
|
|
काठमाडौं, १२ असोज - मंगलग्रहमा बग्दै गरेको पानी रहेको पत्ता लगाउने वैज्ञानिकको टोलीमा नेपाली वैज्ञानिकले महत्वपूर्ण भूमिका खेलेका छन्।
अमेरिकामा रहेका नेपाली वैज्ञानिक लुजेन्द्र ओझासहितको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासामा आवद्ध वैज्ञानिकको टोलीले मंगलग्रहको सतहमा बगेको पानी रहेको नयाँ तथ्य सार्वजनिक गरेको छ। नेपाली युवा वैज्ञानिक ओझासहितको आठ जना वैज्ञानिकको समुहले नासाको अन्तरिक्ष यानले पठाएका पछिल्ला तस्बिरका तथ्यको विश्लेषण गरी मंगलग्रहमा बगेको अवस्थामा पानी रहेको पत्ता लगाएको हो।
टोलीमा ओझासँग वैज्ञानिकहरु म्यारी वेथ विलहेल्म, स्कट एल मुर्चेइ, अलफ्रेड एस एमसिइवेन, जेम्स जे वरे, जेनिफर ह्यानले, मारिवन मासे र म्याट चोज्यानकीको टोलीले नयाँ तथ्य सार्वजनिक गरेको हो।
आफूलाई लुजु ओझाका रुपमा चिनाउने नेपाली वैज्ञानिक ओझाले अहिले अमेरिकाको जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट अन्तरिक्ष विज्ञानमा विद्यावारिधी गरिरहेका छन्। ओझासहतिको वैज्ञानिकको टोलीले मंगलग्रहमा बगेको अवस्थामा पानी भेटिनुले त्यो ग्रह अहिले पनि भौगोलिक रुपमा सक्रिय रहेको पुष्टी हुने र यसले त्यहाँ मानव बस्तीको सम्भावनाका बारेमा अनुसन्धान गर्न सकिने बताएका छन्।
नासाले सोमबार राति पत्रकार सम्मेलन गरेर मंगलग्रहमा बगेको अवस्थामा पानी रहेको पुष्टी भएको जनाएको छ। पत्रकार सम्मेलनमा वैज्ञानिकले अन्तरिक्षबाट प्राप्त तस्बिरमा चार ठाउँमा पानी बगेको देखिएको धर्सा देखिएको जनाएका छन्। यसले त्यहाँ भर्खरै पानी बगेको हुन सक्ने वैज्ञानिक ओझाले बताएका छन्।
पहिले जमेको अवस्थमा नुनिलो पानी भेटिएको ठाउँमा अहिले पानी बगेको धर्सा देखिएकाले त्यहाँ बगेको अवस्थामा पानी रहेको पुष्टी हुने वैज्ञानिक ओझाले बताएका छन्। चिसो समयमा जमेको पानी गर्मी लाग्दै गएपछि तलर बनेर बगेको वैज्ञानिकको दाबी छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

