
|
|
काठमाडौं, २१ पुस - बेलायतबाट प्रकाशन हुने ‘द
फाइनान्सियल टाइम’को
सहप्रकाशन ‘द बैंकर’ले यस वर्ष
उत्कृष्ट अर्थमन्त्रीको सम्मान डा. रामशरण महतलाई प्रदान गर्ने घोषणा गरेको हो।
डा. महत विश्व क्याटेगोरीमा उत्कृष्ट अर्थमन्त्री हुने दक्षिण एसियामै पहिलो
व्यक्ति हुन्। यसअघि भारतका प्रणव मुखर्जीले एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट
अर्थमन्त्रीको सम्मान पाएका थिए।
विश्वभरका
बैंकर तथा अर्थशास्त्रीबीच सर्वेक्षण गरी द बैंकरले डा. महतलाई एसिया प्रशान्त
क्षेत्रका मुलुकहरूमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि
उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको हो। बैंकरले विगत १४ वर्षदेखि उत्कृष्ट
अर्थमन्त्री र उत्कृष्ट गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ।
अर्थतन्त्रमा
सुधार र विशेषगरी भूकम्पपछिको पुनर्निर्माणका लागि अर्थमन्त्रीका हैसियतले
अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गरी स्रोत परिचालन गर्न सफल भएको भन्दै
पुरस्कार दिने निर्णय भएको बैंकरले जनाएको छ । गत वर्ष यो पुरस्कार ताइवानका
अर्थमन्त्री चाङ सेङ फोर्डले प्राप्त गरेका थिए।
इमानसाथ
काम गरे अन्तर्राष्ट्रिय क्षेत्रले हेर्दो रहेछ : डा. महत
देश
अल्पविकसित नै रहे पनि अर्थमन्त्रीले ‘संसारकै
उत्कृष्ट अर्थमन्त्रीको पुरस्कार’ पाउँदा कस्तो अनुभव भइरहेको छ ?
यसले मलाई
अत्यन्तै विनम्र बनाएको छ । सानो र कमजोर अर्थतन्त्रमा पनि इमानदारी र मिहिनेतका
साथ काम गर्यो भने त्यसलाई अन्तर्राष्ट्रिय क्षेत्रले नियालिरहेको हुन्छ भन्ने
यसले स्पष्ट पारेको छ । नेपालको हालसम्मको इतिहासमा कसैले पनि यस्तो सम्मान पाएको
मेरो जानकारीमा छैन । ९० वर्षको इतिहास भएको ‘द बैंकर’जस्तो पत्रिकाले पुरस्कृत गर्नु महत्त्वपूर्ण
कुरा हो । तर, यो मेरो
एकल प्रयासले पाएको उपलब्धि होइन । अर्थ मन्त्रालय तथा योजना आयोगको टिम र नेपाल
सरकारका सम्बन्धित सबै निकाय यो पुरस्कारका लागि बधाईका पात्र छन् । यो ती सबैको
इमानदार प्रयासको उपलब्धि हो।
तपाईंको
कार्यकालको समग्र मूल्यांकन भयो अथवा भूकम्पपछि तपाईंहरूले केही त्यस्तो उपलब्धि
प्राप्त गर्नुभयो जसका कारणले तपाईंले पुरस्कार पाउनुभयो, के लाग्छ ?
भूकम्पअगाडिदेखिकै
समग्र कामको मूल्यांकन गरिएजस्तो लाग्छ । तर, मुलुकमा भूकम्प गएपछि अर्थतन्त्रलाई कमजोर हुन
नदिन मैले तत्कालै जुन प्रयास गरेँ, त्यसको बढी मूल्यांकन भएजस्तो लाग्छ ।
मान्छेहरूले जानुहुन्न भन्दाभन्दै पनि म भूकम्पलगत्तै अजरबैजानमा भएको एसियाली
विकास बैंकको गभर्निङ काउन्सिलको बैठकमा भाग लिन गएँ । बैंकका अध्यक्षले नै बैठकमा
भाग लिन आउनुपर्छ भनेर मलाई जोड गर्नुभएको थियो । त्यसमा मैले ५–६ वटा
बैठकमा सम्बोधन गरेँ । भूकम्पपछाडिको नेपालको अवस्थाबारे स्पष्ट धारणा राखेँ ।
वास्तवमा त्यस बैठकमा मैले जुन सक्रियताका साथ काम गरेँ त्यसले अन्तर्राष्ट्रिय
समुदायको ध्यान आकृष्ट मात्रै गरेन, मुलुकमा सहयोग भित्र्याउन पनि सहयोग गर्यो ।
त्यसपछि ‘नेपालको
पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ नेपालमै गर्न मैले भूमिका निर्वाह गरेँ । त्यो
सम्मेलन नेपालमा गर्नु हुन्न भन्ने कुरा पनि आएको थियो । तर, त्यसलाई
नेपालमा नै गर्ने भन्ने सन्दर्भमा प्रधानमन्त्रीबाट पनि सहयोग भयो । नेपालमा नै
भएको सम्मेलनबाट पुनर्निर्माणमा दाताका तर्फबाट निकै ठूलो प्रतिबद्धता प्राप्त भयो, त्यो निकै ठूलो
उपलब्धिको विषय हो।
तर, दाताले
जनाएको प्रतिबद्धताअनुसारको रकम खर्च गर्न संरचना तयार पार्न सक्नुभएन, जसले
पुनर्निर्माण नै अलपत्र भयो नि ?
म
अर्थमन्त्री हुँदा पुनर्निर्माणका लागि धेरै काम भएका थिए । दाताको ठूलो
प्रतिबद्धता आयो । तर, त्यो
प्रतिबद्धताअनुरूपको रकम आजको भोलि नै आइहाल्ने होइन । प्रतिबद्धतालाई परियोजनामा
रूपान्तरण गर्नुपर्छ । कुन परियोजनामा कसरी खर्च गर्ने भनेर दातासँग छलफल
(नेगोसिएसन) गर्नुपर्छ । त्यसका लागि समय लाग्छ । यद्यपि, मेरै समयमा
विश्व बैंक तथा एसियाली विकास बैंकसँग छलफल भइसकेको थियो । पुनर्निर्माणका लागि
घरको डिजाइन तयार भइसकेको थियो । भूकम्पपीडितलाई रकम बाँड्ने कार्यविधि बनिसकेको
थियो । तर, त्यसपछि म
सरकारमा रहिनँ ।
तपाईं
सरकारमै रहँदा तोकिएको समयमा पुनर्निर्माण प्राधिकरण अध्यादेश पारित गर्न नसक्दा
प्राधिकरण नै निष्क्रिय भयो, त्यसको अपजस कसले लिने ?
अहिलेको
अवस्थामा म कसैलाई दोष दिन चाहन्नँ । तर, संसद् सुरु भएको ६० दिनभित्र अध्यादेश पारित
हुन नसक्नुमा सरकारको मात्रै होइन, अन्य राजनीतिक दलको पनि उत्तिकै भूमिका छ ।
त्यसपछि संसद्मा गएको विधेयकमा पनि ७२ वटा संशोधन आएका छन् जसका कारण पारित हुन
समय लागेको छ । यसमा तत्कालीन सरकारबाट पनि केही कमजोरी भएका हुन् र अन्य राजनीतिक
दलहरूको पनि । मेरो कार्यकाल सकिएपछि पुनर्निर्माणका सन्दर्भमा केही कमजोरी भएका
छन् ।
तपाईंको
पछिल्लो कार्यकालमा आर्थिक वृद्धिदर र विकास खर्च अपेक्षाकृत हुन सकेन नि, होइन र ?
प्रतिकूल
अवस्थामा पनि मुलुकको अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहे । भूकम्पका कारण गत
आर्थिक वर्षको आर्थिक वृद्धि केही कम हुन गयो । तर, त्यसअघिको आर्थिक वर्षमा पाँच दशमलव दुई
प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो । भूकम्प नगएको भए गत वर्ष पनि ६ प्रतिशतको
आर्थिक वृद्धि हासिल हुन्थ्यो । तर, हाम्रोजस्तो असहज वातावरण भएको मुलुकको आर्थिक
विकासको सूचक ‘आर्थिक
वृद्धि’ मात्रै
होइन । विभिन्न किसिमका आर्थिक जोखिमलाई सहन गर्न सक्ने क्षमता अर्थतन्त्रमा
रहनुलाई पनि विकासकै रूपमा लिनुपर्छ जुन मेरो कार्यकालमा भएको थियो । नयाँ
पत्रिकाबाट

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

