
|
|
बागलुङ—बागलुङ क्षेत्र नं २का सभासद प्रकाश शर्मा पौडेलले नेपाली जनताको दशकौँ वर्षदेखि संविधान बनाउने चाहाना पुरा भएको बताएका छन् । जनताले संविधान बनाउन दिएको अभिभारा अनुसार ‘नेपालको संविधान २०७२’ जारी हुने सुनिस्चित भएको भन्दै नेपाली कांगे्रस बागलुङका सभापति समेत रहेका सभासद पौडेलले संविधान निर्माणमा सघाउने सबैलाई धन्यवाद दिएका छन् । सभासद पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी जनताका भावनालाई सम्बोधन गरी ‘नयाँ संविधान’ जारी गर्ने भन्दा खुसीको खबर अरु केही हुन नसक्ने बताएका छन् ।
‘नेपालको संविधान २०७२’मा ‘समग्र बागलुङ’लाई प्रदेश नं ४मा राख्ने प्रस्ताब बहुमतले पारित भई संविधानमा लिपिबद्ध भएको उनले प्रकाशित विज्ञप्तिमा उल्लेख छ । सभासद पौडेलले ‘सिंगो बागलुङ’ प्रदेश नं ४मा राख्न दबाब दिन आन्दोलनमा लाग्ने बागलुङ जिल्ला सहित धौलागिरीबाट संविधान सभामा प्रतिनीधित्व गर्ने १७ जना सभासद, जिल्लामा क्रियाशिल सवै राजनीतिक दल, विभिन्न पेशा व्यवसाय गर्ने उद्योगी—व्यापारी, शिक्षक, विद्यार्थी, पत्रकार,कानुन व्यवसायी, विभिन्न संस्था, कर्मचारी सहित सम्पूर्ण बागलुङबासी सहित प्रमुख दलको शीर्ष नेतृत्व लगायत सिङ्गो बागलुङको पक्षमा मतदान गर्ने सबै सभासदलार्य धन्यवाद ज्ञापन गरेका छन् ।‘असोज ३ गते संविधान जारी हुने निस्चित भएको भन्दै संविधानका सबै धारा पारित भइ संविधान जारी गर्ने सुनिस्चित भएकोले उल्लासमय रुपमा दीपावल मनाउन पनि आग्रह गर्दछु ,’ पौडेलद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । उनले संविधानमा छुट भएका विषयबस्तुलाई समाविष्ट गर्न सक्ने लोकतान्त्रिक विधी कायमै रहेकोले सबैका माग सम्बोधन नभएको भए पनि निरास नहुन आग्रह गरेका छन् ।
प्रेस विज्ञप्ति
नेपाली जनताले ‘संविधान निर्माण गर्न’ हामीलाई दिएको अभिभारा अनुसार ‘नेपालको संविधान २०७२’ का धारा पारित भैसकेका छन् । संविधान जारी गर्ने दिन नजिकै आइपुगेको छ । संविधान सभाको निर्वाचनमा नागरिकले दिएको मतबाट विजयी भएका हामी संविधान सभा सदस्यलाई दशकौँ देखिको नेपाली जनताको चाहाना अनुसार जनप्रतिनीधिले जनताका भावनलाई सम्बोधन गरी ‘नयाँ संविधान’ जारी गर्ने भन्दा खुसीको खबर अरु केही हुन सक्दैन ।
संविधान सभामा जनताले पठाएदेखि संविधान सभाका हरेक काममा सर्तकर्ताका साथ सक्रिय सहभागिता सहित ‘रचनात्मक भूमिका’ निर्वाह गर्दै आएका छौँ । मुलुक संघीय संरचनामा जाने क्रममा सात प्रदेशमा लैजाने निर्णय सँगै ‘बागलुङ’ जिल्लालाई दुई भागमा विभाजन गरी पूर्वी क्षेत्रलाई प्रदेश नं ४ र पश्चिम क्षेत्रलाई प्रदेश नं ५मा राख्ने प्रस्ताव सार्वजनिक भएसँगै हामी सभासद समग्र जिल्लाबासीको आत्मसम्मान र भावनामा ठेश पुग्यो । हामी जनप्रतिनीधिलाई जानकारी नदिई शीर्ष नेतृत्वले गरेको निर्णय अस्विकार गर्ने र समग्र बागलुङलाई ‘प्रदेश नं ४’मा राख्नुपर्ने माग सहित आन्दोलित भयौँ ।
बागलुङ जिल्ला सहित धौलागिरीबाट संविधान सभामा प्रतिनीधित्व गर्ने १७ जना सभासद, जिल्लामा क्रियाशिल सवै राजनीतिक दल, विभिन्न पेशा व्यवसाय गर्ने उद्योगी—व्यापारी, शिक्षक, विद्यार्थी, पत्रकार,कानुन व्यवसायी, विभिन्न संस्था लगायत सबै नागरिक एकजुट भएर ‘जिल्लादेखि संविधान सभासम्म’ आन्दोलनमा होमिए पछि बागलुङबासीको माग सम्बोधन भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका प्रमुख सचेतकले बागलुङका जनताको माग सम्बोधन गर्दै दर्ता गराएको शंसोधन प्रस्ताबसँगै संविधान सभामा भएको मतदानमा ‘नेपालको संविधान २०७२’मा ‘समग्र बागलुङ’लाई प्रदेश नं ४मा राख्ने प्रस्ताब बहुमतले पारित भई संविधानमा लिपिबद्ध भएको छ ।
‘बागलुङलाई सिंगो’ राख्न गरिएको आन्दोलनमा एकजुट भएर महत्वपूर्ण भुमिका निर्वाह गर्ने बागलुङ जिल्ला सहित धौलागिरीबाट संविधान सभामा प्रतिनीधित्व गर्ने १७ जना सभासद, बागलुङमा क्रियाशिल सवै राजनीतिक दल तथा भातृ , शुभेच्छुक संस्था, विभिन्न पेशा व्यवसाय गर्ने उद्योगी—व्यापारी, शिक्षक, विद्यार्थी, पत्रकार,कानुन व्यवसायी, गैर सरकारी संस्था, कर्मचारी लगायत बागलुङका सवै नागरिक, बागलुङ बाहिर रहेर ‘एकीकृत बागलुङ’को पक्षमा लविङ गर्ने देश विदेशमा रहेका शुभेच्छु तथा शुभचिन्तकप्रति विशेष धन्यवाद व्यक्त गर्दछु । यो अभियानमा काठमाण्डौमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बागलुङ जिल्ला र धौलागिरी अञ्चल सहित विभिन्न जिल्लाबाट संविधान सभामा प्रतिनीधित्व गर्ने सभासदहरु र बागलुङबासीको भावनाको उच्च सम्मान गर्दै निर्णयार्थ पेश गर्ने शीर्ष नेतृत्वप्रति विशेष आभार व्यक्त गर्दछु । ‘असोज ३ गते संविधान जारी हुने निस्चित भएको छ । संविधानमा छुट भएका विषयबस्तुलाई समाविष्ट गर्न सक्ने लोकतान्त्रिक विधी कायमै रहेकोले सबैका माग सम्बोधन नभएको भए पनि निरास नहुन आग्रह गर्दछु । संविधानका सबै धारा पारित भइ संविधान जारी गर्ने सुनिस्चित भएकोले उल्लासमय रुपमा दीपावल मनाउन पनि आग्रह गर्दछु । जयनेपाल ।
प्रकाश शर्मा पौडेल
संविधान सभा सदस्य—बागलुङ क्षेत्र नं २
एवं सभापति —नेपाली कांगे्रस, बागलुङ
मिति२०७२भदौ ३०
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

