
|
|
काठमाडौं, ६ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन तराई मधेसका केही जिल्लाहरूमा पुनः चर्किन थालेको छ । रौतहट जिल्लाको सदरमुकाम गौरमा आइतबार भएको प्रदर्शन हिंसात्मक भएपछि एक जना आन्दोलनकारीको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ । पर्साको वीरगञ्जमा पनि मधेसी मोर्चाको आन्दोलन उग्र हुन थालेको छ । जनकपुरमा पनि मधेसी मोर्चाका कार्यकर्ता दिनप्रतिदिन सडकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । तराई मधेस चार महिनादेखि असन्त हुँदा पनि आन्दोलनकारी दल र सरकार पक्ष जिम्मेवार बन्न नसकेको आरोप लाग्न थालेको छ । मधेस मामिलामा जानकारहरू दुबै पक्ष गम्भीर रुपमा वार्तामा प्रस्तुत हुन नसकेको आरोप लगाउँछन् । मधेस मामिलाका जानकार एक बुद्धिजीवीले भने, ‘वार्तामा मधेसी मोर्चा कडा रुपमा प्रस्तुत हुँदा समस्या आएको छ ।
सरकारले पनि मधेसीहरूको आन्दोलनलाई पेलेर लगेर आफ्नो आयु बढाउन चाहन्छ । यहीनेर तालमेल मिलेको छैन । अब ढिला नगरेर दुबै पक्ष लचकताका साथ वार्तामा प्रस्तुत हुनुपर्छ । निकास निकाल्नै पर्छ ।’ सद्भावना पार्टीका मनीष सुमनले आफूहरूको आन्दोलनमा राज्य पक्षबाट चरम दमन भएको आरोप लगाउनु हुन्छ । ‘सरकार जिम्मेवार भएन । वार्तामा इमान्दारिता नै देखिएन’, उहाँले भन्नुभयो, ‘एक दिन वार्ता गर्ने हप्तौसम्म वार्ताका कुरै नगर्ने । अब यस्तो तरिकाले कहाँ हुन्छ ? आन्दोलन त अगाडि बढ्छ ।’ हुन पनि पछिल्लो दुई साता यता औपचारिक रुपमा सरकार र मधेसी मोर्चाबीच वार्ता हुन सकेको छैन । कांग्रेस र मधेसी मोर्चाबीच वार्ता भएपनि ती वार्ता खासै ठोस रुपमा अगाडि बढेका छैनन् । राज्यले यस्तो अवस्थामा आन्दोलनकारीलाई वार्तामा ल्याएर समस्याको समाधानका लागि दैनिक रुपमा वार्ता गर्नुपर्ने सुझाव राजनीतिक विश्लेषकहरूको छ । उता, मधेसी मोर्चाले आन्दोलन चलाइरहेका बेला राज्यको सीमाङ्कनप्रति असन्तुष्टि राख्ने क्रम पनि बढ्न थालेको छ । सीमाङ्कनको विषयमा चित्त दुःखाएको पूर्वको लिम्वुवान पार्टी र चुरे भावर राष्ट्रिय एकता पार्टीले आ–आफ्नो क्षेत्रमा आन्दोलन गरिरहेका छन् । उनीहरूलाई पनि वार्तामा ल्याएर छिटो समस्याको समामाधान नखोज्ने हो भने मुलुक आन्दोलनकारीको हातमा नजाला भन्न सकिँदैन । सबै समूह आन्दोलनमा उत्रन थाले भने त्यसले जनतामा झन् आक्रोश बढ्न गई वर्तमान सरकारलाई नै असर पर्न सक्नेदखिन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

