Home » » कता जाँदै छ मधेस आन्दोलन ?

कता जाँदै छ मधेस आन्दोलन ?

मंसिर १९, २०७२- मधेस आन्दोलनको ९८औं दिन ४ मंसिरमा वीरगन्जमा मधेसी मोर्चाले औषधि बोकेको गाडी निर्बाध चल्न दिने र नेपाल ल्याउन विराटनगर नाका खोल्ने निर्णय गर्‍यो । त्यसको भोलिपल्टै लाखौं रुपैयाँ बराबरको औषधि बोकेको ट्रक वीरगन्जमा जलाइयो । सोही दिन डेढ वर्षीय बिरामी बालिकालाई विराटनगरस्थित डाक्टरको क्लिनिकमा ल्याउँदै गर्दा मोरङको कटहरीमा एम्बुलेन्स तोडफोड गरियो । त्यसको भोलिपल्ट सुनसरीको दुहबीमा अक्सिजन लगाइएका बिरामीलाई लिएर धरानतर्फ जाँदै गरेको एम्बुलेन्समा आक्रमण भयो । चालक आनन्द विक सख्त घाइते बनाइए । 

मंसिर १० मा मोरङको भातिगछमा पेट्रोल छर्केर २७ वर्षीय बबलु राजवंशीलाई आगो लगाइदिए । त्यसको भोलिपल्ट ११ मंसिरमा गुडिरहेको बसमा सप्तरीको भारदहमा ढुंगा प्रहार गर्दा अनियन्त्रित भई बस पल्टियो । तीनजनाले ज्यान गुमाए । घाइतेहरू अझै उपचारमा छन् । इन्धन तस्करी गरेको भन्दै मंसिर १६ गते नवलपरासीको सनई ९ मा एक युवकलाई जिउँदै जलाइयो । 
यी मंसिरका दुई सातामा जानाजान वा अन्जानमा मोर्चाका कार्यकर्ताबाट भएका प्रतिनिधिमूलक घटना मात्र हुन् । मधेस केन्द्रित भई राजनीति गरिरहेका चार मधेसवादी दलले साउन ३१ गतेदेखि सीमांकनलगायत विषयमा असन्तुष्टि राख्दै सुरु गरिरहेको आन्दोलन साढे ३ महिना पार गरिरहँदा यस्ता घटना निक्कै भएका छन् । 
यस्ता घटनामा आन्दोलनरत मोर्चाले आफ्ना कार्यकर्ता संलग्न नरहेको दाबी गर्दै आए पनि केही स्थानमा मोर्चाका स्थानीयस्तरका कार्यकर्ताहरूले घुमाउरो पारामा संलग्नता स्वीकार गरेका छन् । यी घटनाले अधिकार प्राप्तिको जारी आन्दोलनमाथि दुइटा प्रश्न तेस्र्याएका छन् । पहिलो– के मधेस आन्दोलन अराजक बन्न लागेको हो ? वा नियन्त्रणबाहिर जान थालेको हो ? 
मोर्चाको बटमलाइनका रूपमा रहेको सीमांकनमा सहमति नहुँदा दुई पक्षबीच वार्ता निर्णायक बन्न सकेको छैन । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समावेशी समानुपातिक प्रतिनिधित्व, नागरिकता जस्ता विषयमा सहमति जुटिसकेको भनिन्छ । ‘३ जिल्ला थप्दैमा कोही मालिक र नथप्दैमा नोकर हुने होइन,’ वीरगन्जका बुद्धिजीवी राकेश सिंह भन्छन्, ‘केही भूभागका लागि देश बर्बाद गर्नु भएन ।’ 
प्रमुख ३ दल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच भएको १६ बुँदेदेखि मोर्चाले अधिकार प्राप्तिको लडाइँ लडिरहेको छ । ‘सीमांकनको पछिल्लो विवादले अधिकारप्राप्तिभन्दा पनि यो पावर सेयरिङको लडाइँ देखिएको छ,’ उनले भने, ‘आफ्नो शासन क्षेत्र फराकिलो बनाउन मात्र देशलाई बन्धक नबनाऊँ । बटमलाइनमा केही लचक भएर निकास किन नदिने ?’ 
अर्कातिर मधेस आन्दोलन समयमै सम्बोधन नभए अराजकता फैलिने खतराप्रति सजग हुने बेला आएको छ । ‘प्रदेश नम्बर २ को सीमांकन झापासम्म हुन नसक्ने भएपछि सहमति कसरी खोज्ने ?’ वीरगन्ज आदर्शनगरका इन्जिनियर सञ्जय खेतानले भने, ‘आन्दोलनको बैठान केमा हुन सक्छ, यसमा गृहकार्य आवश्यक छ ।’ 
आन्दोलन अराजकतातर्फ अघि बढेपछि मधेस केन्द्रित दलको हातबाट यो बाहिर जाने सम्भावनाप्रति विश्लेषक चिन्तित बन्न थालेका छन् । मधेसमा अलगाववादी शक्ति पनि विगतमा सक्रिय देखिएकै हुन् । केही दिनअघि मात्र पर्सा, बारा र रौतहटमा सीके राउतका कार्यकतालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार यो समूहले मधेसका प्रत्येक गाउँमा ७ देखि १० जनासम्मको समिति निर्माण गरिरहेको छ । ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख ललन द्विवेदीले समाधान खोज्न एकदिन पनि ढिला गर्न नहुनेमा जोड दिए । ‘यसरी नै आन्दोलन लम्बिँदै गएमा जनतामा उत्तेजना र रिस बढदै जान्छ,’ उनले भने, ‘यसले थप अराजकता र अनुशासनहीनता बढाउँछ ।’ 
यसले युवाहरूमा अलगावप्रतिको आकर्षण बढाउने खतरा पनि छ । मोर्चा र सरकार यस विषयमा संवेदनशील र जिम्मेवार बन्न आवश्यक छ । ‘आन्दोलन लम्बिँदै जाँदा बाहिर रूपमा त्यो मोर्चाको पकड भनिए पनि भित्री रूपमा गलत तत्त्वले खेल्ने अवसर पाउँछन्,’ उनले भने, ‘यसप्रति मोर्चा र सरकार संवेदनशील बन्न जरुरी छ ।’ मधेसका मागप्रति जनताको आकर्षण रहे पनि मधेस केन्द्रित दलका नेतृत्वमा विश्वास नरहेको विश्लेषक बताउँछन् । प्रधानमन्त्रीको चुनावमा मतदानमा सहभागी हुनु र इन्धन तस्करी, उद्योग, ढुवानी लगायतका व्यवसायीबाट चन्दा प्रकरण उजागर भएपछि जनताले खिन्नता प्रकट गर्न थालेका छन् । ‘विगतमा सत्ताका लागि नेतापिच्छे नयाँ पार्टी गठन गरेको याद अझै ताजै छ,’ ती विश्लेषकले टिप्पणी गरे ।  
        
आन्दोलन अराजकतातिर जाने वातावरण राज्यले बनाएको बुझाइ स्थानीय बुद्धिजीवीको छ । ‘राज्यपक्षको चरम दमनबीच आन्दोलनरत पक्षवाट केही घटना हुनु अस्वाभाविक होइन,’ राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका पूर्वप्रमुख अमरकान्त झाले भने, ‘अधिकारप्राप्तिको आन्दोलन अत्यन्तै लामो समयसम्म सम्बोधन नहुनु र राज्यपक्ष चरम दमनमा उत्रनुले सडकमा रहेका पक्ष आवेशमा आउनु अस्वाभाविक होइन ।’ 
मधेस आन्दोलन अब कुनै दल विशेषको मात्र नभई मधेसका जनताको जनआन्दोलन भइसकेको स्वयं मधेसवादी दलका नेताहरूकै भनाइ छ । साथै आन्दोलनकारीका नाममा भएका घटनाहरू भएको स्थान पनि मधेसी बाहुल्य स्थान नै हो । त्यसैले आन्दोलनलाई अराजकतातर्फ लाने सवालमा राज्य पक्षको दमन जति जिम्मेवार छ, आन्दोलनरत पक्षको भूमिका पनि उत्तिकै रहेको अर्काथरीको बुझाइ छ ।
 इटहरीमा मोर्चाको सभा बिथोलिएपछि कार्यकर्तामा जति आक्रोश थियो राजेन्द्र महतोको भाषणले त्यसभन्दा कम उतेजना ल्याउँदैन । जसको प्रत्यक्ष उदाहरण टीकापुर घटना हो । जहाँ मधेसी मोर्चाका नेताहरूले उत्तेजक भाषण गरेकै केही दिनमा हिंस्रक घटना भएको थियो । 
सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताकै भनाइमा सहभागिता बढदै गएपछि आन्दोलनमा हरेक तत्त्व प्रवेश गर्न सक्छन् जसले अराजकता न निमत्याउला भन्न सकिन्न । ‘अगुवा कार्यकर्ता सचेत छन् तर धेरै जनता नै सहभागी भए पनि सबै किसिमका मत हुन्छन््,’ मेहताले भने, ‘आक्रोशलाई रोक्न सकिन्न, त्यसैले शान्तिपूर्ण भनिएको आन्दोलनमा केही घटनाहरू हुन सक्ने सम्भावना प्रशस्त रहन्छ ।’
महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख एवं राजनीतिशास्त्रका प्राध्यापक जीवनारायण झा पनि आन्दोलन अराजकतातर्फ जानुलाई अस्वाभाविक मान्दैनन् । उनी भन्छन्, ‘लामो समयसम्म आन्दोलन चलिरहँदा त्यो आक्रोशमा परिणत हुन्छ जुन आक्रोशले केही पनि हेर्दैन । त्यसले अराजकता निम्तिन सक्ने खतरा बढाउँछ ।’ उनले सम्बोधनमा ढिलाइ हुँदा मानिसमा भावनात्मक लडाइँको मानसिकता आउँछ, जसले नेतृत्वको नियन्त्रणभन्दा आन्दोलन बाहिर जान सक्ने बताए । 
विश्लेषक तुलानारयण साहको भनाइमा जारी आन्दोलन मधेसवादी चारदलका नेताको पूर्ण नियन्त्रणमा छैन । उनी भन्छन्, ‘राज्यले पनि राजनीतिक आन्दोलनलाई लडाइँका रूपमा लियो जसले आन्दोलनरत मधेस पनि धु्रवीकृत भए र अहिले आन्दोलन पूर्णत: नेतृत्वको हातबाट अलग भएको छ ।’ उनले मुद्दाप्रधान आन्दोलन भएकाले मुद्दाबाट अलग भएर अन्त गर्ने प्रयास पनि प्रत्युपादक हुन सक्ने टिप्पणी गरे । जारी आन्दोलन सम्बोधनमा ढिलाइ हुँदा अन्य मुद्दा लिएर अगाडि आउने समूह पनि सलबलाउन सक्ने अवस्थाप्रति मत राख्नेहरू कम छैनन् । ती तत्त्वमा राष्ट्र विखण्डनको मुद्दादेखि लिएर सामाजिक सद्भाव समेतलाई भडकाउन र भिडाउन खोज्नेहरू समेत समावेश हुन सक्छन् । 
 असोज ७ देखि नाकामा धर्ना सुरु भएयता आन्दोलनकारीका लागि वीरगन्जको रक्सौलमा मेस सञ्चालन गर्दै आएका भारतीय नागरिक महेश अग्रवाल अहिले छटपटिएका छन् । बुधबार साँझ रक्सौलस्थित निवासमा भेटिएका अग्रवालले नाकाबन्दीले नेपाल मात्र नभई सीमावर्ती भारतीय जनता पनि अत्यधिक मारमा परेको गुनासो गरे । ‘नाकाबन्दी यति दिन लम्बिन्छ भनेर सोचेकै थिएनौँ,’ उनले भने, ‘नाकाबन्दीको दबाबले केही दिनमै सहमति भएर माग पूरा हुने आशा थियो ।’ 
नाकामा धर्ना लम्बिएपछि रक्सौल मात्र नभई नेपालमा रहेका उद्योगी/व्यापारीले मेस बन्द गर्न दबाब दिएको उनले खुलाए । भारतीय जनता पार्टीका उच्च नेतृत्वमा उनको राम्रो पकड छ । गत साता उनी नेपाल उद्योग वाणिज्य संघका केही पदाधिकारीसाथ नाकाबन्दीको विकल्पबारे बुझ्न दिल्ली पुगेका थिए । मधेसी दल र सरकारबीच सहमति नहुन्जेल नाकाबन्दी खुल्ने कुनै सकेत आफूले नपाएको उनले सुनाए । ‘गाउँमा जसरी दुई पक्षबीचको झगडा पञ्चले मिलाउँछन्, नेपाल सरकार र मधेसी मोर्चाबीच त्यस्तै पञ्चको अहिले आवश्यकता छ,’ उनले भने, ‘नेपालको नागरिक समाज अगाडि सर्ने बेला आएको छ । नाकाबन्दी कसैको हितमा नरहेकाले मधेस आन्दोलनको समाधान वार्तामार्फत निकाल्नुपर्छ । नेपाली नेता र केही ब्युरोक्रेट्सका कारण दुई देशबीचको सम्बन्ध चिसिएको हो । भारत आफ्नो सुरक्षाप्रति बढी सजग रहेकाले अस्थिर नेपाल उसको हितमा छैन ।’
प्रकाशित: मंसिर १९, २०७२



Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}