
|
|
नेपाली सिने नगरिका बलियो खम्बा बनेर उभिएका महानायक राजेश हमालले विवाह गर्ने औसत उमेर पार गरिसकेपछि विवाह गरे । विवाह अघि उनलाई उनका फ्यान तथा पत्रकारहरुले विवाहकै बारेमा प्रश्न सोध्ने गर्थे । तर, अब उनलाई पिता कहिले बन्ने भनेर प्रश्न सोधिन थालेको छ । मिडिया एनपीले राखेको यहि जिज्ञासामा हमालले आफूले अहिले सन्तानका बारेमा नसोचेका बताए । तर, उनलाई अहिले आएर लाग्न थालेको छ समयमै विवाह गर्न पाएको भए छोराछोरी हुर्किसक्थे ढिलो गरिएछ ।
चलचित्र भाग्यरेखा मार्फत नेपाली सिनेमाको रंगीन दुनियाँमा आएका हमालले लामो समय पर्दामा एकछत्र राज गरे । धेरै नायिकाहरुसँग स्क्रिन शेयर गरे । तर, समकालिन नायिकाहरु उनको जीवनमा आएनन् । समकालिन नायिकाहरुलेले तपाईलाई नपत्याएका हुन त भन्ने मिडिया एनपीको प्रश्नमा हमालले हाँस्दै आफ्नो स्वाभावले गर्दा पनि कुनै समाकालिन नायिकासँग आफू नजोडिएको जवाफ फर्काए । उनी सधैं रहस्यमय रहन चाहन्थे । उनले जति पनि नायिकासँग पर्दामा रोमान्स गरे ति सबैलाई उनले फिल्मभरीका सहकर्मीका रुपमा मात्रै हेरे । त्यसैले पनि हमाल धेरैका आदर्शका नायकका रुपमा स्थापित हुन सफल भए ।
उमेर बढ्दै जाँदा धेरैको झुकाव राजनीति अथवा समाज सेवामा हुन्छ । तर, हमालको आजसम्मको पहिलो झुकाव चलचित्र नै रहेको छ । यसको अर्थ उनलाई राजनीति अथवा समाज सेवामा चासो नै नभएको भने होईन । तर, यतिका समय कलाकारितामा विताए, अब राजनीति गरौं भन्ने हिसावले मात्रै आफू राजनीतिमा नलाग्ने उनको भनाई छ । राजनीतिमा आफू लाग्दा देशले केहि सकारात्मक कुरा पाउँछ भन्ने लागेको दिन आफू राजनीतिमा लाग्ने हमालको सोचाइ छ । हमालले भोलिका दिनमा समाजमा चलचित्र बाहेक अन्य केहि गरे भने पनि त्यो चलचित्रकै कमाइ हुनेछ ।
लामो समय नेपाली कलाकारितामा विताएका महानायक हमाललाई कलाकारका हकमा राज्यले आफ्नो दायित्व पूरा गर्न नसकेकोमा गुनासो छ । नेपाली कला क्षेत्रको सशक्त उपस्थितिको कालखण्ड त्यति लामो नभएकाले पनि राज्यले विशेष ध्यान दिन नसकेको होला भन्ने लाग्छ उनलाई । तर, अब चाहीँ देशका कलाकारप्रति राज्यको स्पष्ट धारणा हुनु पर्ने पनि उनको भनाई छ । कलाकार आफैंले पनि आफ्नो बाटो भुल्नु हुँदैन भन्छन् उनी । कलाकारले हरेक क्षेत्रमा सजग बन्नु पर्ने हमालको बुझाई छ । समाजका हरेक व्यक्ति कलाकार त्यसमा पनि नायक धेरैले उनीहरुको नक्कल गर्न चाहन्छन् । त्यसैले पनि सभ्य समाज निर्माणका लागि कलाकारले हरेक कुरामा ध्यान दिनु पर्ने उनको बुझाइ छ ।
महानायक हमालले जति चलचित्रमा जति नायिकाहरुसँग स्क्रिन शेयर गरे उनलाई ति सबै नायिकाहरु मिलनसार लाग्छन् । जल शाह, निरुता, करिश्मा, गोरी, मौसमीलगायतका धेरै नायिकासँग पर्दामा देखिएका हमालले दर्शकले बढी रुचाइदिएको जोडी चाहीँ करिश्मा नै रहेको बताउँछन् । कुनै समय केवल सामाजिक कथाबस्तु बोकेका चलचित्र निर्माण हुन्थे । त्यो समय हमालले चलचित्र छनौट नै नगरी खेल्थे । त्यो समय पनि त्यस्तै थियो । चलचित्र निर्माण गर्न निक्कै मुस्किल थियो । मुस्किलले बनेका चलचित्र हमालको उपस्थितिले राम्रो व्यापार गर्न सफल हुन्थे त्यसकारण पनि उनी सबै चलचित्रमा अभिनय गर्थे । तर, हिजोआज सामाजिक कथाबस्तु भन्दा पर गएर पनि चलचित्र निर्माण हुन थालेकाले चलचित्र छान्दा ध्यान दिनु पर्ने हमाल बताउँछन् । नेपाली चलचित्र निर्माण गर्दा आफ्ना नेपाली दर्शकलाई ध्यान दिएर बनाउनु पर्ने बताउने हमाललाई चलचित्र देशको बन्न सक्यो र सम्पूर्ण नेपालीको मन जित्न सक्यो भने अन्तर्राष्ट्रिय बजारमा आफैं पोखिने उनको बुझाई छ ।
लामो समय नेपाली रंग दुनियाँमा बिताएका हमाल निर्माता वा निर्देशक बन्ने सोचमा छन् । उनले निर्माता भन्दा पनि निर्देशक बन्ने ठूलो सपना छ । उनले आफ्नो त्यो सपना चाडै पुरा गर्ने संकेत दिएका छन् । आफूले खेलेका भन्दा फरक चलचित्र निर्देशन गर्ने हमालको भनाइ छ । महानायक हमालले आफ्नो राष्ट्र, समाज तथा सञ्चारप्रति रुची भएको एउटा संवेदनशील मान्छे भनेर आफूलाई परिभाषित गरेका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
