी तामाङले बताए ।
मलेसिया जाने कामदार घट्नुमा पछिल्लो समयमा मलेसियमा छाएको आर्थिक मन्दी र मुद्राको अवमूल्यन पनि प्रमुख कारण हो ।
‘मलेसियामा आर्थिक मन्दी छ । त्यसैका कारण कामदार पनि अन्य देश डाइभर्ट भएका छन्’ इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई) का प्रमुख कार्यकारी अधिकृत पोखरेलले अनलाइनखबरलाई भने- ‘मुख्य गरी मलेसियन रिंगेट कमजोर बन्दा पनि रेमिट्यान्समा त्यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।’
रेमिट्यान्स प्रभावित हुने
पछिल्लो समयमा मलेसियबाट भित्रने रेमिट्यान्स घट्दोक्रममा जाने संकेत देखिएको उनले जानकारी दिए । तत्काल रेमिट्यान्समा ठूलो प्रभाव परेको नदेखिए पनि मलेसियामा कामदार घट्दै जाँदा त्यसको असर भविश्यमा ठूलो देखिने पोखरेलले बताए ।
दुई वर्षअघि भन्दा अहिले मलेसियाली रिंगेटको नेपाली सटही दर १० रुपैयाँ तल झरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि रिंगेटको खरिद दर २४ रुपैयाँ ५२ पैसा कायम गरेको छ । दुई वर्षअघि एक रिंगेटको मूल्य नेपालमा ३२ रुपैयाँ थियो ।
विनिमयदर घटेको र आर्थिक मन्दीका कारण तलब पनि बढ्न नकसकेका कारण रेमिट्यान्स रकम पनि घटिरहेको छ ।
नेपालले सबैभन्दा बढी रेमिट्यान्स रकम मलेसियाबाटै भित्र्याउने गरेको थियो । यो वर्ष मलेसिया जाने कामदारको संख्या घट्दा अब रेमिट्यान्समा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्नेछ । झण्डै ६ खर्ब रेमिट्यान्स भित्राइरहेको नेपाललाई मलेसियाको श्रम बजारबाट ३५ प्रतिशत रकम आउने तथ्याङ्क छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा रेमिट्यान्सको हिस्सा झण्डै २८ प्रतिशत छ । नेपालको ब्यापार घाटालाई रेमिट्यान्सले नै पूर्ति गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा कामका लागि विदेशिनेको संख्यामा झण्डै ५० हजारले घटेको छ । अघिल्लो वर्षको पहिलो ५ महिनासम्म २ लाख २५ हजार कामदार बाहिरिएकोमा यो वर्ष १ लाख ७४ हजार कामदार विदेशिएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

