
|
|
काठमाडौं-तीन लाख रुपैयाँका लागि नेपाली राष्ट्रिय फुटबल टिम नै बिकेको तथ्य खुलेको छ । ‘म्याच फिक्सिङ’ गराउने अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपाली फुटबलरहरूले साफ च्याम्पियनसिपमा तीन हजार ६१ डलर लिएर विपक्षी टिमलाई खेल जिताएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिपमा पूरै टिमले तीन हजार ६१ अमेरिकन डलर लिएर मिलेमतोमा खेल हारेका थिए । उक्त पैसा दामासाहीका आधारमा खेलाडीहरूले बाँडेर लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
प्रहरीले ‘म्याच फिक्सिङ’मा फुटबलका राष्ट्रिय कप्तान सागर थापासहित पाँचजनालाई पक्राउ गरेको थियो । थप अनुसन्धानमा उनीहरूले बुकीहरूबाट लिएको रकम खुलेको प्रहरीले जनाएको छ । राष्ट्रिय टिमका गोलरक्षक रितेश थापा, राष्ट्रिय खेलाडी सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसी पक्राउ परेका हुन् । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ ।
तर, अदालत बन्द भएकाले थुनामा राख्ने आदेश भने प्रहरीले लिन पाएको छैन । पक्राउ परेकाहरूले ‘म्याच फिक्सिङ’ गराएबापत पैसा लिएको स्विकारेका छन्, तर को–को संलग्न छन् भन्ने विषयमा नबोलेको प्रहरी स्रोत बताउँछ । ‘उनीहरूले झन्डा लिई राष्ट्रको नाममा शपथ खाएर अन्तर्राष्ट्रिय एजेन्टहरूसँग मिली खेलेका खेलहरू देशको स्वाभिमान र जनताको आत्मसम्मानमा चोट पुर्याएकाले पक्राउ गरी राज्यविरुद्धको अपराधअन्तर्गत कारबाही अघि बढाएका छौँ,’ एसएसपी खनालले भने, ‘म्याच फिक्सिङमा संलग्न अन्यको खोजी भइरहेको छ ।’
सिंगापुरमा मोस्ट वान्टेड बुकी विल्सनराज उडल्यान्डसँग मिलेर उनीहरूले ‘म्याच फिक्सिङ’को धन्दा गरेका थिए । विल्सनराजले लेखेको किताबमा कसरी उनले नेपाली खेलाडीलाई किने भन्ने कुरा उल्लेख छ । टिटानी पेरियासामी, तामम पेरमाटा, केसाभान पाटानजस्ता एजेन्टहरूसँग मिलेर ‘म्याच फिक्सिङ’ गरिएको थियो । मनी ट्रान्सफरमार्फत उनीहरूले नेपालमा पैसा पठाउँदै आएका थिए । विल्सनराजले त केही वर्षअघि काठमाडौं आएर खेलाडीसँग दरबारमार्गको होटेलमा भेटेकोसमेत प्रहरीले पत्ता लगाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

