
|
|
१ असोज, काठमाडौं । जनयुद्ध सुरु भएको पाँच वर्ष पुग्दा तत्कालीन माओवादीले नयाँ कार्यनीति तय गरेको थियो, ‘संविधानसभाबाट संविधान ।’ गोलमेच सम्मेलन, गणतन्त्र माओवादीका थप कार्यनीति थिए । तत्कालीन माओवादीले ०५७ मा तय गरेको कार्यनीति १५ वर्षपछि ३ असोजमा गणतन्त्र र संविधानसभाबाट संविधान जारी गर्ने विषय संस्थागत हुँदै छ । तर, अहिले विभाजित बनेका तीन माओवादीले संविधानसभाबाट संविधान जारी गर्ने दिन तीन गतिविधि गर्दै छन् ।
०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट संविधानसभाको कार्यनीति बनाएको तत्कालीन माओवादी अहिले तीन पार्टीमा विभाजित छ । प्रचण्ड, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वमा तीन माओवादी पार्टी छन् । मातृका यादव र मणि थापाका नेतृत्वमा पनि माओवादी पार्टी छन् । एकीकृत माओवादीले संविधान जारी भएको साँझ देशैभर दीपावली गर्ने निर्णय गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने ‘प्रतिगामी’ भन्दै देशभर नयाँ संविधान च्यात्ने र जलाउने तयारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भने संविधानले संसद्वादी र माओवादीको सहकार्य अन्त्य गरेको घोषणा गर्दै ३ असोजमा नेपाल बन्द आह्वान गरेको नयाँ पत्रिकामा खबर छ ।
शासकीय स्वरूपलगायत महत्त्वपूर्ण विषयमा फरक मत राखेर संविधान निर्माणमा अग्रसरता देखाएको एमाओवादीले संविधान जारी भएको साँझ दीपावली गर्ने निर्णय गरेको छ । ‘यो हाम्रो रगत र पसिनाले लेखिएको संविधान हो । यो संविधान जारी हुँदा हामी देशभर खुसियाली मनाउँछौँ, दीपावली गर्छौँ,’ पार्टी प्रवक्ता दीनानाथ शर्माले भने, ‘संविधानमा हाम्रो थुपै्र फरक मत छन्, असहमतिका बाबजुद पनि यो जनयुद्ध र माओवादीको उपलब्धि हो ।’ एमाओवादीले संविधान जारी गर्दा खुसियाली मनाउने निर्णय गरे पनि ठोस कार्यक्रम भने बनाएको छैन । प्रवक्ता शर्माले बिहीबार ठोस कार्यक्रम बन्ने बताए । ‘अब मुलुक माओवादीको एजेन्डामा अघि बढिसक्यो,’ उनले भने, ‘हामी सोहीअनुसारको कार्यक्रम बनाएर खुसियाली मनाउँछौँ ।’
वैद्य नेतृत्वको नेकपा–माओवादीले भने ३ असोजमा विरोध प्रदर्शनसहित संविधानलाई प्रतीकात्मक रूपमा च्यात्ने र जलाउने निर्णय गरेको छ । उसले संविधान प्रतिगामी भएको भन्दै संविधानको औचित्य नरहेको जनाएको छ । सो पार्टीका पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले संविधान जनयुद्धको भावनाविपरीत र प्रतिगामी खालको भएकाले विरोध गर्न लागिएको बताए । ‘हामी संविधान जलाउँछौँ, च्यात्छौँ । देशैभर विरोध प्रदर्शन गर्छौँ,’ उनले भने, ‘हामीले यो संविधान प्रतिगामी बन्दै छ भन्दै आएका थियौँ, प्रतिगामी खालकै बन्यो । बलपूर्वक संविधान घोषणा गरिँदै छ ।’ कँडेलले संविधान दीर्घकालीन प्रभाव पार्ने विषय भएकाले हतार गर्न जरुरी नभएको बताए । ‘नेताहरू किन यसरी बहकिए ? नेताहरू ठेकेदार बन्न खोजे । यसले देशको राष्ट्रियतामा संकट ल्याउँदै छ,’ कँडेलले भने । उनले संविधानविरुद्ध दीर्घकालीन कार्यक्रम तय गरेर जाने पनि बताए ।वैद्य नेतृत्वको माओवादीले अधिकारसम्पन्न राष्ट्रिय राजनीतिकसभा आयोजना गरेर राजनीतिक समस्याको समाधान गर्नुपर्ने बताउँदै आएको छ ।
विप्लव नेतृत्वको नेकपा माओवादीले नयाँ संविधानले शान्तिप्रक्रिया भंग गर्न लागेको बताउँदै ३ असोजमा नेपाल बन्द आह्वान गरेको छ । उसले २ असोजमा विरोध प्रदर्शनको कार्यक्रमसमेत सार्वजनिक गरेको छ । नेकपा माओवादी पोलिटब्युरो सदस्य सन्तोष बुढामगरले संविधानले शान्तिसम्झौता, संसद्वादी र माओवादीबीचको सहकार्यलाई निस्तेज पारेकाले विरोध गर्नुपरेको बताए । ‘यो संविधानले बृहत् शान्तिसम्झौतालगायत सबै सहमति एवं सम्झौता र ०६३ यता तय गरिएको शान्तिप्रक्रिया, माओवादी एवं संसद्वादी शक्तिबीचको सहकार्यलाई तोडेको छ,’ बुढामगरले भने, ‘यसविरुद्ध हामीले ३ गते नेपाल बन्द आह्वान गरेका छौँ, २ असोजमा प्रदर्शन गर्छौँ ।’ बुढामगरले जनयुद्धको उद्देश्यअनुसारको संविधान नआएको बताए । स्रोतका अनुसार चन्द नेतृत्वको माओवादी संविधान जारी भएपछि समानान्तर सरकारको घोषणाको तयारीमा छ । उसले सोही दिनदेखि भूमिगत आन्दोलन थाल्ने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

