
|
|
मंसिर २६, २०७२- आफूसमेत खटेर निर्माण गरेको पुरानो घर एमाओवादी छाड्दैगर्दा त्यसका ‘आर्किटेक्ट’ बाबुराम भट्टराईको अनुहारमा जुन बेचैनी देखिन्थ्यो, हिजोआज देखिन्न । मंगलबार दिउसो सानेपा निवास पुग्दा उनी प्रफुल्ल मुद्रामा भेटिन्थे । उनलाई भेट्न आउने र भेटेर फर्कनेको लर्को लामै थियो । त्यसै लर्कोमा देखिए, मनोक्रान्ति साधक योगी विकासानन्द ।
आध्यात्मिकदेखि भौतिकवादी, साम्यवादीदेखि उदार लोकतन्त्रवादी, आर्यखसदेखि जनजाति–मधेसवादी, धनी उद्योगपतिदेखि गरिब सीमान्तकृत : भट्टराई सबैसँग एकनास सम्पर्कमा छन् । उनले घोषणा गर्ने ‘नयाँ शक्ति’ कस्तो हुनेछ, यसै भन्न सकिन्न, तर उनलाई भेट्न आउनेहरूको सूची हेर्दा भोलिको पूर्वाभास मिल्छ ।
‘म अझै पनि छलफलकै चरणमा छु, सबैसँग सल्लाह, परामर्श अघि बढाइरहेको छु,’ सानेपा निवासको माथिल्लो तलास्थित पुस्तकालय कोठामा कान्तिपुरसँग कुरा गर्दै भट्टराईले भने, ‘साँच्चिकै नयाँ शक्ति बनाएर देशलाई समृद्धिको बाटोमा कसरी लैजाने भन्नेमा पढेलेखेका युवाहरूको विशेष चाख देखिन्छ । म उनीहरूलाई ध्यानले सुनिरहेको छु ।’
निकटस्थ भन्छन्, ‘भट्टराई यति साह्रो कहिल्यै व्यस्त हुँदैनथे । बिहानदेखि राति अबेरसम्म उनको बाक्लो भेटघाट र सम्पर्क अटुट छ ।’ ‘र्याडिकल कम्युनिस्ट’ भट्टराईको वैचारिक कायाकल्प रोचक छ । तल्लो तलास्थित भेटघाट कक्षको भित्तामा ‘जनयुद्धका नायक प्रचण्ड’ हाँसिरहेका हुन्थे, अब छैनन् । युद्धकालीन सम्झना दिलाउने तस्वीरहरूलाई भट्टराई प्रधानमन्त्री हुँदाका उच्च राजनीतिक–कूटनीतिक भेटका तस्वीरहरूले विस्थापित गरिसकेका छन् । पुस्तकालय कोठाको टेबुलमा श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादले लेखेको धर्मग्रन्थ ‘श्रीमद्भगवद्गीता यथारूप’ र ‘नयाँ शक्ति किन ?’ नामक पुस्तिका छ । दराजमा दर्शन, राजनीति, साहित्य, विज्ञानसम्बन्धी पुस्तक छन् । तीमध्ये ‘पुनर्निर्माण/नवनिर्माण’ भन्ने छुट्टै खण्ड छ ।
‘माओवादी फुटाएर अर्को दल बनाउने मेरो कुनै अभिप्राय: होइन, यो पुरानो प्रवृत्ति अब तोडिनुपर्छ,’ भट्टराई भन्छन्, ‘हाम्रो देशको मौलिकता र विविधतालाई आत्मसात् गर्नेगरी नयाँ स्वरूपको संगठन शैली, नयाँ सोच्ने तरिका भएको, अरू देशको विकास प्रगतिको फड्को अध्ययन गरेर हाम्रो मौलिकतामा विकास गर्ने खालको चिन्तनलाई संस्थागत ढंगले अगाडि बढाउने शक्ति निर्माण गर्ने हो । पुराना दलहरूलाई जोडजाड गरेर नयाँ शक्ति बन्दैन भन्ने मेरो कुरा हो ।’
उसो त असोज ९ गते एमाओवादी परित्याग गरेको घोषणा गर्दैगर्दा भट्टराईले आफ्ना अति निकटस्थलाई पनि जानकारी नदिएको सुनाएका थिए । उनका प्रियपात्र मानिने उपप्रधानमन्त्री तथा एमाओवादी सचिव टोपबहादुर रायमाझीले भोलिपल्ट एक पत्रकार सम्मेलनमा उक्त कुरा खुलाए पनि । तर केही दिनभित्रैमा भट्टराईलाई नयाँ शक्तिको बहसमा सघाउने भन्दै एमाओवादीका २१ केन्द्रीय सदस्यसहित ४५ नेताहरूले अध्यक्ष पुष्पकमल दाहालको नाममा सामूहिक पत्र नै बुझाएपछि अघोषित पार्टी विभाजनकै रूपमा उक्त परिघटनालाई एमाओवादीले बुझ्यो ।
जारी केन्द्रीय समिति बैठकमा उनीहरूलाई एसएमएस मार्फत निम्ता गरिए पनि फर्केनन् । बरु मंसिर ६ गते राजधानीमा राष्ट्रव्यापी अगुवा भेला गरेर जिम्मेवारी विभाजन गरे । अहिले उनीहरू डेढ महिने अभियान घोषणा गरेर जिल्ला–जिल्लामा क्रियाशील छन् । भट्टराई निकट स्रोतका अनुसार फागुन महिनामा नयाँ शक्तिको औपचारिक घोषणा हुनेछ, जसमा केही दल, संगठन र स्वतन्त्र व्यक्तिहरूसमेत समेटिनेछन् ।
मंसिर पहिलो साता यो संवाददाता धनुषा पुग्दा एमाओवादी परित्याग गरी भट्टराईसँग हिँडेका पोलिट्ब्युरो सदस्य रामचन्द्र झा र केन्द्रीय सदस्य रामकुमार शर्मा नयाँ शक्ति अभियानमा जोडतोडले खटिरहेका थिए । संविधानप्रति मधेस असन्तुष्ट हुँदैगर्दा भट्टराई जनकपुर पुगेका थिए ।
यो बेग्लै सन्दर्भ हो, संविधान जारी गर्ने हातलाई मधेसमा प्रवेश निषेध भन्ने मधेसी मोर्चाको अवरोध छल्दै भए पनि उनी अरू दलका नेताहरूभन्दा पहिले जनकपुर पुगे । उनी फर्केपछि सभा सञ्चालन भएको मञ्च जलाइयो । पछि फेरि जनकपुर पुगेर उनले नयाँ शक्तिको भेला आयोजना गर्न सफल भए । मधेसमा आफ्नो पक्षमा समर्थन बढेको बुझाइमा रहेका नेताहरू नयाँ शक्तिको औपचारिक घोषणा जनकपुरकै बाह्रबिघा मैदानमा गर्ने योजनामा छन् ।
अरू पनि नयाँ शक्ति
दोस्रो संविधानसभा चुनावमा एमाओवादी तेस्रो शक्तिमा खुम्चने बित्तिकै भट्टराईले नयाँ शक्तिको खाँचो औंंल्याउँदै बहस थालेका थिए । हाल उनी त्यसको सांगठनिक अभ्यास गर्न खोज्दैछन् । यसरी बहस छेड्नेमा भट्टराई एक्लो होइनन् । सञ्चारकर्मी रवीन्द्र मिश्र, पूर्व मूख्यसचिव लीलामणि पौडेल, भट्टराईकै सहपाठी उपेन्द्र देवकोटा लगायत छन् ।
उज्ज्वल थापाले नेतृत्व गर्दै आएको विवेकशील नेपालीले पनि आफूलाई चल्तीका धारको पार्टी नभई नयाँ शक्तिकै रूपमा अघि सार्दै आएको छ । देवकोटाले ‘राष्ट्रवादी धार’को अगुवाइ गर्ने घोषणा गरेका छन् । भट्टराईले मिश्र लगायतसँग सहकार्य हुने बताउँदै आएकामा भट्टराईको नयाँ शक्तिसँग आफूहरू एकीकृत हुने कुनै सम्भावना नरहेको बरु विवेकशील नेपालीसँग एकता हुने मिश्र निकटस्थ एक अभियन्ताले खुलाए ।
‘बाबुरामजीले हामीसँग एकता हुने भनी अगुवा कार्यकर्ता भेलामा भन्दिनुभएछ,’ ती अभियन्ताले भने, ‘उहाँसँग एकता हुने कुनै सम्भावना छैन । बरु विवेकशीलसँग एकता गर्ने समझदारी भएको छ ।’ मिश्रसँग यसबारे जिज्ञासा राख्दा उनले औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरे ।
विवेकशीलका अध्यक्ष थापाले भट्टराईसँग जोडिनेबारे कुपन्डोलको होटल समिटमा चरण–चरणका छलफल गरेका थिए । यद्यपि वैचारिक र सांगठनिक संरचनामा मतभेद भएको र भट्टराईको माओवादी वैचारिक पृष्ठभूमिका कारण सहकार्य कठिन रहेको विवेकशील स्रोतले कान्तिपुरलाई बतायो ।
उता भट्टराई पक्षले भने अझै पनि समझदारी र सहकार्यको सम्भावना रहेको दाबी गर्दै आएको छ । ‘उहाँहरूसँग कुराकानी भइरहेको छ,’ भट्टराईको नयाँ शक्ति अभियान संगठन विभाग प्रमुख देवेन्द्र पोडेलले भने, ‘वैचारिक सोचहरू अलग—अलग हुनु स्वाभाविक हो, त्यसको प्रभाव छलफलमा पनि परेको छ । तर बृहत् स्तरमा सहकार्य गर्दै जान्छौं ।’
भट्टराईले नयाँ शक्तिको बहस दुई वर्षयता चलाइरहे पनि एमाओवादी परित्यागसँगै तीव्रता दिएका हुन् । कुनै बेला एमाओवादीप्रति आलोचनात्मक दृष्टि राख्ने काठमाडौंको पढालेखा जमात् र मध्यमवर्ग भट्टराईप्रति भने सहानुभूति राख्थ्यो । कतिसम्म भने प्रधानमन्त्री छँदा ‘बाबुरामलाई काम गर्न देऊ’ अभियान नै चल्यो । भट्टराईको प्रधानमन्त्रीत्व कालमै संविधानसभाको विघटन, त्यस यताका कतिपय विवादास्पद निर्णयहरूमा उनी जोडिएसँगै लोकप्रियताको ग्राफ ओरालो झर्यो ।
‘भट्टराईलाई त्यसबेलै नयाँ शक्तिको नेता बन्ने अवसर थियो, तर उनले सदुपयोग गर्न सकेनन् । अहिले बेला बितेपछि उनको कोसिसलाई जनताले पत्याउन गाह्रो छ,’ उनलाई नजिकैबाट चिन्ने एमाओवादीका एक पोलिटब्युरो सदस्यले टिप्पणी गरे । भट्टराई त्यस्तो अवस्थामा बहिर्गमित भएका छन्, जुन बेला उनीप्रति आम सहानुभूतिसमेत कमजोर भएको छ । यस्तोमा नयाँ शक्तिको अभियान अघि बढाउन बढ्तै चुनौती रहेको उनी स्वयं स्वीकार्छन् । तर कार्यशैलीमा नवीनता दिँदै अघि बढेमा गुमेको बर्चस्व फर्काउन सकिने उनको विश्वास छ ।
उता रवीन्द्र मिश्रले आफू निकटस्थहरूसँग अनौपचारिक गफगाफका क्रममा एक नम्बरको पार्टी बनाउने घोषणासहित नयाँ शक्ति अभियान थाल्नुपर्ने बताउने गरेका छन् । पछिल्ला दिनमा भट्टराईले ‘नयाँ शक्ति’ शब्दलाई ‘क्लिशे’ बनाइसकेको भन्दै मिश्र पार्टीको नयाँ नाम जुराउनुपर्ने पक्षमा छन् । तर भट्टराईले संगठन निर्माणकै तहमा अघि बढिसक्दा पनि मिश्र समूह भने सामाजिक सञ्जालमा मात्रै सीमित रहेको भन्दै उनी निकटस्थहरू अभियानलाई घोषित रूपमै तीव्रता दिनुपर्ने पक्षमा छन् । ‘रवीन्द्रजीले हतारमा काम नगर्न, पर्याप्त तयारी गर्न भन्दै आउनुभएको छ,’ मिश्रका निकटस्थ बताउँछन्, ‘सुरुमै केही न केही ‘बिग ब्याङ’ सिर्जना गर्न सक्नुपर्छ । नत्र पुरानै पार्टीहरूजस्तो अर्को पार्टी बन्छ भन्नेमा उहाँ बढी सचेत हुनुहुन्छ ।’
मिश्रले गत मंगलबार पौड्याल र योजना आयोग पूर्वसदस्य स्वर्णिम वाग्लेसँग मिलेर यसै दैनिकमा ‘नयाँ अर्थ—राजनीतिको खोजी’ शीर्षक लेख छपाउँदै भने, ‘पुरानो चामल नयाँ बोरामा हालेर ‘नयाँ शक्ति’को लेबल लगाउँदैमा नयाँ शक्ति बन्ने होइन, त्यसका लागि कहिल्यै अभ्यास नगरिएको सुसंस्कृत राजनीति आवश्यक हुन्छ ।’ लेखकत्रयले सिधा नभने पनि प्रहार भट्टराईको अभियानप्रति लक्षित थियो ।
आ–आफ्नै नारा
मिश्र समूहले नयाँ शक्तिका चार खम्बाका रूपमा ‘पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता’लाई नाराका रूपमा प्रचार थालेका छन् । यता भट्टराईले भने ‘पाँच स’ अर्थात् ‘स्वाधीनता, समावेशी–समानुपातिक लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र शान्तिका लागि समाजवाद तथा सदाचार’को प्रतिबद्धता अघि सारेका छन् । ‘अब यिनै पाँचवटा ‘स’का लागि प्रतिबद्ध भएर आगामी राजनीतिमा म लागिरहनेछु,’ भट्टराईले पार्टी परित्याग गरेको दिन पत्रकार सम्मेलनमा भनेका थिए, ‘देशले संविधान पायो, अब सदाचार र सहभागितामूलक लोकतन्त्रमा विश्वास गर्दै हामी समृद्धिको बाटोमा ढिलो नगरी अघि बढ्नुपर्छ ।’
यस बीचमा भट्टराईले स्वयं मिश्र, पौड्याल लगायतसँग सहकार्यका लागि छलफलसमेत गरे । तर भट्टराईको सशस्त्र राजनीतिक पृष्ठभूमि तथा मिश्र, पौड्याल लगायतको आफैं नेतृत्वमा छाउने मनसुवाका कारण सहकार्यको सम्भावना नरहेको जानकारहरू बताउँछन् । ‘तदर्थवादी शैलीमा चलिरहेको राजनीतिमा नयाँपन दिने बाबुरामजीको प्रयास राम्रो हो,’ रवीन्द्र मिश्रको अभियानसँग निकट रहेका अर्का एक प्रभावशाली नेताले भने, ‘तर जनयुद्धको इतिहासबाट बाहिर आएर उहाँले नयाँ शक्तिको पहिचान बनाउन गाह्रै छ । किनकि त्यो परिघटना भर्खरैमात्र हाम्रो समयबाट गुज्रिएको छ । समाजमा अझै हजारौं दिवंगतका परिवार, घाइते, अंगभंग, बेपत्ता छँदैछन् ।’
यति हँुदाहुँदै पनि नयाँ शक्तिका अभियन्तालाई सहज परिस्थिति भने देखिन्न । नयाँ शक्तिको नाममा भट्टराईले संगठन निर्माण अभियानको पहिलो चरण फटाफट अघि बढाइरहेका छन् । जबकि अरू नेताहरूले ‘मासबेस्ड’ राजनीतिलाई आफ्नो आधार बनाउन खोजिरहेको देखिन्छ । कांग्रेस, एमाले, एमाओवादी लगायत पुराना भनिएका पार्टीहरूसँग पहिल्यै संगठित नेता/कार्यकर्ता छन् । जनमतको ठूलो हिस्सालाई उनीहरूले संगठनकै बलमा नियन्त्रण गरिसकेको अवस्थामा विना संगठन फेसबुक, ट्विटरमार्फत प्रभाव जमाउन कठिन हुने स्वयं नयाँ शक्तिकै अभियन्ताबीच पनि चर्चा चल्ने गर्छ ।
प्रकाशित: मंसिर २६, २०७२

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

