Home » » ‘युवा वैज्ञानिक’ ले निकाले प्लास्टिकबाट डिजेल र खोटोबाट पेट्रोल

‘युवा वैज्ञानिक’ ले निकाले प्लास्टिकबाट डिजेल र खोटोबाट पेट्रोल

पुस १६, २०७२- घोराही ११ का २४ वर्षीय मार्सल रोकाले खेर गएको प्लास्टिकबाट डिजेल उत्पादन गरेका छन् । यसअघि सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेर नियमित मोटरसाइकलमा परीक्षण गरिरहेका रोकाले मंगलबार प्लास्टिकबाट डिजेल निकाली ट्याक्टर चलाएका हुन् ।

यसअघि विभिन्न ३७ उपकरण आविष्कार गरेर ‘युवा वैज्ञानिक’ का रूपमा परिचित रोकाले ३८ औं आविष्कारका रूपमा प्लास्टिकबाट डिजेल उत्पादन गरेका हुन् । देशमा इन्धन संकट भइरहेको बेला स्थानीय स्रोत साधनबाट इन्धन उत्पादन गर्ने अभियानमा लागेको उनले बताए ।

प्रयोग गरेर फालेको प्लास्टिकलाई सफा गरेर मसिनो गरी काट्ने र त्यसलाई पकाएर निस्केको बाफमा दुई प्रकारका रसायन मिलाएर डिजेल उत्पादन हुने उनले बताए ।

१० प्रकारका प्लास्टिकबाट डिजेल उत्पादन गर्न सकिने उनले बताए । ‘१२ किलो प्लास्टिकबाट १२ लिटर डिजेल उत्पादन हुन्छ,’ उनले भने, ‘एक लिटरलाई ६० रुपैयाँमा बिक्री गर्न सकिन्छ ।’

विद्युतीय भट्टीमा पकाउने भएकाले प्लास्टिकबाट प्रदूषण नहुने रोकाले बताए । एक लिटर डिजेल उत्पादन गर्न एक युनिट विद्युत् खपत हुने उनले जानकारी दिए ।

नगरभित्र फोहोर गरिरहेको प्लास्टिकलाई ऊर्जामा परिणत गर्न लामो समयदेखि परीक्षणमा लागेको उनले बताए । खेर गएको नसड्ने फोहोरबाट डिजेल उत्पादन गर्ने ‘युवा वैज्ञानिक’ को काममा उत्साह थप्न सरकारी तहबाट भरपूर सहयोग गरिने प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले बताए । ‘यस्ता प्रतिभालाई हौसला र अवसर दिनुपर्छ,’ उनले भने, ‘यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’

दुई महिनाअघि खोटोबाट पेट्रोल बनाएका रोकाले आफ्नो मोटरसाइकलमा नियमित प्रयोग गरिरहेका छन् । उनले आफ्नो मोटरसाइकलमा नियमित लामो समय प्रयोग गरेपछि अन्तमा २५ वटा मोटरसाकलमा पेट्रोल राखेर घोराही बजार परिक्रमा गराई सार्वजनिक रूपमा परीक्षण गरेका थिए ।

सल्लाको खोटोलाई तताएर बाफबाट तरल पदार्थ निकाली त्यसमा केही रसायन मिसाएर पेट्रोल बनाएको रोकाले बताए ।

वाष्पीकरणबाट आएको तरल पदार्थमा १२ प्रकारका रसायन मिसाएको उनले बताए । वाष्पीकरणका क्रममा विभिन्न तहमा फरक फरक रंगको तरल पदार्थ आउँछ । सुरुमा गाढा रातो र पछि पानीजस्तै आउने उनले बताए ।

‘८० प्रतिशत खोटो र २० प्रतिशत रसायनको मिश्रणबाट पेट्रोल तयार हुन्छ,’ उनले भने, ‘यसले अहिले प्रयोग भइरहेको पेट्रोलभन्दा १५ प्रतिशत बढी माइलेज दिन्छ ।’

खोटो प्रज्ज्वलनशील पदार्थ भएकाले नेपालमा इन्धन अभाव हुन थालेपछि यसको परीक्षणमा लागेको रोकाले बताए । दुई लिटर खोटोबाट एक लिटर पेट्रोल निस्कने गरेको रोकाले बताए । ‘४८ रुपैयाँमा एक लिटर पेट्रोल तयार हुन्छ ।

यसलाई बजारमा ७० रुपैयाँसम्ममा बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘व्यावसायिक रूपमा ठूलो मात्रामा उत्पादन गर्ने हो भने योभन्दा सस्तो हुन्छ ।’

खोटो जलाउँदा बचेको सामान पनि आगो बाल्न र साबुन, पेन्ट बनाउन उपयोग हुने भएकाले खोटो खेर नजाने रोकाले बताए ।

उनले आफ्नो विवेक प्रयोग गरेर पेट्रोल उत्पादन गरे पनि सरकारले यसको थप परीक्षण गरेर यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । परीक्षणको अनुरोध गर्दै उनले दुई लिटर तेल प्रधानमन्त्री कार्यालयमा समेत बुझाएका थिए ।
    
उनले प्राकृतिक ग्यास उत्पादनका लागि सहयोग गर्न अनुरोध गर्दै उद्योग मन्त्रालयमा निवेदन दिएका थिए जसअनुसार मन्त्रालयले मंसिर २४ गते चलानी नं. ८७ को पत्रमार्फत खानी तथा भूगर्भ विभागलाई प्राकृतिक ग्यासको अनुसन्धान परीक्षणमा रोकालाई सहयोग गर्न अनुरोध गरेको छ ।

उनले यसअघि मोबाइल अपरेटिङ सिस्टम, क्ल्याप अपरेटिङ सिस्टम, ओकीटोकी सञ्चार सेट, एफएम रेडियो, ट्रान्समिटर, जासुसी उपकरण, आगो लागेको जानकारी दिने उपकरण, बाढी आएको जानकारी दिने उपकरण र घरको सुरक्षामा प्रयोग हुने सतर्कता मेसिन बनएका छन् ।

यसैगरी न्यु कन्सेप्ट भेहिकल, दृष्टिविहीनलाई बाटो देखाउने यन्त्र, हात थाप्दा पानी आउने धारा, जंगलमा आगो लागेमा निभाउन सकिने यन्त्र, जहाँबाट पनि बत्ती अन अफ गर्न सकिने यन्त्र, खेतीमा कति पानी चाहिने भन्ने जानकारी दिने यन्त्र, बिउ बिजनको सुरक्षा गर्ने मेसिनलगायतका उपकरण पनि बनाएका छन् ।

पाँच कक्षा पढ्दादेखि नै वैज्ञानिक उपकरण बनाउन थालेका रोका निरन्तर यही काममा क्रियाशील छन् । अहिले उनी बीबीएस प्रथम वर्षमा अध्ययनरत छन् । अवसर पाएमा अझै धेरै प्रविधि निर्माण गर्न सकिने रोकाले बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}