
|
|
काठमाडौं, भदौ ३० । आज हिन्दू महिलाहरुको महान पर्व मानिने हरितालिका तीज, नेपाली हिन्दू महिलाहरुले उल्सासका साथ मनाउादैछन् ।नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । बिहानैदेखि देशभरकिा शिवालयहरुमा महिलाहरुको भीड लागेको छ ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ। यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ।
यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।
हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ।
काठमाडौको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हिन्दु नारीको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दु नारी निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बसेका छन्।
भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरून्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नपिई निर्जल वा निराहार बस्ने व्रत भएकाले हिजो साँझ नाची(गाई रमाइलो गरी दरका रूपमा मीठा(मीठा परिकार खाने चलन पनि छ ।
नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाका धार्मिकस्थलमा पुगेका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

