Home » » माओवादी पूर्वलडाकूहरु पनि लिम्बुवान आन्दोलनमा होमिने

माओवादी पूर्वलडाकूहरु पनि लिम्बुवान आन्दोलनमा होमिने

लिम्बुवान आन्दोलनमा पूर्व माओवादी लडाकुहरूले पनि ऐक्यबद्धता जनाएका छन् । उनीहरूले पहिचानको मुद्दा नै जारी राजनीतिक संक्रमण अन्त्यका लागि प्रस्थानविन्दु हुने समेत बताएका छन् ।

दश वर्षे सशस्त्र युद्धको मुख्य एजेन्डालाई नेतृत्वले एकपछि अर्को गर्दै छाडेको भन्दै पूर्व जनमुक्ति सेना, नेपाल (क्रान्तिकारी) ले पूर्वमा उठिरहेको लिम्बुवान आन्दोलनलगायत देशभरका पहिचानको आन्दोलनलाई नजिकबाट नियालिरहेको बताएको छ ।



लिम्बुवान संयुक्त सङ्घर्ष समितिले नेतृत्व गरिरहेको लिम्बुवानको आन्दोलनमा आवश्यक परे जस्तोसुकै राजनीतिक सहयोग प्रदान गर्ने सङ्गठनका संयोजक सूर्य खड्काले बताएका छन् । उनले सङ्घर्ष समितिसँग एकअर्काका मुद्दामा सहकार्य गर्न समेत संवाद भइरहेको उल्लेख गरेका छन् ।

‘प्रचण्डले जनयुद्धका सबै मुद्दा छाडिसके । उत्पीडित समुदाय र भूगोलको आन्दोलन ज्यूँका त्यूँ छ । हामी पहिचानको आन्दोदनमा सशक्त ऐक्यबद्धता जाहेर गर्दछौं,’ संयोजक खड्काले भने ।

त्यसैगरी, प्रवक्ता दीपक दाहालले पूर्वलडाकूहरूलाई राज्यले दोस्रो दर्जाका नागरिकसरह व्यवहार गरेको आरोप लगाए ।

‘हाम्रै बलिदानका कारण पार्टीहरू सत्तामा पुगेका छन् । राजनीतिक एजेन्डा पाएका छन्,’ उनले तीतो पोखे, ‘तर, हामीलाई दोस्रो दर्जाका नागरिकजस्तै व्यवहार गरिएको छ ।’

उनले आफूहरूलाई पनि अवकाशप्राप्त नेपाली सेनासरह मान्यता र सुविधा दिन माग गरे ।

दुई पक्षीय संवाद भएको पुष्टि गर्दै राजनीतिक विश्लेषक एवम् सङ्घर्ष समितिका सदस्य भवानी बरालले लिम्बुवान आन्दोलनमा एकाकार हुने विषयमा छलफल भएको बताए । उनका अनुुसार पूर्वमा करिब दुई सयको सङ्ख्यामा पूर्वलडाकूहरू रहेको जानकारी दिए ।

विश्लेषक बरालले केही दिनभित्र पूर्वलडाकूहरूसँग लिम्बुवान आन्दोलनमा सहकार्य गर्ने विषयमा ठोस वार्ता हुने बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}