
|
|
मुस्ताङ, मंसिर २६
बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिका लागि चिनियाँ पक्षले चासो दिएका छन्।
नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई जिम्मा दिएको ७२ किलोमिटर उक्त सडकखण्डको मर्मतसम्भार र कालोपत्रे गर्न चिनियाँ पक्षले चासो देखाएका हुन्।
तिब्बतसँग सीमा जोडिएको कोरला नाकासम्म कालीगण्डकी करिडोरअन्तर्गत सडक मार्गको पहुँच पुगेपछि चिनियाँ पक्षले नेपाल सरकारसमक्ष यस्तो चासो देखाएको बताइएको छ। सरकारले चिनियाँ पक्षलाई सडकको विस्तृत अध्ययनका लागि अनुमति दिएको सडक विभागले जनाएको छ।
सडक विभागका दुईसहित आठ जना चिनियाँ इञ्जिनियरको टोलीले सडकको विस्तृत अध्ययन गरेको जिल्ला विकास समितिका इञ्जिनियर सकलदेव शर्माले जानकारी दिए।
दुई देशलाई जोड्ने सडक जीर्ण हुँदा कोरला नाका सञ्चालन गरिएपनि तत्काल आयात–निर्यातको काम गर्न सम्भव छैन। व्यवस्थापिका–संसद्को विकास समितिले हालै गरेको कोरला नाकाको स्थलगत भ्रमणपछि सरकारलाई बुझाएको प्रतिवेदनमा पनि सडकको स्तरोन्नतिलाई पहिलो प्राथामिकता दिइएको छ।
बेनी–जोमसोम, जोमसोमदेखि कोरला जोड्ने सडकलाई विशेष तरिकाले मर्मतसम्भार गरिनुपर्ने समितिले निष्कर्ष निकालेको थियो। “चिनियाँ पक्षको सडक चासो धेरै पहिलादेखिको हो, अहिले उनीहरुले विस्तृत अध्ययन थालेका छन्”–इञ्जिनियर शर्माले भने, “सरकारले अनुमति दियो, चीन सरकार तयार देखिएको छ।”
विभिन्न स्थानमा पहिरो जाने र सडक भासिने समस्याले वर्षको दुई महिना बेनी–जोमसोम सडक अवरुद्ध हुँदै आएको छ । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

