
|
|
काठमाडौं,असोज २२ । आन्दोलनरत मधेसी मोर्चाले भारतीय भूमिबाट नेपाली नागरिक र प्रहरीमाथि साङ्घातिक आक्रमण गरेपछि नेपालस्थित सुरक्षा निकायले नेपाली नागरिकलाई आज बिहानदेखि भारतीय बजार सुनौली जान रोक लगाएको छ ।
आन्दोलनरत मधेसी मोर्चा भारतीय भूमिमा बजार गर्न गएका नेपाली नागरिक रूपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका कृष्ण विष्टमाथि कुटपिटको घटनापछि सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्मका लागि सुनौली जानबाट रोक लगाएको प्रहरीले जनाएको छ ।
प्रहरीले अत्यावश्यक कामबाहेक भारतीय बजार किनमेलका लागि अथवा अन्य कार्यका लागि भारत जानेहरूलाई कडाइ गर्न थालेको हो ।
आन्दोलनरत मधेसी मोर्चाले चर्काएको आन्दोलनमा पहाडीमूलका नेपाली निसानामा पर्न थालेपछि सीमामा कडाइ गरिएको प्रहरी उच्च स्रोतको भनाइ छ ।
बुधबार भएको घटनापछि नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी र अञ्चल प्रहरी प्रमुखसहितको सुरक्षा टोलीले भारतको महाराजगन्ज जिल्लाका प्रमुखलाई भारतीय भूमि प्रयोग गरी ढुङ्गामुढा गर्न नदिन आग्रह गरेपछि भारतीय पक्षले पनि सीमामा थप कडाइ गरेको रूपन्देही प्रहरीले जनाएको छ । भारतीय प्रहरीको कडाइ पछि बिहीबार भने सीमा नाका बेलहिया केही शान्त रहेको थियो ।
बुधबारको घटनापछि नेपालका तर्फबाट बेलहियामा थप सुरक्षा सतर्कता अपनाएको वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिए ।
मोर्चाका शीर्ष नेताहरू रूपन्देहीमै रहेकाले आन्दोलन थप अराजक बन्न सक्ने आशङ्कामा सुरक्षा व्यवस्थामा पनि थप कडाइ गरेको प्रहरीको भनाइ छ ।
-रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

