
|
|
के तपाईं मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारीसाधन त चलाउँदै हुनुहुन्न अब ख्याल गर्नुहोस् । पहिलेजस्तो मापसे गरेर जरिवानामा मात्र छाडिने होइन्, तपाईंलाई सार्वजनिक मुद्दा पनि लाग्दैछ ।
मापसे गरेर सार्वजनिक भाडाका सवारीसाधन चलाउने सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले पक्राउ गरी केही सार्वजनिक मुद्दा चलाउन सुरु गरेको छ । ट्राफिक प्रहरीले मङ्सिर पहिलो सातादेखि इलाममा यो प्रक्रिया सुरु गरेको हो । यो प्रक्रिया सुरु गरेपश्चात् १० जनाभन्दा बढी मापसे गर्ने चालकलाई सार्वजनिक मुद्दा दायर गरी कानुनी कारबाही अघि बढाएको छ ।
ट्राफिक इन्चार्ज पदमबहादुर राईका अनुसार मापसे गरी सवारी चलाउने चालकलाई केही सार्वजनिक अपराधअन्तर्गत जिल्ला प्रशासन कार्यालय इलाममा मुद्दा दायर गरिन्छ । ‘मापसे गरेर भाडाका सवारीसाधन चलाउनेलाई पक्राउ गरी मुद्दा चलाउन थालिएको छ’, राईले भने ‘पहिलेजस्तो जरिवाना तिरेर छुट्छु भन्ने अब हुँदैन, पक्राउ परेपछि अनिवार्य सार्वजनिक मुद्दा लाग्छ ।’ मुद्दा दायर भइसकेपछि २५ दिन थुनामा र रु २८ हजारसम्म जरिवाना हुनसक्छ ।
मापसे गरी सवारीसाधन चलाउँदा दुर्घटना हुने बढी सम्भावना भएकाले दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले यस्तो अभियान सुरु गरेको राईले बताए । ‘मापसे गरेर सवारीसाधन चलाउँदा यसअघि रु एक हजारसम्म जरिवाना हुने र लाइसेन्समा प्वाल पार्ने काम हुन्थ्यो अब भने त्यसका अतिरिक्त सार्वजनिक अपराधअन्तर्गत मुद्दा पनि सँगसँगै चलाइन्छ’, राईले भने, ‘यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मेचीराजमार्गअन्तर्गत कोल्बुङ, फिक्कल, तीनघरे, गोदक, गोलाखर्क, इनपा, बरबोटे, रक्सेलगायतका स्थानमा ट्राफिक प्रहरीले छड्के जाँच गर्दै आएको छ । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

