Home » » इजरायलबाट आमाको चिठी, ‘माफ गर छोरी, आउन पाइँन’

इजरायलबाट आमाको चिठी, ‘माफ गर छोरी, आउन पाइँन’

प्यारी छोरी नम्रता,
अपार माया र प्रेम अनि सम्झना ।
नम्रता, मनमनै गुम्सिएका र बहकिएका मेरा भावनाहरू कहाँबाट, कसरी सुरुवात गरौं ? दुबिधामा छु । खैर, आज यो बिरानो मुलुकबाट तिम्रो सम्झनाले सताएर यो पत्र लेख्न विवश छु । तिमीलाई मैले गर्ने माया र ममता यो पत्रमा लेखेर व्यक्त गर्ने त्यति शब्द पनि छैनन् । लेख्न पनि सक्दिँन ।
यो मायालाई नाप्ने र तौलने यन्त्र पनि बनेका छैनन् ।

भइदिएको भए यति केजी छ भनेर पठाउँथे । जेहोस् तिमीप्रति मेरो प्रगाढ माया र प्रेम छ ।
सर्बप्रथम आराम छु । तिमीलगायत सम्पूर्ण घरपरिवार, छरछिमेकको आरामको कामना गर्दछु । पत्र लेख्नाको खास कारण केही नभएतापनि प्यारी छोरी नम्रताको असिमित याद एकछिन थाम्नका लागि र बहकिइरहेको मनलाई शान्त पार्न यो सेतो कागजमा कालो अक्षरले मनमा उब्जेका तिमीप्रतिका केही भावनाहरू पत्रमार्फत् व्यक्त गर्न गइरहेकी छु ।
पत्रको सुरुवात म तिम्रो पढाइबारे गर्न चाहान्छु । छोरी नम्रता, तिमीले प्राथमिक र निमावि तह सकाएर अहिले प्रवेशीका परीक्षा (एसएलसी) को लागि पढिरहेकी छौ । अहिलेको समयमा एसएलसीलाई आधारभूत शिक्षाका रुपमा लिइन्छ । अझ यसलाई फलामे ढोका पनि भन्ने गरिन्छ । जुन ढोका तोडिसकेपछि अन्य ढोकाहरू स्वतः खुल्छन ।
हो छोरी नम्रता, त्यसैले अहिलेदेखिनै तिमीले पढाइमा धेरै मेहनत गर्नुपर्छ । यो संसारमा जे जति प्रसिद्ध मान्छे भए ति सबै पढाइका कारणले भए । अल्बर्ट, आइस्टाईन उत्तिकै महान बैज्ञानिक बनेका होइनन् । राम्रोसँग पढेर तथा हरेक परिस्थितिसँग जुधेर, साना मसिना समस्याहरूलाई सहज तरिकाले टार्दै अनि मेहनत, परिश्रम, लगनशीलता, नियमितता र त्यागका कारण उनीहरू त्यहाँसम्म पुगेका हुन् । केही पाउन र जान्नका लागि त्यहीअनुसारको त्याग र बलिदान पनि गर्नुसक्नुपर्छ हैं, छोरी ।
हेर नम्रता, फ्लोरेन्स नाईटिंगेल उत्तिकै ‘लेडी विद् द ल्याम्प’ भनेर चिनिएकी हैनन् । उनको पनि त त्यहीअनुसारको परिश्रम र मेहनत छ । साँच्चै छोरी तिमीले पनि त एसएलसी सकेपछि चाहे डाक्टर भएर होस् या इन्जिनियर भएर वा कृषक भएर समाजका लागि राम्रो सहयोगी, देश र जनताप्रति बफादार नागरिक भएर अग्रणी भूमिका निभाउन सक्ने हुनुपर्छ ।
नम्रता, तिम्रो सपना साकार पार्न भनेर हरेक कुरालाई तिलाञ्जली दिँदै म यो बिरानो मुलुकमा आएकी हुँ । तिम्रा लागि म यहाँ दिन रात मेहेनत गरिरहेको तिमीलाई अगवत नै छ । तिमीले त्यस्तो कुनै चिन्ता नगर्नु, जुन चिन्ताले तिम्रो पढाईलाई असर पार्ने काम गर्छ । मलाई थाहा छ, ‘तिमी आफ्नो लक्ष्य र मेरो सपना पूरा गर्नेछौ ।
माफ गर नम्रता, म तिमीसँगै नहुँदा तिमीलाई अभिभावकत्वको कमी भयो होला । तर, तिमीलाई सधै अभिभावकत्वको कमी हुन नदिई अहोरात्र तिम्रा हरेक सुःखदुःखमा साथ दिई सहयोग गर्ने हुमा मामु अनि तिम्रा हजुरबुबा र हजुरआमा नै तिम्रो असली अभिभावक हुन् । उहाँहरूको सुझाव र सल्लाह सधैं शिरोधार्य गर्नु ल ।
म यहाँ जे जस्तो अवस्थामा छु तिम्रै लागि छु । त्यसैले तिमीले आजैदेखि आफू र देशको भविष्यलाई कसरी अगाडि बढाउने भन्ने बारे सोच्न आवश्यक छ । जीवनमा आफ्नो लक्ष्य प्राप्तिका लागि परेर उद्देश्य पूरा गर्नु । मामुको अभाव महसुस कहिल्यै नगर्नू । तिमीलाई सहयोग र साथ दिने ठूलो हृदय भएकी हुमा मामु, हजुरबुबा, हजुरआमा छदैछन् । उनीहरूको कुरा सधैं पालना गर्नु । उनीहरूले दिएका वचन तिम्रा मार्गदर्शन हुनेछन् ।
नम्रता, यतिखेर हाम्रो खेतमा धानका बाला लहलह होलान् है । गाउँघरका सबैजना धान भित्राउन ब्यस्त होलान् । मलाई पनि यतिखेर ती धानका भारी र परालसँगै उकालीओराली गर्ने मन नभएको कहाँ हो र ? तर, घरको अवस्था र बाध्यताले सबै कुरालाई तिलाञ्जली दिँदै आज सात समुन्द्र पारीको यो बिरानो मुलुकमा यादहरूका पराकम्पनले छटपटाउनुको बिकल्प पनि त छैन ।
अब त हामी नेपालीहरूको महान पर्व दशैतिहार पनि आउनै लाग्यो । हेरन छोरी, यो वर्ष पनि म तिमीसँगै बसेर दसैँतिहार मनाउन नपाउने भए । अर्काको देशमा आफूले सोचे र भने जस्तो कहाँ हुन्छ र ? जब मानिसले घर छोडेर टाढा जान्छ, त्यसपछि आफ्नो बास्तविक जिन्दगीका बारेमा थाहा हुनेरहेछ ।
तिमीसँग यो दसैँमा पक्कै आउँने र आफ्नै हातले टीका जमरा लगाई दिउँला भनेर बाचा गरेकी थिए तर मेरी प्यारी नम्रता माफ गर– बिदेशको बसाइँ कहाँ भने जस्तो र मनले सोचेजस्तो हुन्छ र ? मामु आइनन् भनेर सानो मन नबनाउनु । घरका सबैसँग ठूलो हृदय बनाइ यो परदेशी मामुलाई सम्झेर खुशी साथ दसैँतिहार मनाउनु ल ।
अनि लाटी तिमीलाई थाहा छ नि ? हाम्रो हिन्दू परम्परा र संस्कृतिअनुसार मान्छेले वर्षको एकपटक भुइँ छोड्नुपर्छ रे । त्यसैले हाम्रो घरमाथिको स्कुल नजिकै डोरीको पिङ बनाएर गाउँघरका सबै सँगै मिलेर चचहुईई… गर्दै पिङ खेल्नु । हाम्रो घरका अलावा मामा घर पनि गएर हजुरबुवा हजुरआमाबाट पनि आशीर्बाद लिन नबिर्सनु नी । तिमी गएनौं भने उहाँहरू साह्रै दुःखी हुनुहुनेछ ।
दुःख, आँशु, पीडा, बेदना, हाँसो अनि खुसी के हो ? सबै कुरा बिरानो ठाउँमा हुँदा थाहा हुँदोरहेछ । एउटी आमाले आफ्नो बच्चालाई नौ महिनासम्म गर्भमा बोकी ५ वर्षको उमेरमा बाध्यता र परिस्थिति बस टाढा हुँदा कुन चाहिँ आमाको मन हाँस्ला र ? त्यो पीडा त म जस्ता आमाहरूलाई मात्र थाहा होला । त्यही भएर छोरी नम्रता, तिमीले पढेर आफ्नै देशमा केही गर्नुपर्छ हैं ।
यतिखेर तिम्रो सम्झनाले मलाई अति नै सताइरहेको छ । चाँडबाँड जति नजिकिन्छन् उति यो मन बेहाल बेचैन हुन्छ । भर्खरै तीज पनि आयो, गयो । तिमीलाई मेरो हातले दर पकाएर नखुवाएको पनि १० वर्ष भएछ है । त्यो क्षण सम्झदा आँखाबाट आँशु वर्षन्छ तर के गर्नु छोरी ? यसरी प्रदेशिनु मेरो रहर होइन बाध्यता हो । तिम्रो मामुसँग बिदेशिनुको बिकल्प पनि थिएन । मेरो बिदेशिनुको बाध्यता जब तिमी बुझ्ने हुनेछौं अनि एक दिन सबै कुरा सबिस्तार बताउँनेछु ल ।
आशा छ तिमीलगायत गाउँघरका सबैले राम्रैसँग तीज मनायौं होला । मैले पनि यहाँ सबै नेपाली दिदीबहिनीहरूसँग भेला भएर मनाए । तीजमा मामा घर जान पाईन् भनेर दुखेसो गरेकी थियौ । यसपटक समय र परिस्थितिले यस्तै भयो । अर्को वर्ष मामुसँगै मामा घर गएर तीज मनाउँला नी हुँदैन र ?
प्यारी छोरी नम्रता, २०७२ साल नेपाली जनताका लागि एकदमै सुःख र दुःखको वर्ष भएको छ । गत वैशाख १२ गते आएको भूकम्प नेपाल र नेपालीका लागि सबैभन्दा दुखद् क्षण बन्यो । जुन भूकम्पमा परि हजारौ नेपालीले ज्यान गुमाए । सयौं बेपत्ता भए । सदियौं पुराना ऐतिहासिक धरोहर सदाका लागि ढले ।
तर, असोज ३ गते भने नेपालीहरूको खुशीको दिन बनेर आयो । त्यो दिन जब राष्ट्रपति डा. रामबरण यादवले सदियौंदेखिको हामी नेपालीहरूले आफ्नो संविधान आफैँ बनाउने चाहाना पूरा भएको भनेर नेपालको संविधान २०७२ घोषणा गरे त्यसपछि आमनेपालीको आँखामा खुशीको आँशु पिल्पीलायो । संविधान जारीसँगै नेपाली जनतामा भूकम्पले त्रसित र छियाछिया परेका मनहरूमा शान्ति मिलेको आवास भयो । त्यसपछिको खुशी नेपालीहरूले मनभित्रै मात्र सीमित नराखी टोलटोलमा, चोकचोकमा दीप प्रज्वलन गरी मनाइरहेको टेलिभिजन सेटमा हेरिरहँदा अब देशले काँचुली फेर्ने भो भनेर मेरा आँखाबाट पनि खुशीका आँशु नआइरहन सकेनन् ।
अब त हामी नेपालीहरूको महान पर्व दशैतिहार पनि आउनै लाग्यो । हेरन छोरी, यो वर्ष पनि म तिमीसँगै बसेर दसैँतिहार मनाउन नपाउने भए । अर्काको देशमा आफूले सोचे र भने जस्तो कहाँ हुन्छ र ? जब मानिसले घर छोडेर टाढा जान्छ, त्यसपछि आफ्नो बास्तविक जिन्दगीका बारेमा थाहा हुनेरहेछ ।
नम्रता, अबको नेपाल बास्तविक नेपाली जनताको हो । १०४ वर्षे राणा शासन र त्यसपछिको शाही शासन लगायतका शासनब्यवस्था सदाका लागि अन्त्य भएका छन् । आसा छ, नेपालीको चाहाना र मागलाई परिपूर्ति गर्न सहयोग गर्ने यस संविधानले तिमी हामीजस्ता नेपालीको इच्छा पूर्ति गर्नमा कोसेढुंगा सावित हुनेछ ।
हेर नानी, मान्छले जन्मेपछि समाज र राष्ट्रका लागि केही न केही गर्नुपर्छ । जो मान्छे सामाजिक काम गरी अगाडि बढ्छ ऊ मान्छे नै महान हुन्छ । मनभित्रका स्वार्थी भावना हटाउनुपर्छ । स्वार्थी भावनाले मानिलाई प्रगतिबाट रोक्छ ।
म यहाँ जे जस्तो अवस्थामा छु तिम्रै लागि छु । त्यसैले तिमीले आजैदेखि आफू र देशको भविष्यलाई कसरी अगाडि बढाउने भन्ने बारे सोच्न आवश्यक छ । जीवनमा आफ्नो लक्ष्य प्राप्तिका लागि परेर उद्देश्य पूरा गर्नु । मामुको अभाव महसुस कहिल्यै नगर्नू । तिमीलाई सहयोग र साथ दिने ठूलो हृदय भएकी हुमा मामु, हजुरबुबा, हजुरआमा छदैछन् । उनीहरूको कुरा सधैं पालना गर्नु । उनीहरूले दिएका वचन तिम्रा मार्गदर्शन हुनेछन् ।
प्यारी छोरी नम्रता, तिमी मेरो लागि छोरासरह छौं । मात्र एउटा चिन्ता छ– तिमीलाई समाजको उदाहरण कसरी बनाउने बारे । तिमी सधैँ खुशी रहनु, आफ्नो मामुलाई सम्झेर नरुनु । अन्तमा तिम्रो मामुका अधुरा सपना साकार पार्नेछौँ । दीनदुःखीको सेवामा सँधै जीवन समर्पित गर्नेछौँभन्दै आउँदै गरेको विजयादशमी तथा शुभदीपावलीको शुभकामना ।
प्यारी छोरी नम्रता, अहिलेलाई चिठी यहीँ बन्द गर्न चाहन्छु ।
हवस् त………
तिमीलाई माया गर्ने मामु
दीया चापागाइँ (राधिका तिवारी)
पर्वत, नेपाल
हाल इजरायल
Source: DainikNepal

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}