
|
|
नेपालमाथि भारतले बल प्रयोग गर्नुपर्छ भन्न मिल्छ ?
काठमाडौं । जुन मञ्चमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले मधेसलाई अलग राष्ट्रको रुपमा व्याख्या गर्दै थिए, त्यही मञ्चमा उभिएर पत्रकार नारायण वाग्लेले उनलाई सोधे, ‘के तमलोपा भारतले बनाएको पार्टी हो ?
हिन्दुस्तान टाइम्सका लागि रिपोर्टिङ गर्ने पत्रकार प्रशान्त झाको पुस्तक गणतन्त्रको संघर्षमा उल्लेखित प्रसंगलाई लिएर वाग्लेले सो प्रश्न गरेका हुन् । वाग्लेका अनुसार झाको पुस्तकमा ‘उपेन्द्र यादवसित अविश्वास बढेपछि महन्त ठाकुरको नेतृत्वमा भारतले तमलोपा निर्माण गरिदिएको’ उल्लेख छ । वाग्ले सो पुस्तकको नेपाली संस्करण विमोचन कार्यक्रममा टिप्पणीकारका रुपमा बोल्दै थिए ।
पत्रकार वाग्लेको प्रश्नमा ठाकुरले कुनै जवाफ नदिइकन टारे । उनले आफूहरु भारतसित नजिक रहेको भने स्वीकार गरे । ‘हामी मात्रै किन अरु पनि त भारतसित नजिक हुन खोजीरहेका छन्,’ ठाकुरले भने ।
विमोचित पुस्तकमाथि पत्रकार वाग्लेले थुप्रै सवालहरु खडा गरेका थिए । यो पुस्तक समकालिन इतिहासको बारेमा लेखिएको भए पनि यसका विवरणहरुले गणतन्त्रको आन्दोलनमा संलग्न बहुतप्कालाई समेट्न नसकेको उनले बताए ।
‘लेखकले एउटा पक्ष लिएर लेखेका छन्, राजनीतिक दृष्टिकोणको चश्मा लगाएका छन् । त्यसैले यो नेपालको समकालिन इतिहासको ऐना होइन,’ वाग्लेले भने । पुस्तकले नेपालका हरेक महत्वपूर्ण निर्णयहरुमा भारतीय भूमिका र सक्रियतामा भएको देखाएर नेपालका संघर्षशील राजनीतिकर्मीहरुलाई निरिह सावित गर्न खोजेको उनले आरोप लगाए ।
पुस्तकको हवाला दिँदै वाग्लेले भने, ‘प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डले लण्डन, सिंगापुर, मलेशीयासम्म गएर रअका प्रतिनिधीलाई भेटेर बाबुरामलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको दावी पुस्तकमा गरिएको छ । तर धोविघाट भेलाबाट बनेको गठवन्धनलाई वेवास्ता गरिएको छ ।’
हिन्दुस्तान टाइम्सको लेखबारे प्रश्न
वाग्लेले लेखक झाको हिन्दुस्तान टाइम्समा प्रकाशित विवादस्पद लेखबारे पनि प्रश्न गरे । उनले भने, ‘मेरा हजुरबा भारतीय हुनुहुन्थ्यो र उहाँलाई तुल्सी गिरीले नेपाली बनाइदिए भन्ने कुरा कुनै हिच्किचाहट बिना लेखकले अभिव्यक्त गर्नुभएको छ । यहाँसम्म ठिक छ । तर के उहाँले हिन्दुस्तान टाइम्समा लेख लेखेर ‘नेपालमाथि भारतले बल प्रयोग गर्नुपर्छ’ भन्न मिल्छ ? नेपाल सार्वभौम राष्ट्र होइन भन्न मिल्छ ?’
झाले यसको जवाफ दिन लामै पृष्ठभूमि बाँधे । नेपालमा भएका सबै ठूला-साना राजनीतिक घटनाक्रमहरुमा भारत संलग्न रहेको फेहरीस्त प्रस्तुत गर्दै अहिले पनि भारतले चुपचाप हेरेर बस्न नसक्ने उल्लेख गरे ।
मधेसी मोर्चासित गिरिजाप्रसाद कोइरालाले गरेको आठबुँदे सहमतिको खाका पनि लैनचौरस्थित इन्डिया हाउसमा बनाइएको भन्दै १२ बुँदे समझदारी पनि भारतले गराएको स्मरण गरे । ‘नेपालका हरेक ठूला-साना राजनीतिक परिवर्तनमा भारत संलग्न छ,’ झाले भने , ‘अहिलेको मामलामा उसलाई अछुतो राख्न मिल्दैन ।’

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

