
|
|
श्रीमानले उपहार नदिएकोमा नायिकाको चित्त दुख्यो
चिरञ्जीवी पौडेल
नायिका करिश्मा मानन्धरलाई मनपर्ने पर्व हो तीज । त्यसो त उनलाई जूनसुकै पर्वहरु मन पर्छन् । भन्छिन्, ‘मलाई रमाइलो गर्न मन लाग्छ, त्यसैले जुनसुकै चाडपर्वमा रमाउँछु ।’
जब सानी थिइन् करिश्मा, तीजको दिन राति दुई बजे उठेर पशुपतिनाथको मन्दिरमा लाइन लाग्न पुग्थिन् । आधा दिन व्रत पनि बस्थिन् ।
किन आधा दिन मात्रै ? बाँकी आधा कसले बसिदिन्थ्यो ?
‘ब्रत बस्न रहर लागेर बिहान केहि नखाइ बस्थेँ । तर दिउसो भएपछि भोकले पेट बटार्न थाल्थ्यो । अति तीज न सिज, बर्त न सर्त भनेर कापकुप खाइदिन्थेँ,’ उनी सुनाउँछिन् ।
तीजमा मिसावट आयो
करिश्माको नजरमा अहिलेको भन्दा पहिलेका तीजहरु रमाइला थिए । ‘पहिले तीजको महत्व बेग्लै हुन्थ्यो । बिहे गरेर टाढा टाढा पुगेका दिदीबहिनीहरु माइती आउने, सुखदुख साट्ने अवसर यही थियो । त्यतिबेलाको तीजमा प्यूरिटी -शुद्धता) हुन्थ्यो । अहिले त चाडवाडमा पनि मिसावट छ ।’
हो नि त । आजकालको तीजमा खानादेखि गानासम्ममा मिसावटै मिसावट छ । दरका नाममा महिलाहरुले दारु खान थाले । साँच्ची करिश्माको दरमा दारु हुन्छ कि नाई ?
‘नाई,’ उनले जवाफ दिइन्, ‘आजकाल प्राय दिउसै दर खाइन्छ । दर खाइसकेर ड्राइभ गर्नुपर्छ । फेरि म ड्रिङ्स भनेपछि हुरुक्क हुने पनि होइन ।’
करिश्मालाई दरमा के खान मन पर्छ ?
श्रीमानको गोडा ढोग्दिँन
तीजमा एक थोपा पानी नखाइकन श्रीमानका लागि ब्रत बस्ने ‘पतिव्रता’ नारीहरु अझै पनि छन् । तर, करिश्मा ती नारीमा पर्दिनन् । ‘म पनि तीजमा व्रत बस्छु । तर भोको पेट लिएर होइन, टन्न खाएर बस्छु ।’
‘टन्न खाएर’ व्रत बस्ने करिश्माले तीजको दिन श्रीमानको खुट्टा ढोग्दिहुन् कि नाई ?
‘अहँ ढोग्दिनँ,’ उनले एक महिलावादीको भाकामा भनिन्, ‘श्रीमान र श्रीमतीको सम्वन्ध भनेको समानताका आधारमा हुनुपर्छ । यदि श्रीमतीले ढोग्ने हो भने श्रीमानले पनि ढोग्नुपर्छ ।’
(कल्पना गरौं, करिश्माको गोडामा विनोदले ढोगेको दृश्य कस्तो देखिँदो हो ? पत्नीको गोडाको पानी खाइरहेका माधव नेपाल कस्ता देखिँदा हुन् ?)
करिश्मा थप व्याख्या गर्न थालिन्, ‘श्रीमान र श्रीमतीको सम्वन्ध भनेको सीमारहित हुन्छ । माया-प्रेम छ भने जहाँ-जहाँ ढोग्दा पनि भयो, नत्र ढोगेर मात्रै सम्वन्ध गाढा हुने होइन ।’
त्यसो त उनले आजसम्म श्रीमानको खुट्टै नढोगेकी भने होइनन् । दशैंमा टीका लगाउँदा अन्य मान्यजनलाई जस्तै श्रीमानको पाउमा पनि शीर राख्ने गरेको उनले बताइन् । ‘तर तीजमा चाहिँ आजसम्म ढोगेकी छैन,’ उनले भनिन् ।
‘तीजमा राम्रा पक्ष र नराम्रा पक्ष के हुन् ?’ एउटा परम्परागत प्रश्न करिश्मालाई । जवाफका लागि सायद पहिल्यै तयार थिइन् ।
‘राम्रो पक्ष भनेको आफ्नो परिवार र साथीभाइसित जमघट हो । म त खानाको भन्दा पनि भेटघाटको बढी मज्जा लुट्छु । नराम्रो पक्ष चाहिँ….’ उनी अड्किइन् । एकछिनपछि भनिन्, ‘त्यस्तो केही छैन ।’
नाच्न जाँगर चल्दैन
तीजगीतको सन्दर्भ निस्कियो । ‘आजकालका तीजगीतहरु अर्कै-अर्कै खाले छन्,’ करिश्माले भनिन् । अर्कै-अर्कै भन्या के ?
‘पहिलेभन्दा डिफरेन्ट क्या,’ उनी उही शब्दलाई अंग्रजीमा भनिन्, ‘पहिलेका तीज गीतमा सासु-बुहारीका कुरा हुन्थे । छोरीचेलीका गन्थन हुन्थे । अचेल समय पनि फेरिएको भएर होला, तीजगीत पनि त्यस्तै छन् ।’
करिश्मालाई मनपर्ने तीजगीत हो उही पुरानो ‘तीजको रहर आयो बरिलै… ।’ फिल्म कन्यादानको यो गीत उनी जति सुने पनि अघाउँदिनन् रे । यो गीतको रिमिक्समा करिश्मा नाचेकी पनि छिन् ।
‘यसमा छुट्टै मेलोडी छ क्या । मलाई त तीज भन्नासाथै यही गीत याद आउँछ ।’
‘भनेपछि करिश्मालाई अहिलेका तीजगीत कुनै पनि मन पर्दैन ?’ ऋषि धमला स्टाइलमा सोधियो ।
‘मैले अहिलेका मन पर्दैन भनेँ र ?’
कुन छ त मन पर्ने ?
‘ठ्याक्कै याद भएन । तर धेरै छन्,’ उनले टुंग्याइन् ।
गानापछि नाचको कुरा । तपाइर्ं सोच्नुहुँदो हो, तीजमा करिश्मा कसरी उफ्री उफ्री नाच्दिहुन् । तर करिश्मालाई तीजमा नाच्न अल्छी लाग्छ पर्दैन । तर, ननाचिकन सुख देलान् त अरुले ?
‘त्यहि भएर त म आजकाल तीजका धेरै कार्यक्रम अभोइड गर्छु नी, यसपाली अहिलेसम्म दुईपटक मात्रै दर खाएकी छु । त्यो पनि नाचगानवाला दर होइन । सामान्य गेट टुगेदर मात्रै ।’ उनी एउटा आफन्तहरुको र अर्को साथीभाइको जमघटमा सहभागी भएकी हुन् ।
नाच्न किन नाँच्न जाँगर मरेको हो ? कि बुढेसकाल लाग्यो ? (यो प्रश्न सोधिएन)
त्यसो त उनी केहि दिनयता डान्सको रिहर्सल गरिरहेकी छिन् । तर यो तीजको लागि होइन । भूकम्पपिडितको सहयोगार्थ अक्टोबरमा हङकङमा आयोजना हुने कार्यक्रमको तयारी गरिरहेको उनले बताइन् ।
माइती र घर आमने-सामने
यसपालिको तीजमा करिश्मालाई खासै उल्लास छैन । परिवारमा शोक परेकाले घरमा दर खुवाउने कार्यक्रम भएन । ‘मेरो सिस्टर इन लको हसबेन्ड एक्सपायर हुनुभएकाले यसपालि घरमा दर भएन,’ उनले सुनाइन् ।
उनको माइती र घर छेउछाउमै छन् । त्यसैले चाडवाडमा मेरीबास्सैकी सुन्तलीकै जस्तो अवस्था हुन्छ उनको । ‘हिजो आमाले दर खान आउदिनस् भनेर सोध्दै हुनुहुन्थ्यो । तर, यत्तिकै भयो ।’
श्रीमानले दिएनन् उपहार
करिश्मालाई रातो साडी लगाएर झमझम् गर्दै हिँड्न मन पर्छ । गरगहनामा चाहिँ धेरै ‘इन्ट्रेस्ट’ छैन । ‘विभिन्न कलरको छड्कै तिलहरी र चुरा टीका लगाउँछु । झ्याप्पै गहनाले पुरिएर हिँड्न चाहिँ मन पर्दैन,’ उनले भनिन् ।
तीजलाई भनेर खासै सपिङ गर्ने चलन पनि खासै छैन करिश्माको । ‘म त तीजमा आफ्नो लागि खासै सपिङ गर्दिन,’ उनले भनिन्, ‘लुगाफाटो सधैं किनिएकै हुन्छ । तीजमा लगाउन खाँचो हुँदैन ।’
विनोद दाईले किनिदिन्छन् होला नी त ?
‘अहँ’ करिश्माले चित्त दुखाइ गर्दै भनिन्, ‘आजसम्म यो त झन् रेकर्ड नै छैन । तीजमा मात्रै होइन, कहिल्यै पनि गिफ्ट दिनुहुन्न । उहाँलाई गिफ्ट दिँदा श्रीमती कति खुशी हुन्छन् भन्ने फिलिङ्स नै छैन । नपत्याए उहाँलाई नै सोध्नुस त एकचोटि ।’
यति राम्री श्रीमतीलाई कहिल्यै उपहार नदिनु भनेको त माल पाएर चाल नपाएको जस्तो भएन र ? भनेर सोधेको भए विनोदले के जवाफ दिँदा हुन् कुन्नि ?

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

