Home » » प्रधानमन्त्री कोइरालासँग मोदीले फोनवार्ता गर्न चाहेनन्

प्रधानमन्त्री कोइरालासँग मोदीले फोनवार्ता गर्न चाहेनन्

काठमाडौं, असोज २० । जारी नाकाबन्दीबारे नेपाली पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्न खोजेको सीधा संवाद प्रयास नयाँदिल्लीले चासो नदिँदा सफल हुन सकेको छैन ।

प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीसँग केही दिनयता सीधा टेलिफोन संवादनिम्ति गरेको प्रयास दिल्लीकै बेवास्ताले असफल भइरहेको छ । स्रोत भन्छ– प्रधानमन्त्री मोदी यसबारे तत्काल प्रत्यक्ष संवाद गर्नै चाहन्नन् ।

प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र एमाओवादीको सोमबार भएको संयुक्त बैठकले निर्णय नै गरेर प्रधानमन्त्री कोइरालालाई भारतीय प्रधानमन्त्री मोदीसँग हटलाइन वार्ता गर्न भनेपछि कोइरालाले प्रयास थालेका हुन् ।

‘भारत हाम्रो महत्वपूर्ण छिमेकी हो, दुई देशबीच सधैं सम्पर्क भइरहन्छ, तर पछिल्लो समय हामीले प्रयास गर्दा पनि भारतीय उच्च नेतृत्वसँग कुरा हुन सकेको छैन,’ प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराईले  भने, ‘भारतीय प्रधानमन्त्री व्यस्त रहेकाले हुनसक्छ ।’

भट्टराईका अनुसार प्रधानमन्त्री कोइरालाले आपूर्तिमन्त्रीसहित अन्य अन्य मन्त्रीहरुलाई जारी नाकाबन्दी तत्काल अन्त्य गर्ने वातावरण मिलाउन पटकपटक निर्देशन दिइसकेका छन् ।

‘नेपाल र भारतबीच सम्बन्ध र सम्पर्कको धेरैवटा माध्यम छन् । ती सबैलाई अहिलेको अवस्थामा समस्या समाधान निम्ति उपयोग गर्ने पक्षमा छौं,’ भट्टराईले थपे, ‘यस विषयमा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ । अहिलेको अवस्था लामो समय जानु हुँदैन, चाँडै समाधान निस्कन्छ भन्नेमा आशावादी छौं ।’

नागरिक दैनिकमा प्रकाशित खबर अनुसार भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि मोदीसँग भेटर्वार्ताका लागि गरेको प्रयास पनि सफल हुन सकेको छैन ।

‘भारतीय प्रधानमन्त्री मोदीसँग भेट्न चिठी लेखेका छैनौं तर सम्पर्क हुन सकेको छैन,’ नयाँदिल्लीस्थित नेपाली दूतावासस्रोतले भन्यो, ‘भारतीय अधिकारीले नाका सहज हुने र भेटवार्ता पनि चाँडै हुने बताउँदै आए पनि कार्यान्वयन भने गरेका छैनन् ।’

भारतीय कूटनीतिज्ञमार्फत समस्या समाधान नहुने देखेपछि प्रमुख दल बैठक उच्च राजनीतिक तहमै सम्पर्क गर्ने निर्णयमा पुगेको हो ।

प्रधानमन्त्री कोइरालाले यसअघि नै भारतीय राजदूत रञ्जित रेले ‘आफ्नो नेतृत्वलाई नेपालबारे सही जानकारी नगराएको असन्तुष्टि पोखेका थिए ।

यसअघि पटक–पटक भारतीय अधिकारीले नाकामा देखिएको अवरोधलाई खुकुलो पार्ने बताएपछि त्यसलाई झनै कडा बनाउँदै लागेका छन् ।

‘भेट हुँदा भारतीय अधिकारीहरुले अहिलेको अवस्थाले हामी पनि समस्यामा परेका छौं भनेर भन्छन् । नाकामा जारी अवरोध समाधान भैहाल्ने कुरा गर्दछन्,’ नेपाली दुतावासका एक अधिकारीले भने, ‘तर समस्या त्यसतर्फ खासै कदम चालेको देखिँदैन । अहिलेको अवस्थालाई अझै लम्ब्याउन चाहेजस्तो देखिन्छ ।’

नयाँ संविधान जारी भएपछि असन्तुष्ट रहँदै आएको भारतले इन्धनसहित अत्यावश्यक सामग्री आपूर्ति रोक्दै आएको छ । इन्धन अभावका कारण राजधानीसहित देशका विभिन्न स्थानमा समस्या देखिन थालेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}