
|
|
धनगढी- इन्धन, औषधिलगायत अत्यावश्यक वस्तुमा नाकाबन्दी लगाइरहेका बेला भारतबाट नक्कली नेपाली नोट नेपाल भित्रिएको छ। भारतको आगरामा छापिएका हजार रूपैयाँका नोट भित्रिएका हुन्। प्रहरीले एक लाख तीन हजारका नक्कली नोटसहित चार नेपाली युवकलाई पक्राउ गरेपछि नक्कली नोट भारतबाट भित्रिएको खुलासा भएको हो।
संगठित रूपमा नै भारतमा नक्कली नोट छापेर नेपाल पठाइएको हुन सक्ने कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताए। 'नक्कली नोटको कारोबार संगठित रूपमै हुन सक्ने अनुमान गरेर अनुसन्धान सुरु गरेका छौँ,' उनले भने।
धनगढी नगरपालिका–७ बेलीबाट मंगलबार साँझ जाँच गर्ने क्रममा कैलालीको मसुरिया–३, मट्कौनाका २२ वर्षीय रामप्रसाद चौधरीबाट एक हजार दरका १ सय ३ थान नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ। रामप्रसादसँगै रहेका मसुरिया–४ बढैपुरका २३ वर्षीय रमेश चौधरी, टीकापुर–४ बाघमाराका २१ वर्षीय सुरेश चौधरी र प्रतापपुर– ५ हरदाहनीका २३ वर्षीय गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बिहीबार पत्रकारसामु सार्वजनिक गरिएको हो। उनीहरूबाट दुई थान मोटरसाइकल र एक थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनायो। भारतको आगराबाट नक्कली नोट छपाएर ल्याएको रामप्रसादले प्रहरीलाई बयान दिएका छन्।
उनीहरूलाई खोटो चलन कसुरअन्तर्गत मुद्दा लगाइने प्रहरीले जनाएको छ। बरामद नोट सामान्य व्यक्तिले चिन्न गाह्रो हुने किसिमका रहेको विष्टले बताए। 'झट्ट हेर्दा थाहा पाउन नसकिने नोट छन्,' उनले भने।
नक्कली मुद्रा अर्थतन्त्रको धमिरा : अर्थविद्
भारतको नाकाबन्दीले नेपालको अर्थतन्त्र कमजोर भइरहेका बेला नक्कली नोट भित्रनुलाई अर्थविद्ले गम्भीर रुपमा लिएका छन्। धनगढी इन्जिनियरिङ कलेज (नास्ट) प्रमुख तथा अर्थशास्त्र विषयका प्राध्यापक शिवहरि मुडभरी नक्कली मुद्राले अर्थतन्त्र ध्वस्त पारिदिने बताउँछन्। 'नक्कली मुद्रा नसमातियुन्जेल मुद्राकै काम गर्ने भएकाले त्यसको चलनसँगै मूल्य बढ्ने भएकाले अर्थतन्त्रमा धेरै असर पार्छ,' उनी भन्छन्। भारतबाट नक्कली नोट भित्रिएको विषयमा राज्यले चनाखो भएर छानबिन गर्नुपर्ने आवश्यकता मुडभरी औंल्याउँछन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

