Home » » जनकपुरमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

जनकपुरमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

भाद्र १६, २०७२- सीमांकनको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुको प्रदर्शन उग्र भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार मध्यान्ह १२ बजेपछि नगर क्षेत्रका तीन सडकलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा हस्ताक्षरित निर्देशमा जनकपुर उपमहानगरपालिका-४ स्थित मुरलीचोकदेखि कदमचोक, स्मशानघाटस्थित भूतनाथ मन्दिरदेखि जिल्ला अदालत, उतिमपुरस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयदेखि आन्तरिक राजस्व कार्यालय बीचको सडकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म ती क्षेत्रलाई निषेधित घोषणा गरिएको छ । यही क्षेत्रमा जिल्ला प्रशासन, जिल्ला विकास समिति, मालपोत, जिल्ला प्रहरी, प्रमुख जिल्ला अधिकारीको आवास, कोष तथा लेखा नियन्त्रण, वन, पशु, कृषि, सिंचाईलगायतका सरकारी कार्यालयहरु छन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) अनुसार निषेधित क्षेत्रमा सभा, सेमिनार, प्रदर्शन लगायतका गतिविधिमा रोक लगाइएको छ । यस क्षेत्रमा खटेका सुरक्षाकर्मीहरुलाई अन्तिम बलस्वरुप गोलीसम्म चलाउने अधिकार दिइएको छ ।
यसैबीच बुधबार १९ औं दिन पनि जनकपुर बजार बन्द छ । बन्द सफल बनाउन आन्दोलनकारीहरु बिहानैदेखि नगर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । आक्रोशित आन्दोलनकारी बिहानैदेखि भानुचोक, मुरली चोक, पिराडी चोक, नयाँ बस पार्क सहितका चोकहरुमा प्रदर्शन गरिरहेका छन्

आन्दोलनकारीहरुले आजदेखि बन्दलाई अझ सशक्त बनाउँदै मोटरसाइकल चलाउन पनि रोक लगाएको छ । जनकपुर—ढल्केवर सडक खण्डको सपहीमा दुई मोटरसाइकल नियन्त्रणमा लिई आगजनी गरिएको छ भने आधा दर्जन भन्दा बढी मोटरसाइकल तोडफोड गरिएको छ ।

मंगलबार पनि प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच दिनभरि झडप भएको थियो । अपरान्ह भानुचोकमा प्रहरीले चलाएको गोली लागी घाइते भएका महोत्तरी पोखरभिण्डाका २० वर्षीय सुजित साहको अवस्था चिन्ताजनक भए पछि उनलाई थप उपचारको लागि राति नै विराटनगर लगिएको थियो । उनको घाँटी भन्दा तल गोली लागेको ।

भानुचोकमा प्रहरीले अनेकौ राउण्ड हवाई फायर, रबरका गोली तथा अश्रु ग्यासका गोला प्रहार गरेका थिए । प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोली प्रहार गरिएको बताए ।

प्रहरीको लाठी चार्ज तथा रबरको गोली लागी १२ जना भन्दा बढी आन्दोलनकारी घाइते भएका थिए ।
Source:Ekantipur

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}