Home » » संकटमा बौरिने फिल्म : चार महिना शुन्य, तीन महिनामा ६ हिट

संकटमा बौरिने फिल्म : चार महिना शुन्य, तीन महिनामा ६ हिट

मंसिर २६, २०७२- महाभूकम्प र नाकाबन्दीका दुई ठूला प्रहार देशले खेपेका बेला यो वर्ष फिल्म क्षेत्रमा भने फलिफाप भएको छ । वर्ष २०७२ सातौं महिनामा चल्दै गर्दा यो वर्ष नेपाली बक्स अफिस मंसिरको चिसोमा पनि तातिरहेको छ ।

सुरुमै झट्का
वैशाख ११ मा रिलिज भएको ‘रेशम फिलिली’ ले पहिलो दिन नै ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, भोलिपल्ट शनिबार नै महाभूकम्प आएपछि चार महिना स्वदेशी फिल्म उद्योग मृतप्राय: देखियो । छायांकन, वितरण र प्रदर्शनका तीनै काम ठप्प रहे । तर, जब भदौ ११ मा ‘रेशम फिलिली’ को पुन: र ‘भैरव’ को पहिलो रिजिल भयो, बक्स अफिसको तीव्र ‘पुनर्निर्माण’ भयो । देश नै शोकबाट तंग्रिन लागेका बेला आएको कमेडी ‘रेशम फिलिली’ र निखिल उप्रेतीको एक्सन ‘भैरव’ ले गजबको व्यापार गरे ।
‘रेशम फिलिली’ मुख्यत: ‘जालमा...’ बोलको गीतका कारण पनि चल्यो । उक्त गीत युट्युबमा भाइरल नै बन्यो भने संसारभर कभर भर्सन र भिडियो डान्स अपलोड गर्नेको ताँती लाग्यो । ‘भैरव’ लाई भने निखिलकै एक्सनले चलायो । लामो समयपछि आफ्नै निर्देशनमा फिल्म बनाएर दर्शकसमक्ष आएका निखिललाई हलमा समेत फ्यानहरूले घेर्ने, उचाल्ने र फोटो खिचाउने गरे । स्टारडमले हावा खाइरहेका बेला निखिलले त्यसलाई नियमित दर्शकमाझ पुनर्जीवित गरिदिए । लगत्तै निखिलकै अर्को फिल्म ‘लुटेरा’ ले पनि त्यसमा भरथेग गर्‍यो ।

चार महिना शून्य, तीन महिनामा ६ हिट
वर्षका सात महिना कट्न लागे । तर स्वदेशी फिल्म क्षेत्रमा चार महिना त्यसै गयो । बाँकी तीन महिनामा कम्तीमा छ फिल्म हिट बने । यसअघि यति छोटो समयमा लगातारजसो फिल्म हिट भएका थिएनन् । भदौ ११ यता ‘रेशम फिलिली’, ‘भैरव’, ‘होस्टेल रिटन्र्स’, ‘परदेशी’, ‘वडा नम्बर छ’ र ‘कबड्डी कबड्डी’ बक्स अफिसमा सफल भइसकेका छन् । अहिले हलमा लागिरहेको ‘कबड्डी कबड्डी’ १२ दिनमा चार करोड रुपैयाँको ग्रस कलेक्सन गरेर वर्षका अहिलेसम्म रिलिज फिल्ममा सर्वाधिक व्यापार गर्ने फिल्म बनिसकेको छ । फिल्मको स्वदेश व्यापार अझै चलिरहेको छ भने उक्त फिल्मले विदेशबाट समेत ६० लाख रुपैयाँ नेट कलेक्सन गरिसकेको छ ।

सिंगल स्क्रिन थिएटरमा दर्शक चाप थेग्न नसकेको ‘परदेशी’ ले पनि साढे तीन करोड रुपैयाँको व्यापार गर्‍यो । ‘परदेशी’ चल्नुमा पनि मुख्य यसको गीत/संगीतलाई नै कारक मानिएको थियो । प्रशान्त तामाङले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्ममा गाउँदेखि दर्शक उर्लिएर कतिपय हलले बिहानी शो नै थपेर पनि चलाए । एकाध वर्षयता फिल्म क्षेत्रमा विभिन्न ‘धार’ को खिचातानी चल्ने गरेको छ । नयाँ धार र पुरानो धारको प्रतिस्पर्धा चर्को छ ।

मल्टिप्लेक्समा हिन्दी पाखा लागे फिल्मलाई नयाँ र अलग धारको ट्याग लगाइन्छ भने यतिबेला तीनका फिल्म चल्ने हलसमेत छुट्टिन थालेका छन् । खासगरी युवा फिल्मकर्मीका फिल्मले बिस्तारै मल्टिप्लेक्स हलमा आफ्नो पहुँच बढाइरहेका छन् । ‘होस्टेल रिटन्र्स’, ‘रेशम फिलिली’, ‘कबड्डी कबड्डी’ मल्टिप्लेक्समा बलिउड/हलिउड फिल्मसँगै भिडे र खरो उत्रिए पनि । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी’ ले इम्तियाज अली निर्देशित ‘तमासा’ लाई नै पाखा लगाइदियो ।

मल्टिप्लेक्समा मात्रै नभई सिंगल स्क्रिन थिएटरमा पनि धेरै दर्शक रहेको ‘परदेशी’ र ‘भैरव’ ले देखाइदिए । उज्ज्वल घिमिरे निर्देशित ‘वडा नम्बर छ’ भने दुवै ‘धार’ र थिएटरमा चल्ने भाग्यमानी बन्यो । ‘रेशम फिलिली’ चलेलगत्तै कमेडी जानराकै ‘वडा नम्बर छ’ नचल्न सक्ने आशंकालाई उक्त फिल्मले खण्डित गरिदियो । फिल्म मल्टिप्लेक्सदेखि सिंगल थिएटर दुवैका दर्शक बटुल्न सफल रह्यो । नयाँ वर्ष लाग्दै गर्दा ‘नाइँ नभन्नु ल ३’ ले बजार पिटिरहेको थियो । कुनै पनि अभिनेताको दममा फिल्म चल्न कम भइरहेका बेला स्वदेशी फिल्म चलाउने बलियो हतियार संगीत बनेको छ । ‘परदेशी’, ‘रेशम फिलिली’ र ‘वडा नम्बर छ’ लाई दर्शक तान्न गीतको भूमिका महत्त्वपूर्ण रह्यो । एक्सन फिल्ममा रुचि राख्ने दर्शकका लागि निखिलले दक्षिण भारतीय फाइट शैलीमा ‘भैरव’ ल्याएका थिए ।

‘होस्टेल’ अनमोल केसीकै कारण चलेको ठान्नेका लागि सुरज भुसालले नयाँ कलाकार लिएरै सिक्वेल ‘होस्टेल रिटन्र्स’ चलाइदिए । फिल्म चल्नुमा हिट फिल्मको सिक्वेल र युवा पुस्ताकेन्द्रित कथावस्तु र पात्रलाई कारण मानिएको छ । सिक्वेलकै फाइदा ‘कबड्डी कबड्डी’ लाई पनि थियो । तर यसमा ब्यानर, कलाकार र टिमले बटुलेको गुडविल दर्शक बटुल्ने अन्य तत्त्व थिए ।फिल्मका लागि २०७२ अझै सफल हुने अनुमान लगाउन सकिन्छ । बाँकी चार महिनामा थप आशालाग्दा फिल्म आउनेछन् । जसमा भुवन केसी निर्देशित र अनमोल केसी अभिनीत ‘ड्रिम्स’ देखि आर्यन सिग्देल–नम्रता श्रेष्ठको जोडी रहेको ‘क्लासिक’, सुवर्ण थापाको ‘फन्को’, दीपेन्द्र के खनालको ‘पशुपति प्रसाद’, राजेश हमालको कमब्याक भनिएको फिल्म ‘बागमती’, विकास आचार्यको सफल सिरिज ‘नाइँ नभन्नु ल ४’, रेखा थापाको ‘रामप्यारी’ लगायत छन् ।

संकटमा बौरिने क्षेत्र जब–जब संकट आउँछ तब फिल्म क्षेत्र बौरिने गरेको छ । चलचित्र विकास बोर्डले फिल्म नचलेको भन्दै संकटकाल घोषणा गर्नैलाग्दा चार वर्षअघि ‘लुट’ ले उद्योगलाई नै ब्युँत्याउने काम गर्‍यो । तर त्यसपछि पनि अवस्था भने सुध्रिएन । वर्षमा एक सयभन्दा फिल्म रिलिज हुँदा पनि मुस्किलले तीन वा चार फिल्मले लगानी सुरक्षित गरेको नियति पछिल्ला वर्षमा दोहोरिंदै आए । यस वर्ष पनि भूकम्प र नाकाबन्दीको संकटका बीच फिल्मले सफलता पाएका छन् । फिल्मले यसैगरी सफलता चाख्दै जाने हो भने यस वर्ष सफल फिल्मको संख्या दर्जन पुग्ने देखिन्छ ।

दया, निखिल र प्रियंका
मोटो ज्यान, ठूलो भुँडी, चिम्सा आँखा र थेप्चो नाकमा पनि कोही ‘हिरो’ हुन सक्छ भने त्यो दयाहाङ राई नै हुन् । उनी ‘हिरो’ का एन्टिथेसिस भएरै पनि अहिलेका उम्दा र चल्तीका अभिनेता हुन् । वैशाखयता सफल छ फिल्ममध्ये दुई ‘वडा नम्बर छ’ र ‘कबड्डी कबड्डी’ मा दयाहाङ मुख्य भूमिकामा छन् । ‘वडा नम्बर छ’ मा हास्यकलाकारहरूको भीडमा दयाहाङले फरक देखिएरै सफल भए । रंगमञ्चको गोरेटो हुँदै फिल्मको राजमार्गमा कुदिरहेका दयाहाङको डेब्यु फिल्म ‘अनागरिक’ भए पनि आमदर्शकमा चिनिने मौका भने उनले ‘लुट’ बाट पाए । ‘दासढुंगा’ मा अमर लामाको चरित्र निर्वाह गरेका दयाहाङ ‘लुट’ बाट गोफ्लेको कमेडी शैलीमा छाए ।

नाच्न लजाउँछन्, हिरोले जस्तो किक हान्दैनन् तर पनि अभिनयमा जबरजस्त छन् । दयाहाङले ‘हिरो’ को भीडमा अभिनेताको इन्ट्री मारेर आफ्नो स्पेस बनाए । उनलाई फिल्ममा ब्रेक दिने रामबाबुले नै दयालाई पुन: ‘कबड्डी’ मा खेलाए, काजी बनाएर । त्यसको सिलसिला सिक्वेलसम्म आइपुग्दा दयाहाङले मनग्गे फ्यान बटुलिसकेका छन् । यस्तै, नेपाली फिल्ममा एक्सन स्टारका रूपमा ठूलो सफलता पाइरहेका मुम्बई भासिएका निखिल उप्रेती यो वर्ष फर्किए । आफ्नै निर्माण निर्देशनमा जब उनी भैरव बनेर आए, दर्शकले उनका स्टन्टमा फेरि ताली बजाए । वर्षको बीचतिर उनी ‘लुटेरा’ बनेर आउँदा पनि दर्शकले मन पराए । यो आधा वर्षमा नेपाली फिल्ममा निखिलले आफूलाई फेरि स्थापित गरे । लामो समयदेखि असफलता भोगिरहेका सौगात मल्लले यस वर्ष ‘कबड्डी कबड्डी’ बाट सफलता पाए ।

अभिनेत्रीहरूमा यस वर्ष अहिलेसम्म ‘कबड्डी–कबड्डी’ बाट रिस्मा गुरुङ र ‘रेसम फिलिली’ बाट मेनुका प्रधानले सफलता पाए । वर्षभरिको चर्चा, अवार्ड र आउँदै गरेका फिल्मका कारण प्रियंका कार्की सबैमाथि हावी रहेकी छन् । पाँचजना हिरोका साथ एक्ली हिरोइनका रूपमा ‘वडा नम्बर ६’ मा प्रियंकाले सफलता पनि पाइन् । माघ १ मा रिलिज हुने सुवर्ण थापाको फिल्म ‘फन्को’ मा यो वर्षका केही सफल स्टारहरू एकैसाथ देखिनेछन् । यसमा दयाहाङ, सौगात र प्रियंकाका साथ अनुप बराल र केकी अधिकारीको अभिनय रहेको छ ।
प्रकाशित: मंसिर २६, २०७२

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}