
|
|
बागलुङ २०७२ भदौ १६ । बागलुङ जिल्लालाई अखण्ड राख्ने माग गर्दै बागलुङ सदरमुकाम लगायत जिल्लाका विभिन्न भागहरुमा विरोध कार्यक्रमहरु सन्चालित भैरहेका छन् । हिँजो मंगलवार पनि अखण्ड बागलुङको माग गर्दै बुर्तिवाङमा मौन जुलुस, गल्कोट हटियामा विशाल विरोध कार्यक्रम सम्पन्न भयो भने सदरमुकाममा संघर्ष समितिको आव्हानमा जुलुस निकालिएको थियो र कानून व्यवसायीहरुले पनि अखण्ड बागलुङ जिल्लाको मागमा एक्यवद्धता जनाउदै जुलुस सहित बजार परिक्रमा गरेका छन् । आज शिक्षकहरुले सो कार्यक्रमलाई निरन्तरता दिँदै छन । उता राप्रपा नेपालले अखण्ड बागलुङ र हिन्दुराष्ट्रको मागगर्दै विगत चार दिन देखी लोकतान्त्रिक चोकमा रिले अनसन र धर्ना कार्यक्रमलाई निरन्तरता दिईरहेको छ ।
एकातिर बागलुङ जिल्लालाई नेपाली काँग्रेस, एमाओवादी र एमालेको तीन दलीय षडयन्त्रबाट दुई टुक्रा परिएको चिन्ताले जिल्लावासी भोक न निद्राको अवस्थामा पुगेका छन् भने अर्कोतिर १२ दिन देखीको आम हडताल र बन्दले जिल्लावासीको जनजीवन अति नै कष्टकर बनेको छ ।
बन्द कार्यक्रमले दैनिक काम गरेर खाने श्रमिक, मजदुर, गरिब बिपन्न परिवार बढी सास्ती खेप्न बाध्य भएका छन् । उता वजार बन्द रहदा व्यवसाय चौपट भएको मर्म व्यापारीहरुले चोक चोकमा व्यक्त गर्दै आएका छन् ।
शिक्षण संस्थाहरु बन्द रहनाले विद्यार्थीहरु र बालबालिकाहरुको पठन पाठन ठप्प बनेको त छ नै उनिहरुको भविष्य माथि खेलबाड नगरौँ भन्ने अभिभावक र सरोकारवाला निकायहरुको चिन्ता जाहेर भएको छ ।
यसैसन्दर्भमा अखण्ड बागलुङको माग सहित थालिएको अनिश्चितकालिन बन्द र आम हड्तालले बालबालिकाको भविष्य अन्यौल भएको भन्दै सरोकारवालाले जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समिति, सेभ द चिल्ड्रेन, गाजा युवा क्लब, सेतो गुरास बालबिकास सेवा लगायतका संघ संस्थाले जारी वन्द हड्तालले भएको बिद्यालय बन्द बारे कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले आन्दोलनरत पक्षलाई बन्द हड्तालको स्वरुप परिवर्तन गरेर विद्यालय संचालन गर्ने बातावरण गराउन कार्यालयले पहल गर्नुपर्नेमा जोड दिएका छन् । बन्दको कारण अहिले सडकमा बालबालिकाले खेलेर दैनिकी बिताएका छन् ।
बन्दका नेतृत्वकर्ता भन्नेले दोश्रो जनआन्दोलनमा १९ दिनको बन्दको जिकिर गर्दै अखण्ड बागलुङको मागको सुनुवाई नभए १९ दिन त के १९ महिना बन्द गछौँ भन्दै कुर्लि रहेका छन् ।
सरकार बागलुङ जिल्लावासीको अखण्ड बागलुङ जिल्लाको मागलाई सम्वोधन गर्न आनाकानी गरिरहेको छ । जिल्लावासीहरु अखण्ड बागलुङको माग सुनुवाई हुन के जीवन कै आहुती दिनु पर्ने हो ? भनि सरकार र यसका जिम्मेवार पक्षसंग प्रश्न गरिरहेको अवस्था छ ।
सघीयताका कारण देश अहिले आगोको ज्वालामा दन्किरहेको छ । मुलुकभर हिँशक घटनाहरुको पुनरावृत्ति भैरहेको छ । नेपाललाई हिन्दुराष्ट्र कायम गराई छोड्न र धर्म निरपेक्षता हटाउन राप्रपा नेपाल लगायत हिन्दु धर्म पक्षधर संघर्षमा उत्रिएका छन् ।
Source: ebaglung.com

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

