Home » » देश समृद्ध बनाउने एक मात्र सपना- डा. बाबुराम भट्टराई (भिडियो सहित)

देश समृद्ध बनाउने एक मात्र सपना- डा. बाबुराम भट्टराई (भिडियो सहित)

रहस्यमय बाबुरामः बाबुराम भट्टराई के हो ?

यो बिशाल र गतिशील ब्रम्हाण्डमा एउटा मानिस ब्रम्हाण्डीय गतिको एउटा सानो अंश मात्र हो । प्रत्येक मान्छेको जन्म ऐतिहासिक आवश्यकताले हुन्छ । मान्छेले इतिहासको गुण लिएर जन्मिन्छ । बाहुबाजेले यस्तो कुरालाई प्रारब्ध भनेर रहस्यमयी धारणा राख्थे तर अहिलेको विज्ञानले यसलाई आकश्मिक घटना भन्छ । मलाई लाग्छ पूर्वीय चिन्तकको सोंचाइ र बैज्ञानिकहरुको पछिल्लो प्राप्तीबीच सानिध्यता छ । म गोरखाको खोप्लाङमा विपन्न परिवारमा जन्मिएको तथा १० कक्षा सम्म गोठालो भएको सामान्य मानिस । एसएलसीमा बोर्ड फ्रष्ट पनि भएँ । परिस्थितिले यहाँ सम्म ल्यायो ।

६० वर्षमा धेरै परिवर्तन देखेको छु । आफू जन्मेको समाज भन्दा आफू मर्ने बेलाको समाज १ कदम भएपनि अघि बढेको हेर्न चाहन्छु । अहिले सम्म राजनीतिक परिवर्तनका लागि प्रयत्न गरें अव अव देशको आर्थिक समृद्धीका लागि लाग्छु । म सिक्न तयार छु । म गल्ती-कमजोरी सच्याउन तयार छु। म सकारात्मक सोच राख्छु र अरूलाई सकारात्मक सोच बाँड्न चाहन्छु । मैले जीवनमा आफ्नोनिम्ति सबै थोक प्राप्त गरिसकेको छु । मैले त अब बाँकी जीवनमा समाज, देश र मानव जातिलाई आफूले सकेजति दिने काममात्र गर्नुछ ।


जनयुद्धको योजनाकार र नयाँ शक्ति अभियान्ताः दुवै कुरा कसरी ठिक ?

रात पछि दिन हुन्छ । रात ठिक दिन बेठिक वा रात बेठिक हुँदैन । हिँजोको अवस्थामा झापा आन्दोलन देखि प्रजा परिषदको विद्रोहका कुरा समयका आवश्यकता थिए । संसारका विभिन्न देश जस्तै नेपालमा पनि ऐतिहासकि काल खण्डमा हिंसात्मक संघर्ष भए । हिँजो ध्वंशको काल थियो । अव निर्माणको काल हो । हिजो ध्वसं भयो अव निर्माणको क्रान्ति हुन्छ । नेपालमा कम्युनिष्ट भनेर कुनै जडशुत्रबादी धर्मशास्त्रकोरुपमा बुझियो । यही धर्म शास्त्रकोरुपमा कम्युनिष्टको नाम जपेर निर्जिव बस्तु बनाइयो । यहाँ कम्युनिष्टका नाममा गैह्र कम्युनिष्ट काम भैरहेको छ । म यसलाई बदल्न चाहेको मान्छे हो नयाँ शक्तिको अभियान त्यसकै चरण हो । कुनै पनि नयाँ चिज आएपछि चासो र वाद विवाद हुन्छ । विचारको बहसले सत्य पत्ता लगाउन सकिन्छ । नयाँ विचार सहजै स्वीकार गरिँदैन मेरो विचार पनि बहसको चरणमा छ । जनताले जिज्ञासा राखेका छन् र आशा पनि राखेका छन् । यसमा कुनै असहज मानेको छैन । ९७ साल पछि सामन्ती राजतन्त्र विरुद्धका विभिन्न आन्दोलन सफल हुन सकेका थिएनन् ।

अपुरो आन्दोलनलाई अन्तिम धक्का दिन ५२ सालमा जनयुद्ध थालिएको हो । जनयुद्धले सामन्ति ब्यवस्थाको मुख्य संस्थागत प्रतिक राजतन्त्र फाल्यो । यो आन्दोलनमा पनि कमजोरी रहे । त्यसबाट गलत कुराका शिक्षा लिएर राम्रो कुरा शुरु गर्ने हो । हिँजोका कुरा सम्झेर दुःखी हुने भन्दा नयाँ कुरा सोंच्ने आजको आवश्यता हो । गत भदौमा नै मैले जनजाति, थारु र मधेशीहरुको चित्त बुझाएर मात्र संविधान जारी गर्ने दिशामा जाउँ भन्ने कुरा राखेको थिएँ । त्यो कुरा अहिले पुष्टी भएको छ । देशले ३ महिनामा १०-१२ खर्वको क्षति ब्यहोरेको छ । तर कुनै पनि कुराप्रतिको दृष्टिकोण निरपेक्ष हुँदैन । सापेक्षतामा हेर्नु पर्छ । अव नयाँ शक्तिले द्वन्द्ध बढाउने होइन घटाउन चाहन्छ ।

नयाँ संविधान उपलब्धि ! दोहोरो जस ?

संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक उपलब्धी हो । संविधानसभामा राजनीतिक संवाद तथा सहमति समितिको सभापतिकोरुपमा नेतृत्व गर्न पाएकोमा म गौरवान्वित छु । तत्कालीन एमाओवादीको नेताकोरुपमा म सहित हाम्रो पार्टीले राखेको फरक मतको विषय नै अहिले विभिन्न क्षेत्रमा भएको आन्दोलनको कारण बनिरहेको छ । त्यसकै बाहानामा भारतले नाकाबन्दी लागाएको छ । त्यसले देशले १० औं खर्व गुमाएको छ ।


मैले दोहोरो जस लिन खोजेको भन्ने गलत कुरा हो किन भने श्रेय लिएर पाइने कुरा होइन । श्रेय इतिहासले दिने कुरा हो । लिन खोज्दैमा पाइँदैन । संवाद समितिको सभापतिको हैसियतमा संविधान रोक्न सक्ने कुरा थिएन । मान्य नभएका कुराहरु लागु हुन सकेका छैनन् । त्यही कुरा मैले भनेको हो । संविधान सभाबाट संविधान जारी भएपछि राजनीतिक आन्दोलन पुरा भएको छ । अव नयाँ आर्थिक युग शुरु हुन्छ भनेको थिएँ र त्यसका लागि नै नयाँ शक्तिको अभियान थालिसकेको छु ।

भारत परस्त, मधेश आन्दोलनः भारत प्रायोजित ?

नेपालमा ३० वर्षे पञ्चायती शासनकालमा फरक मत राख्नेलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । यो राजनीतिमा चलिरहन्छ । पूर्वीय दर्शनमा चाणक्य नीति पश्चिममा गोयवल्श शैली वा मेकियावेली ‘द प्रिन्स’मा लेखेको जस्तो देशमा गढबढ भएको समयमा अर्को मुलुकसँग युद्ध छेंडेर आफू विरोधीलाई विदेशी एजेन्ट भनेर प्रचार गर्ने शासकहरुको पुरानो चलन हो । नेपाली राजनीतिमा पनि त्यस्तो क्रम चलिरहेको छ । अहिले सत्तामा बस्ने नेताहरु कम्युनिष्ट हो । हिँजो उहाँहरुलाई विदेशी दलाल भनिएको थियो । अहिले सत्ताका मन्छे र मन्त्रीहरुले समेत विदेशी शक्तिहरुसँग लेनदेन गरिरहेको प्रष्ट देखिएको छ ।

पञ्चायतले उहाँलाई भनेको कुरा अहिले अरुलाई पनि किन भनेको ? भारतले नाकाबन्दी गरेको हो तर आन्तरिक समस्यालाई बाहना बनाएको छ । संघीय विभाजनको समयमा थारु बाहुल्य क्लस्टर छुट्याइयो । त्यहीँबाट शुरु भएको आन्दोलन हो । थारु क्षेत्रको आन्दोलन दवाइयो त्यहाँका जनताले नेतृत्व गर्न सकेनन् । पूर्वी तराइतिर सर्‍यो र मधेश आन्दोलन भनियो । हिँजो राज्य पुनर्संरचना समितिको प्रतिवेदनलाई वेवास्ता गरेर केही क्लष्टर टुक्राइएको छ । मगरात थारु बाहुल्य क्षेत्रमा त्रुटी भएका कारण असन्तुष्टि आएको हो । हिँजोको सहमतिबाट सल्टाउने हो भने ठूलो विषय बन्न सक्दैन । यसलाई लेनदेनबाट टुङ्गो लगाउनु पर्छ । जनयुद्धपछि हिँजो ठूला-ठूला विषय त टुङ्गो लाग्यो भने यो त केही ठूलो विषय होइन । मुख्य कुरा हाम्रा आन्तरिक मामिलामा बाह्य पक्षलाई जोड्ने प्रवृत्ती गलत छ ।

भारतसँगको सम्बन्ध र नाकाबन्दी
भारतसँग सुगौली सन्धिपछि सँधै असमान सम्बन्ध रहँदै छ । भारतले हैकमवादी प्रवृत्ति देखाएको सत्य हो । त्यसको पञ्जाबाट फुस्किनका लागि नेपाल समृद्ध र बलियो बन्नु पर्छ । तर शासकहरुले फटाहा गोठालाले ‘बाघ आयो’ भनेर झुक्काउन खोज्दा सँच्चिकै बाघ आए जस्तै भारतले साँच्चिकै नाकाबन्दी लगाइदियो । यस अघि पनि त्यस्तो भएको छ । पञ्चायतकाल देखि चल्दै आएको भारतीय ब्यवहार हो । महेन्द्रले चाइना कार्ड प्रयोग गरे । भारतसँग निहुँ खोज्नका लागि शासक वर्गले गलत समयको छनौट गर्ने गरेको देखिन्छ ।

भारतले गरेको आन्दोलन भनेर प्रचार गरेपछि ४० दिन सम्म नआएको भारत साँच्चिकै आयो र नाकाबन्दी गर्‍यो । मन्त्रीहरु गएर नाकान्दी खोल्न अनुनय विनय गर्नुले देशकै मान मर्दन भैरहेको छ । सत्तामा रहेका मन्त्री प्रधानमन्त्रीले नाकबान्दी खोल्न विनय गर्नुपर्ने अवस्था लज्जाको विषय हो । नाकाबन्दी खुल्ने संकेत पनि देखिएको छ । तर राजनीतिक समस्या समाधान गरिएन भने यो दिगो नहुन सक्छ । मधेश आन्दोलनको नेतृत्वलाई दोष दिएर पन्छिन खोज्नु भन्दा समस्या समाधान गर्नु पर्छ । लेन देन गरेर टुङ्गो लगाउने विषय असम्भव छैन । छिटो समाधान गर्नु पर्छ । भूकम्पले प्रताडित जनता अहिले चिसोमा कामिरहेका छन् । अव समाधान खोज्न ढिलो गर्नु हुँदैन ।

भारतसँग गोप्य डिल ?
मैले गत वर्ष माघमा मात्र भारत भ्रमण गरेको हो । संविधान बनाउने प्रिक्रिया शुरु हुनु अघि र पछि म भारत गएको होइन । प्रचण्ड र शेरबहादुर देउवा मात्र संविधान बन्न लागेको समयमा भारत जानु भएको हो । हामीले हाम्रो समस्या गम्भिर भएर आफै गर्नु पर्छ । भारतसँग सँधै असमान र हैकमवादी ब्यवहार सहनु परेको सत्य हो । तर भारतसँगको कुरा रिस उठेको कुरा मात्र गर्नु हुँदैन ।

अहिलेका शासकले पनि यस्तै ब्यवहार देखाएका थिए । यस्तै गरेका कारण अहिले पनि गलत फाइदा भारतले लिएको छ । प्रचण्ड र शेरबहादुरले भारत गएको बेला केही आश्वासन दिएको हो भने यो विषयमा जवाफ दिनु पर्छ । उहाँहरु एक्लै जानु भएको हो यसको जवाफ उहाँहरुले दिनु पर्छ । भारतले किन यस्तो गर्‍यो भन्ने कुनै पुष्टी भएको छैन । उनीहरुले हिन्दु राष्ट्र भए हुन्थ्यो भन्ने चाहाना राखे होलान तर भारतले हिन्दु राष्ट्रका नराखेका कारण नेपालमाथि दवाव दिएको र नाकाबन्दी लगाएको भन्ने लाग्दैन । किन भने यस्तो मुद्धा उठेको छैन र पुष्ट्याइँ भएको छैन । भारतमा ८० प्रतिशत हिन्दु छन् त्यहाँ हिन्दु राष्ट्र छैन । नेपाललाई भन्ने भए त पहिले आफैले घोषणा गरेर मात्र हामीलाई भन्नु पर्‍यो नि ।

भिडियो हेर्नुस्


नयाँ शक्ति क्रम भंगता कि निरन्तरता ?

आज भन्दा २ वर्ष अघी नै नेपाल साप्ताहिकमा मेरो ‘नयाँ शक्तिको खाँचो’ भन्ने शीर्षकमा लेख प्रकाशित भएको थियो । धेरैले त्यो कुरा भुलिसके । कम्युनिष्ट इतिहासमा धेरै धार थिए । तर ७ साल देखिका कुनै पनि संघर्षले पूर्णता पुग्न सकेनन् । जनयुद्धले एउटा क्रम भंग गर्‍यो । जनताले आफ्नो संविधान आफै बनाउने सपना संविधानसभाबाट पुरा गरे । हो त्यसमा कमि कमजोरी बाँकि छन् । तर अव नयाँ युग शुरु भो । सबै मान्छे एकैपटक पछि लाग्दैनन् । मान्छेहरु पर्खेर बसेका छन् । समयक्रममा जोडिन्छन् । यो निरन्तरतामा क्रम भंगता पनि हो र यसमा नयाँ क्रम पनि चलिरहन्छ ।

पुराना मान्छे, नयाँ शक्ति ?

नयाँ भनेको निरपेक्ष कुरा होइन । सबै कुरामा नयाँ र पुरानो हुन्छ समयक्रममा मात्र हो । मुख्य कुरा विचार नयाँ छ कि छैन भन्ने कुरा हो । मान्छे नयाँ खोजेर हुँदैन । विचार नयाँ खोज्ने हो । नयाँ शक्तिको अभियान र बहस छेडिएको मात्र हो । भर्खर जन्मेको बच्चा मात्र नयाँ हुन्छ । कोही राजनीतिका पुराना कोही पत्रकारका पुराना कोही केमा पुराना । नयाँ शक्तिप्रति राखिएको चासो र चिन्ता नै ठूलो कुरा हो । सुनलाई घोट्दा किन डराउनु ? सुन त सुन नै हुन्छ जति घोटेपनि । मेरो सपना मुलुकलाई १० वर्षमा समृद्ध देशमा पुर्‍याउने हो । विपक्षीलाई हिलो छ्याप्ने नेपाली राजनीतिक प्रवृत्ती हो । नयाँ शक्तिको नयाँ विचार कतिपयलाई मन परेको छैन तर छोंटो समयमै नयाँ शक्तिका लागि देखिएको चासोले यसको प्रवल सम्भावना देख्छु । उ उत्साहित छु ।

नयाँ शक्तिको लक्ष्य मुख्य कुरा हो । देशलाई समृद्ध देश भएको देख्ने मेरो चाहाना हो । जल जमिन जडिबुटीलाई उपयोग गर्न सकियोस भन्ने मेरो चाहाना हो । यो लक्ष्य हासिल गर्न जे गर्नु पर्छ त्यही गर्ने हो । जो सँग मिलेर त्यो लक्ष्य भेटिन्छ त्यससँग मिल्न कुनै हिचकिचाहट छैन । मलाई ब्यक्ति होइन लक्ष्य मुख्य कुरा हो भन्ने लाग्छ । हामी सबैसँग बहस र छलफल गरेर नयाँ शक्ति बनाउने पक्षमा छौं । हामीसँग जोडिन सबै सक्छन् । विकाश समृद्धि र सुशासनलाई मुख्य एजेण्डा बनाउने जो कोहि हामीसँग जोडिन सक्छ । नेपालमा खस आर्य, जनजाति र मधेशी थारुको त्रिकोणले नेपाल बनेको छ । नेपाल भारत चीन र पश्चिमा शक्तिको बाह्य त्रीकोण पनि छ । श्रमिक वर्ग मध्यम वर्ग र उच्च वर्गको त्रिकोण पनि छ । यसरी समाज बनेको छ । यसरी नै सन्तुलन पैदा हुन्छ । यसकै प्रतिनिधित्व हुने गरि नयाँ शक्ति बन्छ ।

नयाँ शक्तिको मुख्य एजेण्डाः समृद्धि

देश परिवर्तनका लागि नयाँ शक्तिको मुख्य एजेण्डा राष्ट्रिय एजेण्डा समृद्धि हो । समृद्धीको मुख्य खाका निरपेक्ष गरिवी हटाउनु हो । अहिले नेपालीहरुको प्रतिब्यक्ति आम्दानी ७०० डलर छ । यो प्रत्येक ब्यक्तिलाई केवल २ डलर मात्र हो । ७०० डरलको प्रतिब्यक्ति आम्दानीलाई ५००० डलरमा पुर्‍याउनु पर्छ त्यसका लागि जे नीति लागु गर्न आवश्यक छ त्यही गर्नु पर्छ । समृद्धीको लागि लगानी चाहिन्छ । अहिले वर्षको ८-९ खर्व लगानी आवश्यक पर्छ । नेपालले लगानीको बजेट जुटाउनु पर्छ । नेपालबाट नपुगे नपुगे भारत र चीनबाट पनि लगानी ल्याएर देशलाई समृद्ध गराउनु पर्छ । समृद्धी लगानी र विकाश मात्र होइन क्षेत्रीय वर्गीय र लैङ्गिक असमता मेट्नका लागि समुतामुलक वितरण पनि चाहिन्छ । यसका लागि अहिलेको राजनीतिक अस्थिरता अन्त्य हुनु पर्‍यो र राजनीतिक झगडा समाधान गरेर आर्थिक समृद्धिको मुद्धामा बहस शुरु हुनु पर्छ ।

बाबुरामको नेतृत्व क्षमता ?

ब्यक्तिले नेतृत्व गर्ने होइन । म समूहमा रहँदै आएको हो । लोकतन्त्रमा एक पटकमा एक ब्यक्तिले एक कार्यकालका लागि नेतृत्व गर्ने हो । नेतृत्वमा चाहिने मुख्य कुरा भिजनः प्रष्ट सोंच, इमान्दारिता/इन्टिग्रिटी र कडा मेहनत गर्ने क्षमता सहित अरुलाई सँगै लिएर अघी बढ्न सक्ने क्षमता हो । कुनै पार्टीमा नलागेका सबै युवा शक्ति र समृद्ध नेपाल चाहने सबै शक्ति नयाँ शक्तिमा आउन सक्छन् । मैले एक्लै नयाँ शक्ति बनाउने होइन । यसको निर्माणको प्रक्रिया पनि सहभागितामुलक हुन्छ र नेतृत्व पनि सहभागितामुलकरुपमा नै हुनेछ ।

नेपाली हेडलाइन्सका सम्पादक सरोज गौतम र अतिथि सम्पादक टिकाराम यात्रीसँगको कुराकानीमा आधारित

तस्विर तथा भिडियोः अशोक महर्जन

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}