
|
|
७ पुस, काठमाडौं ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनको भ्रमणले नेपालको आर्थिक विकासको लागि चीन र नेपाल दुबै मुलुकलाई फाईदा हुने गरी आर्थिक खाकाको विषयमा सैद्धान्तिक आधार बनाउने बताएका छन् । उनले चीन भ्रमणले दुई देशबीचको आर्थिक साझेदारीको दिर्घकालिन फ्रेमबर्क बनाउने बताएका हुन् ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,’संविधान निर्माणपछि अब नेपालको प्राथमिक कार्यभार आर्थिक समृद्धि भएकोले संसारकै दोस्रो आर्थिक शक्ति चीनसँगको सम्बन्धलाई आर्थिक विकास र समृद्धिमा केन्द्रीत गर्ने गरी कुराकानी हुन्छ ।’ चीनसँग आर्थिक, ब्यापारिक सम्बन्ध सुदृढीकरण, लगानी र पर्यटन अभिबृद्धि गर्ने, चीनीया सहयोगमा सञ्चालित आयोजनाको निरन्तरता, थप पूर्वाधार विकासको विषयमा छलफल हुने उपप्रधानमन्त्री थापाले जानकारी दिए ।
नेपालले अहिले मुलुकको हितको लागि ब्यापार विविधीकरणको सिद्धान्त लिएकाले सोही अनुसार चीनबाट ईन्धन आपूर्ति ब्यापारिक ढंगले अघि बढाउनमा रहेका कठिनाईहरुलाई भ्रमणको क्रममा हटाउने बताउंदै उनले भने, भने,‘अहिले नै सबै कुरा भन्नु उपयुक्त हुँदैन तर मेरो भ्रमणले चीनसँगको भावी सम्बन्धको आधार तय गर्ने आशा र विश्वास छ ।’ यो नियमित भ्रमण हो । भ्रमण अघि सबै कुरा मलाई भन्न नलगाउनुस । कुटनीतिक एजेण्डा मिडियाबाट भन्दा उपयूक्त हुँदैन । तर सबै विषय बस्तुमा कुरा हुन्छ । संविधान जारी भएपछि म चीन भ्रमणमा जाँदैछु । त्यसैले पनि यो फलदायी हुन्छ, उनले भने ।
संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धको यूगमा प्रवेश गरेकोले आफूले दुई पटकको भारत र बेलायत भ्रमणबाट सद्भाव जुटाएको र चीन भ्रमणबाट समेत यो अघि बढ्ने भन्दै भ्रमणको क्रममा नयाँ सरकार, नयाँ परिस्थिति सरकारको प्राथमिकता बताउने नियमित भ्रमण भएको बताए ।
नेपाल भारत सम्बन्धको बहुआयामिक पक्ष भएकोले यसलाई सुमधुर बनाएर लिएर जानु पर्छ भन्ने पक्षमा आफूले पहल गरिरहेको बताउँदै आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण सहयोग रहेको स्मरण गरे ।
उनले मित्र राष्ट्र भारतसँगको असमझदारीहरु पछिल्लो प्रयासमा हटेको दावी गर्दै भारतीय विदेश मन्त्री शुष्मा स्वराजको विज्ञप्तिले सकारात्मक रुपमा संकट समाधानमा उत्साह थपेको बताए । थापाले भने,‘ सरकारको निर्णयलाई भारतले समर्थन गरेको छ । यसलाई म स्वागत गर्छु । यसले दुई देशवीचको सम्बन्धमा नयाँ आयाम थपेको छ ।’
उनले आफूले पहिलादेखि नै नाका सहज हुन्छ भन्दै आएको दोहोर्याउँदै नाका सहज भए नभएको विषय पत्रकारहरुले अनुगमन गर्नु पर्ने बताए । उपप्रधानमन्त्री थापाले मधेसी मोर्चाको अधिकांश माग पुरा गर्ने प्रतिबद्धता सरकारले ब्यक्त गरिसकेको र बाँकी पनि बार्ताबाटै गर्न सकिने स्पष्ट पारिसकेकोले यसलाई सकारात्मक रुपमा लिएर मोर्चाले आन्दोलन फिर्ता लिएर बार्तामा आउनु पर्ने धारणा राखे । उनले भने,‘अब आन्दोलनको औचित्य छैन । बार्ताबाटै समस्या समाधान गरेर जानु पर्छ ।’

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

