
|
|
शम्भु कट्टेल/गोविन्द रेग्मी | २०७२ आस्विन २८ बिहीवार
काठमाडौं: म्याच फिक्सिङ (खेल मिलेमतो) गरेर मुलुकको प्रतिष्ठामा आँच पुर्याएको आरोपमा प्रहरीले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले बुधबार कप्तान थापासहित राष्ट्रिय टोलीका खेलाडी रीतेश थापा, सन्दीप राई र विकाससिंह क्षेत्री तथा पूर्वखेलाडी अञ्जन केसीलाई पक्राउ गरेको हो।पाँचैजना प्रहरी हिरासतमा छन्।
थापासहितका खेलाडीले सन् २००८ देखि सन् २०१४ को बीचमा भएका अधिकांश अन्तर्राष्ट्रिय प्रतियोगितामा ठूलो धनराशि लिएर विपक्षी टोलीलाई जिताउन सहयोग गरेको स्रोतले बताएको छ। मलेसिया, बंगलादेश, अफगानिस्तान, इराक, फिलिपिन्सलगायतका राष्ट्रसँग भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीहरूले खेल मिलेमतो गरेको स्रोतले बतायो।
खेलाडीले खेल मिलेमतो गरेबापत प्रतिखेल पाँच हजार अमेरिकी डलरसम्म लिने गरेको स्रोतको दाबी छ। महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले खेल मिलेमतो गरेको गोप्य सूचनाका आधारमा खेलाडीलाई पक्राउ गरिएको बताए।
खनालले अन्नपूर्णसँग भने, ‘म्याच फिक्सिङ भएको बलियो प्रमाण र तथ्यहरूका आधारमा खेलाडीलाई पक्राउ गरेका हौं। थप अनुसन्धान भइरहेको छ।'
प्रहरीले कप्तान थापालाई थापाथली, रीतेश र राईलाई बालुवाटार तथा क्षेत्री र केसीलाई जाउलाखेलबाट पक्राउ गरेको हो।
'मुलुकको प्रतिनिधित्व गर्दै खेल्न गएका खेलाडीले देशको इज्जत र प्रतिष्ठाको ख्यालै नगरी व्यक्तिगत स्वार्थका लागि मुलुकको छवि धमिल्याउने काम गरेको अनुसन्धानले देखाएको छ', एसएसपी खनालले भने।
यी खेलाडीले १६ देखि २३ वटा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप छ।
पक्राउ परेकामध्ये अञ्जनको काठमाडौंको एक क्यासिनोमा समेत लगानी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ गरेका खेलाडीलाई राज्यविरुद्घको अपराधमा कारबाही अघि बढाउन सकिने स्रोतले जनाएको छ।
पदाधिकारी पनि तानिन सक्ने
खेल मिलेमतोमा अखिल नेपाल फुटबल संघ (एन्फा) कै जिम्मेवार पदाधिकारीसमेत संलग्न रहेको एन्फा निकट स्रोतको दाबी छ।
'खेलाडीलाई मैदानमा उतार्दा पदाधिकारीले नै खेलाडीलाई मिलेमतो गर्न लगाएर आर्थिक लाभ लिने काम नेपाली फुटबलमा धेरै पहिलेदेखि हुँदै आएको छ', स्रोत भन्छ।प्रकाउ परेका खेलाडीले १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको बताइएको छ, जसमा उमेर समूहदेखि मैत्रीपूर्ण खेल र विश्वकप छनोटजस्ता ठूला प्रतियोगितासमेत छन्।
सन् २००८ देखि खेलिएका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा नेपालको खेल शंकास्पद देखिएको सञ्चारमाध्यमले पनि खुलासा गर्दै आएका थिए।नेपाली खेलाडीले खेल मिलेमतो गरेको विषयमा एसियाली फुटबल महासंघ (एएफसी) ले समेत निकै अघिदेखि निगरानी गर्दै आएको थियो।
नेपालले हरेक खेलमा अस्वाभाविक नतिजा निकाल्ने गरेपछि एएफसीको छड्के आँखा नेपाली फुटबलमा परेको हो।सन् २०११ मा भएको विश्वकप छनोटमा नेपालले जोर्डनसँगको अवे गेममा ९-० को लज्जास्पद हार भोगेको थियो। तर काठमाडौंमा भएको होम गेममा भने नेपालले १-१ गोलको बराबरी नतिजा निकाल्नु आफैंमा शंकास्पद थियो।
एक वर्षअघि दक्षिण कोरियामा सम्पन्न १७ औं एसियाडमा समूह चरणको सबै खेलमा लज्जास्पद हार खेपेको नेपाललाई त्यतिबेलै खेल मिलेमतो गरेको आरोप लागेको थियो। सागर उक्त टोलीमा पनि थिए । नेपालले खेलेका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा समेत मिलेमतो हुने गरेको स्रोतले बतायो।
दोहामा एक वर्षअघि फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा समेत खेल मिलेमतोका लागि ४० हजार अमेरिकी डलर लेनदेन भएको स्रोतको दाबी छ । ‘मिलेमतो गर्दा एजेन्टमार्फत खेलाडीको व्यक्तिगत बैंक खातामा पैसा आउने गरेको छ । नेपाली खेलाडी धेरैअघिदेखि विदेशी एजेन्टसँग सम्पर्कमा रहने गरेका थिए’, स्रोत भन्छ।
विदेशी सञ्चारमाध्यमले नेपालको खेल मिलेमतोका विषयमा खुलासा गरेपछि एन्फाका जिम्मेवार पदाधिकारीले मिलेमतोबारे बैठक बोलाएर छलफलसमेत गरेका थिए। तर छलफलमा एन्फा पदाधिकारीले खेलाडीलाई म्याच फिक्सिङबारे बाहिर हल्ला नगर्न र चुपचाप बस्न दबाब दिँदै आएको एन्फा निकट स्रोतले बतायो।
एसियाडमा खेल मिलेमतो भएको विषयमा संसद्को सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो।मिलमेतोको आरोपमा पक्राउ परेका ३१ वर्षीय सागर सन् २००९ देखि राष्ट्रिय टोलीका कप्तान छन्।
थापाले सन् २००३ मा राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका थिए। सागरसँगै राष्ट्रिय टोलीमा 'डेब्यु' गरेका ३१ वर्षीय रीतेश नेपाल प्रहरीका असई हुन्।अर्का आरोपित सन्दीप राई सन् २००८ देखि राष्ट्रिय टोलीमा आबद्घ छन्।
टोलीका भरपर्दा रक्षक २६ वर्षीय राई हाल थ्रीस्टारबाट व्यावसायिक फुटबल खेल्छन्। क्षेत्रीले भने सन् २०११ देखि राष्ट्रिय टोलीमा प्रवेश पाएका थिए । थ्रीस्टारका पूर्वखेलाडीसमेत रहेका क्षेत्रीले अघिल्लो लिगमा मनाङबाट व्यावसायिक फुटबल खेलेका थिए।
पछिल्लो समय प्रशिक्षकको भूमिकामा देखिएका अञ्जन केसीले सन् २००५ देखि राष्ट्रिय टोलीमा खेलेका थिए। खुट्टाको चोटमा कारण उनी सन् २०१३ देखि खेलाडी जीवन त्यागेर थ्रीस्टारको प्रशिक्षक थिए। केही अघिमात्र केसीले थ्रीस्टारको प्रशिक्षकबाट राजीनामा दिएका थिए।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

