Home » » बेइजिङमा आठबुँदे सहमति

बेइजिङमा आठबुँदे सहमति

हङकङ- नेपाल र चीनबीच तेल, ग्यास र ऊर्जा व्यापारलगायत आठबुँदे सहमति भएको छ। बेइजिङमा शुक्रबार भएको विदेशमन्त्रीस्तरीय वार्तामा तत्कालका लागि नेपाललाई विशेष सहयोग गर्न सकिने जनाउँदै मूल्य र ढुवानीको व्यवस्थापनबारे छलफल गरी व्यापारिक आपूर्ति व्यवस्था मिलाउन चीन सहमत भएको हो।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको टोली र चीनका विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको टोलीबीच बेइजिङस्थित विदेश मन्त्रालयमा शुक्रबार दिउँसो डेढ घन्टा वार्ता भएको थियो। नेपालमा संविधान बनेर नयाँ सरकार गठन भएपछि आयोजना गरिएको विदेशमन्त्रीस्तरीय वार्तामा चीन–नेपालबीच इन्धन आपूर्ति, रेलमार्गलगायत यातायात सञ्जाल विस्तार र पारवहन सन्धिका प्रक्रियाबारे बृहत छलफल भएको छ।

वार्तामा सहभागी राजदूत महेश मास्केका अनुसार नेपाली पक्षले राजनीतिक दलहरूको सहमतिमा व्यापारिक रुपमा चीनबाट इन्धन आपूर्तिका लागि सम्झौता गर्न चाहेको बताएको थियो। 'तत्कालको तेल संकट सामना गर्न चीनले नेपाललाई सीमानजिकको तिब्बती क्षेत्रबाट केही मात्रामा विशेष सहयोग गर्न सक्ने जवाफ दिएको छ भने दुई पक्षबीच छलफल गरी दीर्घकालीन रुपमा व्यापारिक आपूर्तिका लागि सम्झौता गर्ने सहमति जनाएको छ,' राजदूत मास्केले भने।

भारतसँगको ४० वर्ष लामो एकाधिकार तोड्दै चीनबाट तेल र ग्यास आपूर्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको अढाई महिनापछि चीनबाट व्यापारिक रुपमा तेल र ग्यास आपूर्ति गर्ने मन्त्रीस्तरीय सहमति भएको हो। नेपाली पक्षले तेल र ग्यासमा लाग्ने कर छुट दिएर ढुवानी व्यवस्था मिलाइदिन वा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार आपूर्ति व्यवस्था मिलाउन चीनसँग आग्रह गरेको छ। चीनले भने तत्कालका लागि सीमा क्षेत्रबाट केही सहयोग गर्ने र सडक पूर्वाधार राम्रो बनाएर वा पाइपलाइन नै बिच्छ्याएर दीर्घकालीन आपूर्ति गर्न सकिने जवाफ दिएको छ।

नेपाल–चीनबीचको जोइन्ट इकोनोमिक एन्ड ट्रेड कमिसनले तेल र ग्यासको मूल्य र ढुवानी व्यवस्थाबारे थप छलफल गरेपछि सम्झौता प्रक्रिया अगाडि बढ्नेछ। चीनले प्रधानमन्त्री केपी ओलीलाई औपचारिक चीन भ्रमणमा आमन्त्रण गरेको र लगत्तै चीनबाट पनि उच्च स्तरको भ्रमण हुने आश्वासन दिएर उच्च भ्रमणको अवसरमा सम्झौता गर्न चाहेको संकेत दिएको छ।

वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री थापाले चीन सरकारले नेपालसँग दीर्घकालीन रुपमा पेट्रोलियम पद्धार्थको व्यापार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकोमा खुसी लागेको बताए। लगत्तै चीनका विदेशमन्त्री वाङले नेपालको इन्धन समस्या समाधानका लागि सहयोग गर्न चीन तयार रहेको जवाफ दिए।

बेइजिङ वार्तामा नेपालले पहिलोपटक पारबहन सुविधा माग गर्दै यससम्बन्धी सन्धिको खाका नै प्रस्तुत गरेको छ। पारवहन सन्धिको प्रस्ताव महŒवपूर्ण एजेन्डाका रुपमा प्रवेश गरेकोमा चीन पनि खुसी देखिएको बताउँदै राजदूत मास्केले भने, 'पारवहन सुविधा नेपालको न्यायोचित अधिकारको कुरा हो, थप छलफलपछि सम्झौता गर्न तयार छौं भनेको छ चिनियाँ पक्षले।'

वार्तामा नोट गरिएको आठबुँदे उपलब्धिमा खुला व्यापार सम्झौता तथा बिप्पा सम्झौता थप अध्ययन गरी अगाडि बढाउने उल्लेख छ। त्यस्तै पुनर्निर्माणका कामलाई तीव्रता दिने नेपालको आवश्यकताअनुसार चीनले थप सहयोग गर्ने बताइएको छ। तातोपानी नाका पूर्ण सञ्चालनमा ल्याउन चुनौतीपूर्ण भए पनि तत्कालका लागि केही व्यवस्था गरेर दीर्घकालीन रुपमा खासा भन्सारको विकल्प खोज्ने संकेत चीनले दिएको छ।

तत्कालीन राष्ट्रपति रामवरण यादव बोआओ एसिया फोरममा सहभागी हुन हाइनान आउँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई दिएको नौ सय मिलियन युयान (करिब साढे चौध अर्ब रुपैयाँ) अनुदान सहयोग अरनिको सडकको पुनरुत्थान गर्न खर्च गर्ने सम्झौता शुक्रबार भएको छ।

भूकम्पपछि नेपाल भ्रमण गर्दा सुरक्षा सतर्कता अपनाउन चीनले जारी गरेको सूचना शुक्रबारदेखि हटाएर नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न चाहेको चिनियाँ पक्षले जानकारी गराएको छ भने परराष्ट्रमन्त्री थापाले नेपालमा चिनियाँ पर्यटकलाई निःशुल्क भिसाको व्यवस्था गर्ने बताएका छन्। चीनको यो निर्णयसँगै नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्नेछ।

द्विपक्षीय वार्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले नेपाल संविधान निर्माण गरी आर्थिक विकासमा केन्द्रित भएको र प्रधानमन्त्रीको विशेष पहलमा आफू चीन भ्रमणमा आएको बताएका थिए। चीनका विदेशमन्त्री वाङ यीले आन्तरिक राजनीतिक संक्रमण सफलता साथ पार गरेर नेपाल ऐतिहासिक रुपमा आर्थिक विकासको युगमा प्रवेश गरेको र त्यसमा सहयोग गर्न चीन निकै उत्सुक रहेको बताए।

नेपाल खेल मैदान होइन

करिब दुई घन्टा लामो भेटवार्तापछि दुवै परराष्ट्रमन्त्री पत्रकारबीच देखिए। पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिँदै चीनका विदेशमन्त्री वाङले भने, 'नेपाल खेलको प्रतिस्पर्धी क्षेत्र होइन, चीन र भारतको पारस्परिक फाइदाको केन्द्र बन्न सक्छ।'

नेपालका राजनीतिक पार्टीहरूले सहमतिमा संविधान निर्माण गरी नयाँ सरकार गठन गरेकोमा असल छिमेकी र मित्रराष्ट्रका रुपमा चीन खुसी रहेको वाङले बताए। चीनले जहिले पनि नेपालसँग समानता र सद्भावसाथ ठूलो र सानो राष्ट्रको समानताको वकालत गरेको खुलाउँदै वाङले भने, 'भारतले पनि यस्तै नीति अपनाउने छ र व्यावहार गर्नेछ भन्ने म विश्वास गर्छु।'

छिमेकी हुन् वा अन्य देश हुन्, सबैले नेपालको स्वतन्त्रता र सम्प्रभुताको सम्मान गर्नुपर्ने तथा विकासको आफ्नै मोडल अपनाउने नेपाली जनताको अधिकार सम्मान गर्नुपर्ने वाङले बताए। नेपालले भौगोलिक रुपमा दुई ठूला छिमेकीबाट फाइदा लिन सक्नुपर्ने बताउँदै वाङले चीनले जहिले पनि नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध तथा नेपालको विकासमा भारतको सहयोग रहेको हेर्न चाहेको बताए।

नेपालको स्थिरता र विकास चीन र भारतको पनि हितमा हुने वाङले उल्लेख गरे। चीन, नेपाल र भारत नजिकका छिमेकी तथा प्राकृतिक समुदाय रहेको बताउँदै वाङले तीन देशबीच सबैले जित्ने सम्बन्धको विकास हुनुपर्ने तर्क गरे। 'त्यसैले समान विकास र समान समृद्धि हासिल गर्न हामीले नेपाल र भारतसँग आर्थिक करिडोर निर्माणको प्रस्ताव राखेका हौं,' उनले भने।

परराष्ट्रमन्त्री थापाले भारतले नेपालमाथि अघोषित रुपमा नाकाबन्दी गरेको र कूटनीतिक प्रयासमा अहिले सहज हुँदै गएको बताए। 'नेपालले एकअर्का देशविरुद्ध खेल्न कुनै आवश्यक छैन, भारतसँग हाम्रो आफ्नै प्रकारको सम्बन्ध छ, त्यस्तै चीनसँग पनि हाम्रो विशेष सम्बन्ध छ,' दुई छिमेकीबारे चर्चा गर्दै थापाले भने, 'हामी भविष्यमा पनि यसलाई निरन्तरता दिएर दुवै देशसँग बलियो सम्बन्ध राख्न चाहन्छौँ।' 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}