
|
|
म्याग्दीको सदरमुकाम बेनीमा आइतबार महिला उद्यमशिलतासम्बन्धी सन्देशमूलक तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा हरितालिका तीजको अवसरमा प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा सहभागीहरुले तिजी भाकामा ‘महिला उद्यमशिलता’ विषयमा आधारित रहेर आआफ्नो तीजगीत गाएका थिए । महिला अब त्यसै नबसौं, उद्यम गरौं, उद्यमी बनौं, देश विकासमा सहयोग पु¥याऔं, आर्थिक विकास गरौं, उद्योग व्यापार र व्यवसाय शुरु गरौं, स्वदेशमै रोजगारको सिर्जना गरेमा अमेरिका यही छ, आयआर्जन गरी आत्मनिर्भर बन्नुपर्छ, नेपाली कला र संस्कृतिमा टेवा पु¥याऔंजस्ता सन्देशहरु गीतमार्फत दिइएको थियो ।
तीजगीत प्रतियोगितामा कुल २० टिम सहभागी भए पनि १७ टिमले मात्रै गीत गाएका थिए । तीमध्ये विभा ढुङ्गाना र अमृता श्रीपालीको समूह प्रथम, अपाङ्ग संघ म्याग्दीका सन्ध्या छन्त्याल र ममसरा विक द्वितीय, बागलुङ धम्जा २ का अनिता थापाको समूह तृतीय तथा प्रजु विकको समूह र बेनपा ११ भिरमुनीका राजकुमारी परियार र ममता परियारको समूह सान्त्वना भएका थिए ।
प्रथम हुनेलाई १५ हजार बराबरको सुनको जन्तर र प्रमाणपत्र, द्वितीयलाई १० हजार बराबरको सुनको तिलहरी र प्रमाणपत्र, तृतीयलाई ७ हजार बराबरको सुनको चन्द्रमा र प्रमाणपत्र तथा सान्त्वनालाई २ हजार रुपैयाँ नगद पुरस्कारले पुरस्कृत र सम्मान गरिएको थियो ।
पुरस्कारको क्रमशः जीवन सुनचाँदी दुकान, जयमाँ लक्ष्मी सुनचाँदी दुकान, लक्ष्मी इन्जिनियरिङ एण्ड डेभलपमेन्ट सेन्टर, लायन्स क्लब अफ म्याग्दी–दोभान, नेशनल मनी ट्रान्सर्फर, रोमन फेसन शप र श्रेष्ठ टाइम एण्ड साउण्ड सिस्टमबाट सौजन्य भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जिल्लाको उद्योग व्यापारको प्रचारप्रसारसँगै कला र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका थिए । उनले महिला दिदीबहिनीहरुलाई कम खर्चमा धेरै रमाइलो हुनेगरी तीज पर्व मनाउन आग्रह गर्दै महिला उद्यमीहरुको कार्यक्रमलाई जिविसको सहयोग रहने बताए ।
सोही कार्यक्रममा बोल्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले उद्योग वाणिज्य संघले जिल्लाको कला संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्दै आइरहेको बताएका छन् । कार्यक्रममा राजनीतिक दलको तर्फदेखि नेपाली काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मीले बोलेका थिए ।
उक्त प्रतियोगिताको नेपाल पत्रकार महासंघ म्याग्दीका केन्द्रीय पार्षद एवं धौलागिरि टेलिभिजनका सञ्चालक प्रकाश पौडेल, म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र लोकगायिका धनकुमारी थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
विजयी तथा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकर्मा, महिला उद्यम विकास समिति सभापति अमृता भण्डारी, लायन्स क्लब म्याग्दी दोभानका कोषाध्यक्ष अम्बिका श्रेष्ठ र प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रम महिला उद्यम विकास समितिका सभापति भण्डारीको अध्यक्षता, आमन्त्रित केन्द्रीय सदस्य सिर्जना श्रेष्ठको स्वागत र महासचिव लक्ष्मी भण्डारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

