Home » » जनकपुर निवासी (हाल काठमाण्डौ) सुलोचना खतिवडाले फोरम अध्यक्ष उपेन्द्र यादवलाई लेखेको खुल्ला पत्र

जनकपुर निवासी (हाल काठमाण्डौ) सुलोचना खतिवडाले फोरम अध्यक्ष उपेन्द्र यादवलाई लेखेको खुल्ला पत्र

श्री उपेन्द्र यादव ज्यु,
अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल ।

यतिवेला तपाईं भारतको राजधानी नयाँ दिल्ली जानु भएको थाहा भएपछि केही नलेखि चित्त नबुझेर यो पत्र लेख्दै छु । म जनकपुर पढेर हुर्किने अवसर पाएकिले पनि केही हदसम्म मधेसी समाजलाई पढ्ने र बुझ्ने मौका पाएको यहाँलाई जानकारी गराउँछु । मधेसी जनताको पीडा, उनीहरुको भावना र राष्ट्रवादलाई मैले धेर–थोर छामेकी पनि छु । जनतालाई दोष दिन ठाऊँ कहिं पनि देखेकी छैन ।

केही दिन अघिको एउटा टेलिभिजन कार्यक्रममा तपाईंले मधेसीहरु सर्वोच्च स्थानमा पुग्ने ढोका राज्यसत्ता कब्जा गरेर बस्ने खसहरुले बन्द गरेको अभिब्यक्ति दिंदा म छक्क परें । संझें पहिलो राष्ट्रपति डा. रामबरण यादवलाई । पहिलो उपराष्ट्रपति परमानन्द झा पनि संझनामा आइपुगे । तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङ, तत्कालीन उपसभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीस रामकुमार साह आदि–आदि नाम र अनुहार झल्झली ताजा भएर आए । यी मध्ये कुन चाहिं खस जातीका थिए ? मैले भेउ पाईंन । तपाईं उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री हुनु भएकै हो । धेरै मधेसी नेताहरु उपप्रधानमन्त्री भइसकेका छन् । गृहमन्त्रालय पनि मधेसी नेताले चलाईसकेका छन् । राजेन्द्र महतो, शरतसिंह भण्डारी, विजयकुमार गच्छदार लगायतका नेता कतिपटक मन्त्री भए भन्ने गणना त सायद हुनेहरुलाई पनि गाहे होला । सत्तामा छँदा तपाईंहरुले मधेसी जनताको पक्षमा के काम गर्नु भयो ? यो मेरो प्रश्न होइन । संसद र क्याविनेटमा के–कस्ता मुद्धा दर्ता गर्नु भयो ? सायद मलाई मात्र होइन, कसैलाई पनि थाहा छैन । सुनेको छु, सम्माननीय प्रथम राष्ट्रपति डा. रामबरण यादवलाई तपाईंहरुले कहिल्यै मधेसी मान्नु भएन रे ! मेरो प्रश्न छ, तपाईंको नजरमा मधेसी हुन के हुनुपर्छ ? कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतलाई भोट दिने ७० प्रतिसत मधेसी जनतालाई तपाईं मधेसी मान्नु हुन्छ कि हुन्न ? राष्ट्रिय पार्टीमा रहेर मधेसका मुद्धामा सक्रिय नेताहरुलाई तपाईंको भन्नु के छ ? तपाईंहरुको यस्तो मानसिकताकावीच पहाडी मुलका मधेसीहरुको विषय झिक्ने मैले औचित्य ठानिनँ ।

तपाईले समेत नेतृत्वगर्नुभएको मधेसी मोर्चाले मधेस आन्दोलनमा सहिदहुनेलाई ५० लाख दिने निर्णय गरेको संझिदा म अवाक हुन्छु । आतंककारी संस्थाले मात्र गर्ने यस्तो निर्णय कुन न्यायको सिद्धान्तमा पर्छ ? ४८ जना सहिद भइसकेका छन् आन्दोलनमा । प्रश्न छ, त्यो ५० लाख रुपैयाँ उनीहरुको परिवारलाई कहिले दिने होला ? कहाँवाट दिने होला ? आम मधेसी जनता अत्यन्तै शोषित छन् र पीडित छन् ।

तपाईं कम्युनिष्ट पार्टीवाट राजनीति सुरु गर्नु भएको भनेपछि माक्सवाद पढेकै हुनुपर्छ । माक्र्सवाद पढेपछि तपाईंले जातीय र क्षेत्रीय नारा कति घातक हुन्छ भन्ने पनि बुझेको हुनुपर्छ । के मधेसी जनता भित्र सामान्ती छैनन् ? स्मरण गराउन चाहान्छु, ४८ जना सहिद हुँदा नाम चलेका ब्यक्ति एकजना पनि परेका छैनन् । अगुवा कार्यकर्ता समेत छैनन् । यसको अर्थ के हो ? तपाईंले कैलाली पुगेर त्यहाँका जनतालाई भन्नुभएको थियो, खुकुरी, खुँडा, भाला लिएर जनता सडकमा निस्कनुस् । त्यसको केही दिन पछि तपाईंले भनेझै हतियार बोकेर सडकमा मान्छेको हुल देखियो । त्यसहुलले पासविक ढंगले सुरक्षाकर्मीको ज्यान लियो । आफूले गरेको अनुरोध मानेर हुल निस्कियो । र, तपाईंको इसारा बुझे जस्तो गरेर दानवी शैलीमा प्रहरी मारिए । अहिले मधेसका हरेक आन्दोलनमा लठ्ठी र घरेलु हतियार प्रयोग भएको देखिन्छ । के शान्तिपूर्ण आन्दोलन यही हो ? कार्यकर्तालाई हतियार बोकाएर आन्दोलन गराएपछि राज्यले गोली ठोक्छ भन्ने सामान्य ज्ञान पनि तपाईंमा देखिएन । भारतका गृहमन्त्री राजनाथ सिंहले १ करोड भारतीय नेपालमा छन् भनेर घोषणा गरे । अर्का एकजना सांसदले मधेसका १६ जिल्ला खोसर पनि भारतले लिनु पर्छ भने । भारतीय सुरक्षाकर्मी नेपाल पसेर ४ जनालाई गोली ठोके । भारतीय राजदुतले अर्नगल विज्ञप्ती निकालेर ढाँट–छल गरिरहेका छन् । तर, यी सव दृश्यमा तपाईंहरुको समर्थन र मौन समर्थन देख्दा भक्कानो फुटेर आउँछ । किन तपाईंहरु यसरी लम्पसार पर्दै हुनुहुन्छ ?

उपेन्द्र जी, सोच्नु भएको छ – तपाईंको पार्टीलाई जनताले चुनावमा किन मरिच झैं चाहुरिपारिदिएका होलान् । किनभने मधेसका आम जनता राष्ट्रवादी छन् । भारतले सीमानामा ज्याजती मच्चाउँदा आँसु झारेर पहिला रुने मधेसी नै हुन्छन् । देश र जनताले आफूलाई यस्तै ठाऊँमा तौलिने हो भन्ने पनि तपाईंले बुझ्न सक्नु भएन ? तर, आन्दोलनले पार्टीको हैसियत बढाउँछ भन्ने ज्ञान र हेक्का चाहिं तपाईंमा बढी नै देखिन्छ ! एजेन्डा विहीन आन्दोलन हुँदैन । पहिला तपाईंको माग एक मधेस एक प्रदेश थियो । अहिले आएर थारुहरुको भिन्न राज्यको माग पनि थप्नु भएको छ । प्रदेश नं २ जनकपुरको भेटीले चल्दैन भनेर तपाईंले मधेसमा आम्दामीको स्रोत पनि खोज्दै हुनुहुन्छ । अशोक राईको पार्टीसँग मिसिनु भएको छ, राष्ट्रिय पार्टी हुन् । तर राष्ट्रिय पार्टीको अध्यक्ष जसरी प्रस्तुत हुन सक्नु भएको छैन । मधेसको कुरागर्दा आदिवासी, जनजातीको सवालमा चुप हुनुहुन्छ । राष्ट्रिय नेता हुन सवैका माग बोक्न सक्नुपर्छ कि पर्दैन ? र, मागमा एकरुपता हुनुपर्छ कि पर्दैन ?

संविधानसभा र संसद वहिष्कारको निर्णय गर्नु भयो । तर, प्रधानमन्त्रीको चुनावमा भाग लिनु भयो र कांग्रेसका सुशील कोइरालाई भोट हाल्नुभयो । यसको अर्थ के हो ? कोइरालाले चुनाव जितेको भए तपाईंहरु मन्त्रीमण्डलमा भाग लिनुहुन्थ्यो ? अर्को कुरा, तपाईंहरुले भनेको संविधान संसोधन गर्न कांग्रेस–एमालेको एकता भत्काएर संभव छ ? यो आन्दोलनलाई मधेसी जनताको अधिकारकोलागी भन्दा सत्तारोहणकोलागी हो भनेर लाजलाग्नेगरी नदेखाएको भएनै बेश हुने थियो । नेता ‘गोटी’ होइन, ‘स्ट्राइकर’ हुनसक्नु पर्छ । तपाईंलाई लागेको होला, दिल्लीले मधेसी जनताको भाग्य र भविश्य वनाइदिन्छ । यो भ्रमवाट तपाईंहरु ब्यूँझिदासम्म दिल्लीले कोशी र कर्णालीमा एकाधिकार जमाइसक्ने छ । नेता ‘गोटी’ हुँदाको परिणाम सम्पूर्ण जनता र देशले भोग्नु परोभने त्यो भन्दा दुखद अर्को हुँदैन । के यो यथार्थप्रति तपाईं जानकार हुनुहुन्छ ?

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले मधेसका मुद्धा नसुल्झिएसम्म सीमा अवरोध सहज नहुने कुरा तपाईंहरुलाई पनि भनेर आस्वस्थ पारिदिएकी छन् । तर तपाईं भन्नु हुन्छ, ‘आन्दोलन हामीले गरेको हो । नाकाबन्दी हामीले गरेको हो ।’ शीर्ष नेताहरुवीचको वार्ता छोडेर भारतीय दुताबास र दिल्ली गुहार्न जाँदा भने बिडम्बना नै लाग्छ । ठिकै छ, नाकाबन्दी तपाईंहरुले नै गरेको हो । तर, पैसावाला र भिआईपीलाई नाकाबन्दीले छुन सकेको छैन र छुने पनि छैन । दु:ख त विचरा जनताले पाएका छौं । ‘के नाकाबन्दीको अर्थ यही हो’ ?
मैले बुझ्न नसकेको प्रश्न के हो भने ‘यो नाकाबन्दी कस्कोलागी हो’ ? बिन्ती छ, हरेक राजनीतिक कदम चाल्दा वा भाषणगर्दा नेपाल र नेपाली जनतालाई संझेर छातीमा हात राखेर गर्नुहोला । इतिहासले धिक्कार्ने पात्र नबन्नु होला । किनभने तपाईं मधेसले आश गरेको नेतामा पर्नु हुन्छ ।

सुलोचना खतिवडा
काठमाण्डौ

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}