
|
|
बाबियाचौर (म्याग्दी), १७ मंसिर । जिल्लामा सङ्कटापन्न अवस्थामा रहेको वन्यजन्तु हाब्रे (रेडपान्डा) संरक्षण अभियान सुरु गरेको छ ।
विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम, रेड पान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले हाब्रे संरक्षणका लागि समुदाय तथा विद्यालयमा चेतनामूलक कार्यक्रम सुरु गरेको हो ।
रेडपान्डा नेटवर्कका अनुसन्धानकर्ताले हालै गरेको अध्ययनका क्रममा जिल्लाको लुलाङस्थित मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला क्षेत्र, गुर्जा र मुदी गाविसको जङ्गलमा हाब्रेको दिसा भेटिएको आधारमा त्यहाँ उसको बसोबास रहेको पुष्टि भएको थियो ।
हाब्रेको संरक्षणका लागि पहिलो चरणमा गुर्जा, लुलाङ र मुना गाविसका आठवटा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र तीनवटा विद्यालयमा चेतनामूलक कार्यक्रम गरिएको नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय बासिन्दा तथा विद्यार्थीलाई हाब्रे अथवा रेडपान्डाको महत्व, अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने आवश्यकता, चोरी सिकारी गरेमा हुने कानुनी कारबाही, पर्यापर्यटनको सम्भावनालगायतका विषयमा जानकारी गराइएको हो ।
स्थानीय बासिन्दा ओक्रा भनिने हाब्रेको बसोबास रहेको भेटिएपछि संरक्षणमा अग्रसर भएका छन् । दोस्रो चरणमा समुदायस्तरमा हाब्रे संरक्षण सञ्जाल गठन गरी सामुदायिक वन समूहका विधान र कार्ययोजनामा संरक्षण योजना समावेश गर्ने तयारी भएको अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताउनुभयो ।
तीनवटै गाविसमा अनुसन्धानकर्ता बराल र श्रेष्ठसहित जिल्ला वन कार्यालयका सहायक वन अधिकृत जयप्रकाश गुप्ताको टोलीले गत हप्ता एक÷एक दिनका दरले संरक्षण शिक्षा कार्यक्रम गरेको छ ।
समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा अवस्थित चौडापाते र कोणधारी मिश्रित जङ्गलमा निगालोको झाडीमा बस्ने हाब्रेलाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षितको सूचीमा राखेको छ ।
निगालोको टुसालाई आहराका रुपमा प्रयोग गर्ने हाब्रेको सङ्ख्या नेपालमा ५०० देखि एक हजारवटा रहेको अनुमान गरिए पनि २३७ वटाको मात्र यकिन भएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने नेटवर्कले जनाएको छ । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

