
|
|
वासिङ्टन, २९ असोज । अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)का पूर्व अधिकारी ब्रुस राइडलले लेखेको नयाँ पुस्तकले सन् १९६२ मा चीन-भारत युद्धका बीच पाकिस्तान चुप बस्न कस्मिर मागेको खुलासा गरेको छ। यही कस्मिरको आधिपत्यका कारणले यतिबेला पनि भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ।
युद्धमा भारत गल्दै गएपछि पाकिस्तानले भारतमाथि आक्रमण गर्ने सम्भावना बढेर गएको र अमेरिकाले त्यसलाई रोक्न भूमिका खेलेको समाचारमा जनाइएको छ।
राइडलले तीस वर्षसम्म सीआइएसँग काम गरेका थिए। उनी चार जना अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकार थिए। उनले लेखेको पुस्तक ‘जेएफकेज् फर्गटन क्राइसिसः टिबेट, सीआइए एन्ड सिनो–इन्डो वार’मा चीन–भारत युद्धरत अवस्थामा पाकिस्तान पनि युद्धमा आउन उद्धत रहेको जनाइएको छ। दुईतिरबाट आक्रमण भएको अवस्थामा भारत ध्वस्त हुने थियो भन्ने उनको आँकलन छ।
राइडलले अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले यस्तो अवस्थामा पाकिस्तानी आक्रमण रोक्न निर्णायक भूमिका खेलेको बताएका छन्। उनका अनुसार केनेडी र बेलायती प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनले पाकिस्तानलाई युद्धमा नजान चेतावनी दिएका थिए। भारतमाथि आक्रमण गरे चीनले झैँ युद्धको सुरुवात गरेको मानिने र त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।
पाकिस्तानले यो लडाइँ चीन र भारतबीचको सीमायुद्ध भएको मान्थ्यो भने अमेरिका र बेलायतले यसलाई शीतयुद्ध र कम्युनिज्मसँग जोडेर हेरेका थिए। उनीहरुले कम्युनिस्ट देशले लोकतान्त्रिक देशमाथि हमला गरेको रुपमा यस आक्रमणलाई लिएका थिए।
त्यो बेलाका भारतस्थित अमेरिकी राजदूत जोन गेलब्रेथले पाकिस्तानी सैन्य शासक अयुब खान भारत आक्रमण गर्न लालायित थिए। यसलाई रोक्न अमेरिकी राष्ट्रपति केन्नेडीले चिठ्ठी लेखी आक्रमण नगर्न सुझाव दिएका थिए। यसको जवाफमा अयुब खानले कस्मिरमाथि पाकिस्तानको अधिकार हुनुपर्ने र कस्मिर मामिलामा अमेरिकाले भारतलाई सम्झाउनु पर्ने शर्त राखेका थिए।
राइडल गेलब्रेथले आफ्नो डायरीमा लेखेका छन्, ‘अमेरिका र पाकिस्तानले दबाब दिएर भारतलाई कस्मिर पाकिस्तानलाई फिर्ता दिनुपर्ने अयुब खानको चाहना थियो। लडाइँका बेला चीनले भारतका कतिपय जमिन कब्जा गरेको थियो। त्यस्तै पाकिस्तानले पनि कस्मिर पाउनुपर्ने दाबी गरिरहेको थियो।’
क्युबामा रुसी मिसाइल संकटमा जुझिरहेका बेला भारत र चीनको लडाइँ भएको थियो। त्यो बेला भारत र चीनको समस्या वासिङ्टनको चासोमा कमै थियो। यस्तो अवस्थामा भारतस्थित अमेरिकी दूत गेलब्रेथका धारणा नै केनेडीका एक मात्र भरपर्दो व्यक्ति थिए। राजदूत गेलब्रेथ भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुका निकटका व्यक्ति मानिन्थे र त्यो बेला उनका सल्लाहकार भनेर समेत चिनिएका थिए।
पाकिस्तानी सैनिक शासक अयुब खानले केनेडीलाई भारतमाथि आक्रमण गर्ने वा नगर्ने विषयमा कुनै आश्वासन नदिए पनि अमेरिकाले पाकिस्तानलाई जानकारी नदिई चीनविरुद्ध प्रयोग गर्ने गरी हतियार दिएकोमा चित्त नबुझेको बताएका थिए। नागरिक दैनिकमा खबर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

