
|
|
अमेरिकाको ऊटा क्षेत्रमा रहेको मरुभूमि क्षेत्रलाई एक व्यक्तिले नयाँ राष्ट्र घोषणा गरेका छन्। नयाँ राष्ट्र घोषणा गर्नुपूर्व ठूलो संघर्षबाट गुजि्रनुपर्ने इतिहासलाई लोप्पा खुवाउँदै उनी एक्लैले अमेरिकाभित्र नयाँ देश निर्माण भएको घोषणा गरेका हुन्।
यसरी नयाँ देश जन्माउने व्यक्ति हुन्, अमेरिकी नागरिक ज्याक ल्यान्ड्सबर्ग। नयाँ देशको नाम जाकिस्तान राखेका उनले यसको औपचारिक नाम 'रिपब्लिक अफ जाकिस्तान' राखेका छन्। साथै, उनले नयाँ देशको राष्ट्रपति आफू भएको घोषणा पनि सँगै गरेका छन्।
यद्यपि, संसारका कुनै पनि राष्ट्र र राष्ट्रसंघले उनले घोषणा गरेको नयाँ राष्ट्रलाई मान्यता दिएका छैनन्। अमेरिकाभित्र नयाँ देश घोषणा गरेकोमा उनलाई अमेरिकी सरकारले राष्ट्रद्रोहको आरोपमा कारबाही पनि गरेको छैन। धेरैले उनको यस्तो कदमलाई 'उट्पट्याङ काम' भनेर गम्भीरतापूर्वक लिएका छैनन्।
तर, ज्याक स्वयं चाहिँ आफूले घोषणा गरेको देशको सुरक्षा, शासन सञ्चालन लगायतको योजना तयार गर्नमा गम्भीर भएर लागेका छन्। राष्ट्रपतिको हैसियतले आफ्नो देशलाई बलियो, सुरक्षित र सम्पन्न राख्न उनी कुनै कसर बाँकी नराख्ने मनसायमा छन्।
उनको देश चार हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो क्षेत्रलाई उनले १५ वर्षअघि खरिद गरेका थिए। यसलाई पूर्ण रूपमा स्वाधीन र सम्प्रभु राख्ने योजना त्यतिबेलै बनाएका उनले अहिले आएर औपचारिक रूपमै नयाँ राष्ट्र गठन भएको घोषणा गरेका हुन्।
'नयाँ देशको सुरक्षाका लागि रोबोट गार्डको व्यवस्था गरिएको छ। जाकिस्तान आउन मन गर्नेहरूका लागि जाकिस्तानको चिह्नअंकित पासपोर्ट समेत बनाइएको छ। जाकिस्तानभित्र छिर्नुअघि उनीहरूको पासपोर्टमा छाप लगाइनेछ,' उनले भने। देशको मूल मन्त्र 'समथिङ फर नथिङ' हुने उनको भनाइ छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

