
|
|
काठमाडौं, पुस १२ ।
मौज्दात
पेट्रोल एक हजार दुई सय किलोलिटर, डिजेल तीन हजार तीन सय किलोलिटर
काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल र मट्टीतेल वितरण गर्दै आएको आयल निगमको थानकोट डिपोमा पेट्रोल एक हजार दुई सय किलोलिटर छ । यो ‘डेप्थ स्टक’ हो । डिजेल तीन हजार तीन सय किलोलिटर मौज्दात छ । भन्सार नाकामा फाट्टफुट्ट एक–दुई ट्यांकर भित्रिएको मट्टीतेल सम्बन्धित क्षेत्रमै वितरण भइरहेको छ । निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोमा ६ सय ५० किलोलिटर हवाई इन्धन मौज्दात छ ।
दैनिक वितरण
पेट्रोल अधिकतम ५० हजार लिटर, डिजेल दुई लाख ३० हजार लिटर
आयल निगमले उपत्यकामा दैनिक अधिकतम ५० हजार लिटर पेट्रोल वितरण गर्दै आएको छ । साझा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पम्पबाट पेट्रोल वितरण भइरहेको छ । डिजेल भने दैनिक दुई लाख ३० हजार लिटर वितरण भइरहेको छ । मौज्दात नभएकाले उपत्यकामा मट्टीतेल बिक्री नभएको करिब एक महिना भइसकेको छ । निगमले आन्तरिक उडान भर्ने विमानलाई दैनिक ५० हजार लिटरभन्दा बढी हवाई इन्धन वितरण गरिरहेको छ ।
ग्यास आपूर्ति
पुसमा १८४ बुलेट नेपाल भित्रियो, २०८ बुलेट रक्सौलमा रोकिएका छन्
वीरगन्ज नाकाबाट प्रवेशको पखाईमा भारततिर दुई सय आठ बुलेट रोकिएर बसेका छन् । भन्सार विभागको तथ्यांकअनुसार पुसयता शनिबारसम्म एक सय ८४ बुलेट ग्यास आएका छन् । शनिबार काँकडभिट्टाबाट एक, १० पुसमा १८ बुलेट ग्यास आएको थियो । सुनौली–बेलहिया हुँदै १० पुसमा १० बुलेट र ९ पुसमा दुई बुलेट ग्यास आएका छन् ।
आयल निगमले स्थापना गरेको ग्यास कन्ट्रोल रुमका अनुसार ४ पुसमा काठमाडौंकेन्द्रित उद्योगका १७ बुलेट भैरहवा भन्सारबाट छुटेका थिए । भैरहवा भन्सारबाटै ५ पुसमा काठमाडौंकेन्द्रित उद्योगका १६, ६ पुुसमा २५, ७ पुसमा २१ र ८ पुसमा ३० बुलेट ग्यास आएको कन्ट्रोल रुमले जनाएको छ । पछिल्ला दिनमा ग्यासको आयात बढे पनि सर्वसाधारणले पाउन सकेका छैनन् ।
दैनिक आपूर्ति
वीरगन्ज नाका ठप्प भएकाले अन्य प्रमुख पाँच नाका काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीबाट इन्धन भित्रिरहेका छन् । यी नाकाबाट डिजेलका ट्यांकर धेरै र पेट्रोलका ट्यांकर कम आइरहेका छन् । यसरी आएकामध्ये काठमाडौंमा दैनिक औसतमा १५ ट्यांकर डिजेल र चार ट्यांकर पेट्रोल ल्याउने गरेको निगमले जनाएको छ ।
४ देखि ११ पुससम्म भित्रिएको पेट्रोल र डिजेल
भन्सार कार्यालयहरूका अनुसार ११ पुस रातिसम्म कुनै नाकाबाट पेट्रोल, डिजेल आएको छैन । १० पुसमा डिजेल ३६ र पेट्रोल ६ ट्यांकर, ९ पुसमा डिजेल ४८ र पेट्रोल १० ट्यांकर आएका थिए । ८ पुसमा डिजेल ५२ र पेट्रोल १५ ट्यांकर, ७ पुसमा डिजेल ४९ र पेट्रोल १४ ट्यांकर, ६ पुसमा डिजेल ३४ र पेट्रोल १०, ५ पुसमा डिजेल २९ र पेट्रोल १२ ट्यांकर र ४ पुसमा डिजेल ३९ र पेट्रोलका चार ट्यांकर भित्रिएका थिए ।
बरौनी र बेतालपुरबाट आयात बढाइदै
वीरगन्ज नाका सुचारु नभएका कारण इन्डियन आयल कर्पोरेसन (आइओसी)को रक्सौल डिपोबाट इन्धन ल्याउन नपाएपछि निगमले विकल्पका रूपमा बरौनी रिफाइनरी र बेतालपुर डिपोबाट इन्धन परिमाण बढाएर ल्याउने भएको छ ।
निगमको वितरण विभाग निर्देशक मुकुन्द घिमिरेले शुक्रबार आइओसी अधिकारीलाई बरौनी र बेतालपुरबाट लोडिङ बढाउन आग्रह गरेका छन् । उनले भने, ‘अब दुई–चार दिनमै दुवै स्थानबाट हालको भन्दा दोब्बर बढी इन्धन आउनेछ ।’ निगमले हाल बरौनीबाट दैनिक औसतमा ४० ट्यांकर पेट्रोल र डिजेल लोड भइरहेको छ भने बेतालपुर डिपोबाट दुई सय किलोलिटर इन्धन ल्याइरहेको छ ।
ग्यास आयात पनि बढ्ने
बरौनीबाट ग्यास आयात पनि बढाइने भएको छ । ‘सामान्य अवस्थामा बरौनीबाट १२ हजार टन ग्यास लोड भइरहेकोमा केही दिनबाटै करिब १५ हजार टन ग्यास लोड हुनेछ,’ घिमिरेले भने । त्यस्तै, निमगले हल्दिया रिफाइनरीबाट ग्यास आयात बढाउने जनाएको छ । सामान्य अवस्थामा सात हजार टन ग्यास लोड भइरहेको हल्दियाबाट केही दिनमै आठ हजार टनभन्दा बढी ग्यास लोड गरिदिने घिमिरेले बताए । ‘आइओसी अधिकारीले खाली भएका बुलेट सबै पठाउनू, हामी सबै रिफाइनरीबाट ग्यास भरेर पठाइदिन्छौँ भनेका छन्,’ घिमिरेले भने ।
नयाँ पत्रिका दैनिकबाट साभार

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

