
|
|
खाडी मुलुक कुवेतमा बंगलादेशी नागरिकलाई रोजगारीमा जान प्रतिबन्ध छ। तर, सयौँ बंगलादेशी त्यहाँ कार्यरत छन्। आफूहरू नेपाली भएको भन्दै झुक्याएर उनीहरू कुवेतमा काम गर्दै आएका छन्।
नेपाली भएको भनेर ढाँट्ने मात्र होइन, उनीहरूले नेपाली पासपोर्ट नै प्रयोग गर्दै आएका छन्। नेपाली पासपोर्ट खरिद गरी सयौँ बंगलादेशी कुवेतलगायतका खाडी देशमा कार्यरत छन्। तीमध्ये एक हुन्– मोहम्मद वोहार ।
जो यतिवेला महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। दुई वर्षअघि उनी बंगलादेशबाट कतार गएका थिए। कतारबाट कुवेत जाने क्रममा उनी मोहम्मद वोहारबाट रामकुमार साह बने। मानव तस्करीमा संलग्न गिरोहले नेपाली नागरिक रामकुमार साहको पासपोर्टमा उनको फोटो टाँसिदिए र उनलाई कुवेत पठाए।
दुई वर्षसम्म कुवेत बसेर गत महिना बंगलादेश फर्कंदै थिए। कुवेतस्थित एयरपोर्टमा कुन देशबाट आएको भनेर अध्यागमनका अधिकारीले सोध्दा उनले आफू बंगलादेशबाट आएको बताए। तर, उनको हातमा नेपाली पासपोर्ट थियो। शंकास्पद लागेपछि त्यहाँको अध्यागमनले उनलाई नेपाल डिपोर्ट गरी पठाएको थियो।
नेपालमा अध्यागमन विभागले अध्यागमन ऐनअनुसार उनलाई मुद्दा चलाएकोमा उनी धरौटी तिरेर छुटे।
नेपाली पासपोर्टमा किर्ते गरेकाले विभागले थप अनुसन्धान र कारबाहीका लागि गत साता काठमाडौं परिसरमा पठाएको हो। सरकारी दस्तखत छाप किर्ते मुद्दामा उनीमाथि छानबिन भइरहेको परिसरका डिएसपी दिनेश आचार्यले बताए। पचरवा–६ धनुषाका रामकुमार साहको पासपोर्टमा उनले कुवेतमा दुई वर्ष काम गरेका थिए। उनीजस्ता सयौँ बंगलादेशी कुवेतमा नेपाली पासपोर्टमा काम गर्दै आएको खुलेको छ। अर्का एक बंगलादेशी युवती अध्यागमन विभागको हिरासतमा छिन्।
मौनिती नाम गरेकी ती युवती पर्वतकी प्रविना पुन लामिछानेको पासपोर्टमा साउदी अरेबिया गएकी हुन्। भारतमा दलालहरूले उनलाई नेपाली बनाएर साउदी पठाएका थिए। नेपाल फर्कने क्रममा उनी बंगलादेशी भएको खुलेपछि अध्यागमनले कारबाही प्रक्रिया अघि बढाएको हो।
आजको नयाँ पत्रिका दैनिक बाट

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

