Home » » को-को हुन संविधानसभामा अनुपस्थित हुने ६ सभासद

को-को हुन संविधानसभामा अनुपस्थित हुने ६ सभासद

१ असोज, काठमाडौं । संविधानसभाबाट संविधान पारित गर्ने वेला बुधबार ६६ सभासद् अनुपस्थित रहे । अनुपस्थितमध्ये ५९ सभासद् प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा थिए भने ६ सभासद् बिरामी भन्दै उपस्थित नभएका हुन् । बिरामी भनेर बुधबार अनुपस्थित हुनेमा कांग्रेसका दुई, एमालेका एक, एमाओवादीका एक, मधेस समता पार्टीका एक र बहुजन पार्टीका एक सभासद् छन् । कांग्रेस नेता खुमबहादुर खड्कापत्नी शिला शर्मा खड्का संविधान पारित गर्दा मतदानमा उपस्थित भइनन् ।


खुमबहादुरको र शर्मा स्वयंकै उपचारका लागि उनी भारत गएको स्वकीय सचिव चूडामणि कँडेलले जानकारी दिए । ‘युरिक एसिड रोगको फलोअपमा मन्त्रीज्यू (खुमबहादुर) भारत जानुभएको हो,’ कँडेलले भने, ‘उहाँ (शिला)को पनि उपचार गर्नुपर्ने थियो ।’ उनका अनुसार पाँच दिनअघि उनीहरू भारत गएका हुन् । कांग्रेसकै अर्का नेता प्रदीप गिरि पनि संविधानसभामा मतदानमा उपस्थित भएनन् । उपचारका लागि गिरि भारत गएको उनीनिकट स्रोतले बतायो । प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गिरि उपचारका लागि भारत गएको भन्ने सुने पनि आफूलाई कुनै जानकारी नभएको बताए । ‘कम्युनिकेसन ग्याप भयो,’ श्रेष्ठले भने, ‘उपचारमा गएको सुनेको हो ।’ एमाले सभासद् राज्यलक्ष्मी गोल्छाले पनि अस्वस्थताको कारण जनाउँदै संविधानसभाको मतदान प्रक्रियामा भाग लिइनन् । विराटनगरमा रहेकी गोल्छाले नयाँ पत्रिकासँग भनिन्, ‘डाक्टरले बेडरेस्ट गर्नु भनेकाले म मतदानमा जान नसकेको हो ।’ तर, संविधानमा हस्ताक्षर गर्न शुक्रबार १० बजेको प्लेन टिकट भने लिइसकेको उनले बताइन् । उनी समानुपातिक सभासद् हुन् ।

एमाओवादी सभासद् प्रभु साह पनि मतदान प्रक्रियामा उपस्थित भएनन् । मधेसमा भइरहेको आन्दोलन र दलहरूबीच प्रक्रिया अघि बढाउने सहमतिप्रति साह असन्तुष्ट थिए । सभामुख सुवास नेम्वाङलाई जानकारी गराएर उनी प्रक्रियाबाट बाहिरिएका हुन् । उनी रौतहट ३ बाट निर्वाचित हुन् । दलित समुदायको अधिकार र समानुपातिक समावेशिताको सिद्धान्त संविधानमा किटान गर्न माग गर्दै आमरण अनशन बसेका बहुजन पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवान पनि अस्वस्थ भन्दै मतदानमा सहभागी भएनन् । संविधानको विधेयकमा संशोधन प्रस्ताव राखेका पासवान बानेश्वरमा आठ दिनसम्म अनशन बसेका थिए ।

अघिल्लो राति मात्रै अनशन तोडेका पासवान मीनभवनस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । उनी समानुपातिक सभासद् हुन् । मिर्गौला प्रत्यारोपण गरेर उपचार गराइरहेका मधेस समता पार्टीका एक मात्रै सभासद् मेघराज नेपाली निसाद भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । मिर्गौला प्रत्यारोपणपछि इन्फेक्सन भएर उनी उपचार गराइरहेकाले मतदानमा उपस्थित नभएका हुन् । आफूले संविधानसभा बहिष्कार नगरेको उनले बताए । ‘हामी संविधान बनाउन संविधानसभामा आएका थियौँ,’ मेघराजले भने, ‘बहिष्कार गर्ने कुरै होइन, म डाक्टरको सल्लाहअनुसार मतदानमा जान नसकेको हो ।’ उनले सकेसम्म संविधानमा हस्ताक्षर गर्न जाने बताए । उनी समानुपातिक सभासद् रहेको नयाँ पत्रिकामा खबर छ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}