
|
|
इटहरी, माघ २ । सुनसरी सदरमुकाम इनरुवा–७ तामाङ टोल निवासी ७१ वर्षीया बालकुमारी खनालले कान्छो छोरो फर्किएर आउँला कि भनेर दिन गनेर बिताएको पनि चौध वर्ष बितिसक्यो ।
तर कान्छो छोरा दिनेश खनाल जीवित नै छन् कि छैनन् भन्ने खबरसम्म पनि उनले पाउन सकेकी छैनन् ।
उनका श्रीमाननको २०३० सालतिरै निधन भयो । जेठो छोरा रन्जन खनालले पनि आजभन्दा ९ वर्षअगाडि नै यो धर्ती त्यागे । जिल्ला विकास समितिको कार्यालय अगाडि सडकतिर टहलिँदै गर्दा रन्जनलाई ट्याक्टरले किचेको थियो ।
उनका साथमा दुई छोरी छन् । दुबैको विवाह भइसकेको छ । कान्छी बुहारी पनि अर्कैसँग लागेपछि बालकुमारीको जीवनमा बज्रपात नै प¥यो । कान्छो छोरो साथमै हुँदा कान्छी बुहारीको मति बिग्रिसकेको बालकुमारीको भनाइ छ ।
कान्छो माओवादीमा भने नलागेको बालकुमारी बताउँछिन् । घरपरिवारमा जे जस्तो विपद् आइपरे पनि बालकुमारीले जेठी बुहारीसँग मिलेर घर चलाउँदै आएकी थिइन् ।
श्रीमाननको मृत्युपछि दुई बच्चाकी आम उनी पनि विरक्तिएकी थिइन् । उनी काम खोजेर बालबच्चाको भविष्य बनाउने योजनासहित इटहरीको रिजाल टाँसी उद्योगमा काम गर्न गएको बालकुमारी सुनाउँछिन् ।
अहिले उनी जिल्ला प्रशासन कार्यालयअगाडि सानो बेन्च राखेर हुलाक टिकट, नागरिकताको फाराम बेचेर दुई चार पैसा कमाउँछिन् र त्यसैबाट गुजारा चलाइआएकी छिन् ।
यो पेसा अँगालेकै पनि २५ वर्ष भइसकेको उनी बताउँछिन् । कान्छो छोराका दुई सन्तान पनि पोखरातिर भएकी ठूलीआमाकहाँ गएर उतै बस्न थालेका छन् । बेसहारा बालकुमारी बेपत्ता भएको कान्छो छोरो कहीँ कतैबाट टुप्लुक्क आई पो पुग्छ कि भन्ने आशा पालेर बसिरहेकी छिन् ।
वृद्ध बालकुमारीलाई जेठा ज्वाइँ प्रमोद चौलागार्इं जस्तै कान्छो छोरो फर्केर पो आउँछ कि भन्ने आश छ । उनको जेठो ज्वाइँ बेपत्ता भएको १४ वर्षपछि टुप्लुक्क घर आइपुगेको उनी सुनाउँछिन् ।
बेपत्ता परिवारले पाउने सरकारी पैसा पाए हुन्थ्यो भन्ने आशा छ उनमा । उनले भनिन्, ‘खोई मेरो त छोरा बेपत्ता भएको पनि धेरै वर्ष भइसक्यो । कसैले मरेको वा बाँचेको केही खबर नै पो ल्याउँदैनन् । मेरो त लुटिने, बेपत्ता हुने र आफन्त भन्नेहरुले छाडेर जानेबाहेक आफूसँग अब त केही पनि बाँकी नरहने भो ।’
कहिलेकाही छोरीज्वाइँ, जेठीबुहारी आएर सञ्चो विसञ्चो सोध्ने र केही पैसासमेत दिएर जाने उनी बताउँछिन् । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

