
|
|
काठमाडौं–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले विहीबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो ।
तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी गराएको मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णुओम वादेले राससलाई जानकारी दिए ।
काठमाडौंको टोखाबाट गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुमे्र–दमौली–दुलगौंडा हुँदै पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हुन लागेको हो ।
‘२४ स्थानमा गरी ६१ किमी सुरुङसहितको १७१ किमी रेलमार्गको सम्भाव्यता अध्ययन शुक्रबारदेखि चीनको सरकारी कम्पनीले सुरु गर्दैछ, रेलमार्गमा ३४ ओटा पुल हुनेछ, १६.८ किमीको पुल निर्माण गर्नुपर्ने देखिएको छ’–रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने ।
तीन महिनामा सम्भाव्यता अध्ययन सम्पन्न गरी कम्पनी र सरकारकाबीचमा समझदारीपत्रमा हस्ताक्षर भएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने मन्त्रालयले जनाएको छ ।
‘दोस्रो चरणमा आँबुखैरेनी–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पनि कम्पनीले इच्छा देखाएको छ, यो रुटमा रेलमार्ग निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ’–वैदेशिक महाशाखा प्रमुख वादेले भने । अध्ययनका लागि आर्थिक र प्राविधिक लगानी चिनियाँ कम्पनीले नै गर्नेछ ।
सो अवसरमा उपप्रधानमन्त्री गच्छदारले टोलीले नेपालको सन्दर्भमा उपयोगी एवं दिगो रेल सेवा विकासको खाकासहितको प्रतिवेदन बनाउने विश्वास व्यक्त गरे ।
हाल काठमाडौं–पोखरा बस यात्राका लागि साढे पाँच घन्टा समय लाग्छ । यो रेलमार्ग निर्माण भएमा दुई घन्टामा सुरक्षित र वातावरणमैत्री यात्रा गरी पोखरा पुग्न सकिने विभागले जनाएको छ । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

